मास्क बेचेर दशैँमा खर्च लिएर घर जानेछन् कृष्णप्रसाद
काठमाडौं । जीवन सधैँ एउटै लिकमा दौडिरहने रेलजस्तो हुँदैन । र पुग्नुपर्ने गन्तव्य पनि निश्चित हुँदैनन् । त्यसैले त जीवनको दौडमा घरिघरि लिक बदल्नुपर्छ । गन्तव्य भेट्नका लागि अनेकौँ विकल्प खोज्नुपर्छ ।
जीवनको रेल कुदाउन र गन्तव्य भेट्टाउनका लागि कृष्णप्रसाद भट्टराईले आफ्नो बाटो बदलेका छन् । विश्वभर फैलिएको कोरोनाको त्रासबाट नेपाल पनि अछुतो रहेन । लाखौँ संक्रमित भए । ज्यान गुमाउनेको संख्या १० हजार नाघिसकेको छ । यसको चपेटाबाट अँचेटिनुपर्नेहरुको त के गन्ती होला र ?
कोरोना फैलिएसँगै संक्रमणको डर त रह्यो नै‚ त्यससँगै आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक असर पनि उत्तिकै पर्यो । कतिले जागिर गुमाए भने कतिले आफन्त । व्यापार, व्यवसाय र रोजगारीमा व्यहोर्नुपरेको उच्च घाटा र मनोवैज्ञानिक असरले गर्दा यो अवधीमा आत्महत्याको दर पनि ह्वात्तै बढ्यो । मानिसहरू मानसिक रुपमा विक्षिप्त भए । दैनिक भिडभाडमा हराएर दिनभरि काम गरी साँझको छाक टार्ने वर्ग नराम्रोसँग प्रभावित बन्न पुग्यो । रोगको जोखिम त रह्यो नै‚ त्योभन्दा ठूलो चुनौती खाली पेट भर्नुपर्ने अवस्थाको सामना गर्नुमा भयो ।
यही चुनौतीलाई सामना गर्दै बर्दियाका कृष्णप्रसाद भट्टराईले मास्क बेच्न सुरु गरे । उनी २०६८ सालदेखि काठमाडौँमा गलैँचा बेच्थे । त्यही कामबाट उनले आफ्नो दैनिकी र ६ जनाको परिवार चलाइरहेका थिए ।
जताततै मास्क पाइन थालेपछि कृष्णप्रसादको मास्क व्यापार दिन प्रतिदिन सुक्दै गयो । तैपनि महाबौद्धको होलसेलबाट मास्क ल्याएर बेच्दा दैनिक हजार रुपैयाँसम्म कमाइ भइरहेकै थियो ।
कृष्णप्रसाद काँधमा गलैँचाको भारी बोकेर गल्लीगल्ली चहार्थे । दैनिक व्यापार र आम्दानी नहुने काम भएपनि कहिलेकाही एक दिनमै ३, ४ ओटा गलैँचा बिक्थ्यो । त्यसैबाट भएको आम्दानीबाट उनी सन्तुष्ट थिए । बर्दियामा कृष्णको घर, खेतबारी सबै छ । त्यहाँबाट भएको कमाइको ठूलो भरथेग छ । श्रीमती गाउँमै खेती किसानी गर्छिन् । खेती लगाउने बेला सघाउन कृष्ण पनि बर्दिया पुग्छन् । त्यो उब्जनीबाट बाह्रै महिना खान नपुग्ने भएपछि आफू काठमाडौँ छिरेको कृष्ण बताउँछन् ।
तर‚ कोरोनाको लहरसँगै उनले ८ वर्ष गरेको गलैँचा बेच्ने काम ठप्प भयो । पहिलो चरणको निषेधाज्ञामा उनी बर्दिया गएर बसे । निषेधाज्ञा अलि खुकुलो भएपछि काठमाडौँ फर्किए । कृष्णप्रसाद गुनासो सुनाउँछन्, ‘काठमाडौँ त फर्किएँ तर‚ स्थिति पहिलेको जस्तो थिएन । कोरोनाको डर थियो । शहर सुनसान थियो । अब जीविकोपार्जनका लागि अर्कै काम समात्नुपर्छ भन्ने लाग्यो । अनि मास्क बेच्न थालेँ ।’
उनले मास्क बेच्न थालेको एक वर्षभन्दा बढी भइसकेको छ । कृष्णले मास्क बेच्न सुरु गर्दा उनको व्यापार खुब चम्केको थियो । झन् बेलाबेलामा हुने मास्क अभावले उनको व्यापारलाई चम्काउन झन् मद्दत गर्थ्यो । कृष्ण भन्छन्, ‘सुरुमा त मास्क लिएर निस्केको १ घण्टा बित्न नपाउँदै सबै सकिन्थ्यो । अनि डेरा फर्किएर एकछिन आराम गरेर फेरि मास्क लिएर निस्किन्थेँ । राम्रो कमाइ भएको थियो ।’
