सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिनु खेदजनक : सत्तारुढ गठबन्धन

काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिनु खेदजनक भएको बताएका छन् । गठबन्धनमा आवद्ध दलहरुले सोमबार विज्ञप्ति निकालेर प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र एमालेका सांसद तथा नेताहरुले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।

नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र ‘नेकपा एकीकृत समाजवादी’का जीवनराम श्रेष्ठले सोमबार संयुक्त वक्तव्य निकालेर सभामुख व्यवस्थापिकाको प्रमुखका साथै संघीय संसदको संरक्षक भएको स्मरण गराएका छन् ।

‘सभामुखका विरुद्ध धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध हुन्‚’ संयुक्त वक्तव्यमा उल्लेख छ । उनीहरुले संवैधानिक मर्यादा अवलम्बन गर्नसमेत विपक्षी दल एमालेका नेता ओलीलाई आग्रह गरेका छन् ।

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त नगरेकोमा आक्रोशित ओलीले सभामुखलाई संसद चलाउन मन छ कि छैन ? भनेर प्रश्न गरेका थिए ।

यस्तै, एमालेका नेताहरुले सभामुखको कार्यकक्षमै गएर १४ जनाको कारबाहीलाई मान्यता दिन दबाब दिँदै आएका छन् । यसअघि सभामुखको सचिवालयले पनि एमाले अध्यक्ष ओली र एमालेका सांसदहरुकोअभिव्यक्ति र व्यवहारप्रति आपत्ति जनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *