प्रकाशमान सिंहको सम्बोधन :

‘जनताको मल्हमपट्टीकै लागि पनि सभापति बन्छु’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् । शनिबार (आज) काठमाडौंको चन्द्रागिरी नगर समितिले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् । ‘आमजनताको दुःखमा मल्हमपट्टी लगाउनको लागि भएपनि म सभापति बन्नुपर्छ,’ नेता सिंहले भने, ‘जसरी भएपनि बन्नैपर्छ ।’

नेता सिंहले आफूसँग पार्टीमा सबैलाई मिलाएर राख्न सक्ने क्षमता भएको दाबीसमेत गरेका छन् । ‘सबैलाई मिलाउन सक्ने क्षमता छ,’ नेता सिंहले भने, ‘पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ । म किन पार्टी सभापति नबन्ने ? त्यसैले सभापतिको उम्मेदवारीबाट पछि हट्दिनँ ।’

यस्तै नेता सिंहले १३औं महाधिवेशनपछि अहिले नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थाम पुगेको पनि बताएका छन् । नेतृत्व गलत भएपछि इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै नेता सिंहले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार गरेसरह हुने टिप्पणी गरे ।

साउनमै हुने भनिएको महाधिवेशन पुनः स्थगित भएको छ । यसपछि कांग्रेसले आउँदो मंसिर ९ गतेबाट महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । यसअघि पनि पटक–पटक स्थगित हुँदै आएको १४औं महाधिवेशन पुनः स्थगित भएको हो ।

१४औं महाधिवेशनमा बहालवाला सभापति शेरबहादुर देउवासहित उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, कांग्रेसकाका तेश्रो धार कृष्णप्रसाद सिटौलालगायतका नेताहरुले आफूलाई सभापतिको उम्मेदवार भनेर चिनाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *