यस्तो थियो जयपृथ्वीले रवीन्द्रनाथ टेगोरलाई लेखेको पत्र
काठमाडौ । आज अर्थात भदौ ७ गते नेपालका मानवताबादी नेता, दार्शनिक, समाज सुधारक तथा बझाङी राजा जयपृथ्वीबहादुर सिंहको १४४ औँ जन्मजयन्ती । वि.सं १९३४ भदौ ७ मा बझाङमा जन्मिएका राजा जयपृथ्वीले ४७ वर्षको उमेरमा राजपाट त्यागेका थिए ।
उनी विसं १९८० मा भारतको बैंगलोर पुगे । त्यहिँबाट उनले मानवतावादको अभियान चलाए । अभियान विश्वभर चल्यो । उनको धेरै ठूलो व्यक्तित्व थियो । कतिसम्म भने सन् १९३१ मा सार्वजनिक गरिएको रवीन्द्रनाथ टेगोरको पुस्तकमा उनलाई समेत केही लेखिदिन आग्रह गरिएको थियो । कलकत्ताको गोल्डेन बुक कमिटिले ग्रन्थ तयार गरेको थियो । यो भारत बेलायतकै अधिनमा हुँदाको कुरा हो ।
सन १९१३ मा नोबेल (साहित्यतर्फ) पुरस्कार पाएका टेगोरको ७० बर्षको जन्मोत्सवको अवसरमा एउटा ग्रन्थ सार्वजनिक भयो । ‘दि गोल्डेन बुक अफ दि टेगोर’ नाममा पुस्तक प्रकाशन भयो । पुस्तकमा सन्देश विश्वभरका ख्यातिप्राप्त मान्छेहरुलाई लेख्न भनियो । यसरी लेख्न भनिएका नेपाली जयपृथ्वी मात्रै थिए ।
ग्रन्थको पृष्ठ १२१ मा जयपृथ्वीले लेखेको सन्देश छ । रामाचन्द चटर्जी सम्पादक भएर प्रकाशन भएको ग्रन्थमा जयपृथ्वीले लेखेका छन, ‘कृपया मानवतावादी क्लब तथा मेरो तर्फबाट दिइएको सत्तरी औँ जन्मोत्सवको बधाइ स्विकार गर्नुहोला । तपाँइ दीर्घजिवी बन्दै विश्वलाई एक सुखी परिवारको रुपमा मानवतावादले स्विकार तथा अभ्यास गरेको देख्न चाहने तपाँइको पवित्र इच्छा पुरा होस ।’
दुःखको कुरा चाहि नोबेल पुरस्कार बिजेता टेगोरदेखी विश्वले पत्याएका जयपृथ्वीको बारेमा नेपालमै कम मात्रै चर्चा छ । जयपृथ्वीका बारेमा थप खोज, अध्ययन, अनुसन्धान गरेर आम नागरिकहरुमाझ उनको व्याक्तित्व र कृतित्व अनि दर्शन फैलाउन ढिलो भइसकेको छ ।
जयपृथ्वीको मृत्यु वि.सं १९९७ को असोज १ गते बैंगलोरमै भएको थियो । मृत्यु हुँदा उनी ६३ वर्षका मात्रै थिए ।