तर समय सधैँ उस्तै कहाँ रहन्छ र ? दीर्घकालीन समाधान नभेटिएको कोरोना फैलिने दर बढ्दै गर्दा मास्क सेनिटाइजरलगायत स्वास्थ्य सामग्री उत्पादन बिक्रिमात्र बढेन‚ उत्पादन र वितरक पनि बढे । स्वास्थ्य सामग्रीको ‘अभाव’ पनि बिस्तारै हट्दै गयो । जताततै मास्क पाइन थालेपछि कृष्णप्रसादको मास्क व्यापार दिन प्रतिदिन सुक्दै गयो । तैपनि महाबौद्धको होलसेलबाट मास्क ल्याएर बेच्दा दैनिक हजार रुपैयाँसम्म कमाइ भइरहेकै थियो ।
त्यसैबेला सरकारले दोस्रो पटक निषेधाज्ञा लगायो । वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भयो । त्यो समयमा कृष्ण बर्दिया फर्किए । गाउँमा पुग्ने बित्तिकै उनलाई कोरोना पोजेटिभ देखियो । कृष्णप्रसाद भन्छन्, ‘धेरै ठाउँमा मास्क बेच्दै हिँडिन्थ्यो । काठमाडौँमा सरिसकेको रहेछ क्यारे घर पुगेपछि त थला पारिहाल्यो नि !’
हामी लेखपढ नगरेकाले बाचुन्जेल शारीरिक श्रम गर्नुको अर्को विकल्प नै छैन । मेहनतले कमाएर खान केही लाज हुँदैन । काम गर्न सक्ने हुँदा हुँदै हात फैलाएर खानु हुँदैन । म आफ्नो कामबाट सन्तुष्ट छु ।
घरमा उनले खेतीपातीको काममा श्रीमतीलाई सहयोग गरे । तर बर्खाको सबै काम सकिसकेपछि घर खर्च धान्न धौ धौ शुरु भइहाल्यो । उनी फेरि काठमाडौँ फर्किए र मास्क बेच्न थाले । अचेल उनी दैनिक मास्कले भरिएको एउटा झोला र त्यसमा नअटेका केही मास्क हातमा च्यापेर बिहान सबेरै निस्किछन् । अहिले उनको व्यापारमा चर्को प्रतिस्पर्धा छ । उनीजस्तै मास्क बेच्नेहरू धेरै छन् । यस्तो कठिन परिस्थितिमा पनि कृष्णले औसतमा दैनिक ५ सय रुपैयाँजति कमाइरहेका छन् ।
शनिबार उनी भिडभाड हुने ठाउँमा जान्छन्‚ धेरै मास्क बोकेर । काठमाडौँको सडक छेउछाउ भने अरु दिनजस्तो शनिबार व्यापार हुँदैन । त्यसैले उनी बिदाको दिन मान्छे घुम्न मन पराउने ठाउँमा जान्छन् । धुलिखेल, साँगा पुग्दा बिदाको दिन धेरै व्यापार हुने उनी बताउँछन् ।
महिला, पुरुष, बच्चाहरूले मन पराउने रङ छनोटलाई मध्यनजर गरेर उनले सबैथरि मास्क होलसेलबाट ल्याउँछन् । कोरियन, चाइनिज, सर्जिकल, नेपाली सबैथरि मास्क उनको साथैमा हुन्छ । त्यस्तै बच्चाका लागि र महिलाका लागि माग हुने भएर विभिन्न चित्र प्रिन्ट गरेका मास्क पनि उनले बेच्ने गरेका छन् । तीमध्ये धेरै फाइदा हुने मास्कबाट कृष्णलाई एउटाबाट १० रुपैयाँसम्म नाफा हुन्छ ।
उनले यो बाहेक आफूले गलैँचा बेच्दा बनाएका ग्राहकलाई आवश्यक परेमा गलैँचा मिलाइदिने र थोरै रकम नाफा खाने काम पनि गरिरहेका छन् । कृष्ण भन्छन्, ‘हामी लेखपढ नगरेकाले बाचुन्जेल शारीरिक श्रम गर्नुको अर्को विकल्प नै छैन । मेहनतले कमाएर खान केही लाज हुँदैन । काम गर्न सक्ने हुँदा हुँदै हात फैलाएर खानु हुँदैन । म आफ्नो कामबाट सन्तुष्ट छु । यही काम गरेर केही रकम जम्मा पारेर दशैँमा घर फर्किने विचार गरेको छु । केही रकम त जोहो गर्नैपर्यो । घरमा साना बच्चा छन् । उनीहरूको इच्छालाई मार्नु हुँदैन । त्यसैले रोगसँग नडराई मास्क लगाएर मास्क बेच्न हिँडेको छु ।’