खप्तड क्षेत्रभित्र सडक बनाइनु हुँदैन
बिहानै एउटा खबरमाथि आँखा पर्यो, ‘खप्तड निकुञ्जभित्र सडक बनाइँदै’ । सो खबरमा, ‘डीपीआर र ईआईए गर्न संघीय सरकारले दियो सहमति, जैविक विविधता मासिने स्थानीयवासी र संरक्षणकर्मीको चिन्ता, भन्छन्- डोजर चलाएर खप्तडजस्तो स्वर्गलाई नर्क नबनाइदिनुस्’ पनि लेखिएको थियो ।
खबर पढेपछि सोच्न पुगेँ, यो निर्णय गर्नेहरू पक्कै त्यहाँ पुगेका छैनन् । यदि गएका छन् भने पनि पुगेका ठाउँको नाम थप्नका लागि मात्र पुगेका छन् । नत्र खप्तड निकुञ्ज क्षेत्रभित्र सडक बनाउने कुरा नउठ्नुपर्ने हो ।
आउनुस् पहिले खप्तडबारे छोटकरीमा जानकारी लिऊँ :-
‘खप्तड’ सुदूरपश्चिमको पहाडी जिल्लामा पर्ने धार्मिक र प्राकृतिक रुपमा संरक्षित क्षेत्र हो । यो समुद्री सतहबाट २,७०० मिटरदेखि ३,२३० मिटरसम्मको उचाईमा रहेको छ । यो क्षेत्र बझाङ, बाजुरा, अछाम र डोटी जिल्लामा फैलिएको छ । हरिया हल्का भिराला चौरहरू, खोलानाला र घाँसे मैदान गरेर २२५ वर्ग किलोमिटर क्षेत्र ओगटेको तथा नेपाली सेनाद्वारा संरक्षित यो खप्तड राष्ट्रिय निकुञ्ज वि.सं. २०४३ मा स्थापना भएको हो ।
अरुबेला हरियाली, वा घाँस वा लेकाली बुकीका फूलले ढपक्क ढाकिने खप्तड पुस महिनापछि भने बाक्लो सेताम्य हिउँले ढाकिन्छ । वैशाखदेखि असारसम्म रंगीचंगी फूलहरूले मनै लोभ्याउने गरी फाँटहरू ढाकिएका हुन्छन् । खप्तड क्षेत्रको प्रमुख विशेषता भनेको विशाल फाँटहरूमा फुल्ने रंगीचगी फूलहरू नै हुन् । यहाँ फूल फुलेका फाँटको किनारमा रुखहरूसहितको सुन्दर बगैँचाको अनुभव गर्न पाइन्छ । प्रकृतिको यो अनौठो संग्रहालयमा ४ रैथानेसहित १३५ किसिमका फूल, २२४ प्रजातिका जडिबुटी, ५६७ प्रजातिका वनस्पति र विभिन्न २७० जातका चराचुरुंगी पाइन्छन् । एकछिनमै घाम लाग्ने, एकछिनमै सिमसिम पानी पर्ने खप्तडमा वर्षामा बादलले रुखहरुलाई ढाक्दा बिछट्टै राम्रो देखिन्छ । त्यसकारण पनि यो क्षेत्र प्रकृतिको खुला संग्रहालय र जीवित बगैंचा हो ।
एकछिनमै घाम लाग्ने, एकछिनमै सिमसिम पानी पर्ने खप्तडमा वर्षामा बादलले रुखहरुलाई ढाक्दा बिछट्टै राम्रो देखिन्छ । त्यसकारण पनि यो क्षेत्र प्रकृतिको खुला संग्रहालय र जीवित बगैंचा हो ।
रमणीय विशाल पाटन, थुम्का, खप्तड दहबाहेक यस निकुञ्जमा रहेका खप्तड बाबाको कुटी (जहाँ खप्तड बाबाले ५० वर्ष बिताएका थिए), त्रिवेणीघाट (दुई नदी गंगा र जमुनाको संगम देखिन्छ भने सरस्वती नदी गुप्त बगेको विश्वास गरिन्छ । गंगादशहरामा त्रिवेणीघाटमा नुहाएर पूजा गरे पाप पखालिन्छ भन्ने जनविश्वास छ ।), सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् । प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधताले भरिपूर्ण खप्तडमा २२ वटा ठूला पाटन र ५३ वटा झोता अर्थात् रूखका थुम्काहरू छन् । निकुञ्जमा खासगरी वैशाखदेखि मंसिरसम्म मानिस भ्रमणका लागि जाने भए पनि गंगा दशहरा मेलामा यहाँ विशेष भीड हुनेगर्छ ।
बाजुरा, बझाङ, डोटी र अछाम जिल्लाको सङ्गममा रहेको खप्तड जानका लागि बाजुराको काँडा, बझाङको तमेल, डोटीको सिलगढी र अछामको चौखट्टे, साँफेतर्फबाट विभिन्न बाटा रहेका छन् । तर सबैभन्दा सजिलो बाटो डोटीको सिलगढी, बग्लेक, झिग्राना र बझाङको तमेल बजार, छान्ना, लामातोला भएर जाने रहेका छन् ।
काठमाडौँबाट खप्तड जान डोटी, सिलगढीको बाटो बढी प्रयोग गरिन्छ । सिलगढी पुग्न पूर्वपश्चिम राजमार्गको अत्तरिया, कैलालीबाट ९ घन्टाको बसयात्रा गर्नुपर्छ । सिलगढीबाट बग्लेक हुँदै झिग्राना चेकपोस्टबाट बीचपानीको ३ घन्टे सिधा ठाडो उकालो बाटो पार गरेपछि खप्तडका लागि गन्तव्य भेटिन्छ । पछिल्ला वर्षहरूमा पदयात्रीले सुदूरपश्चिमको खप्तडबाट कर्णालीको रारा तालसम्म पनि पदयात्रा गर्ने गरेका छन् ।
अब कुरा गरौँ खप्तडका लागि चाहिने आधारभूत पूर्वाधारबारे :-
प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भएपनि भौतिक पूर्वाधार र प्रचारप्रसारको कमीले खप्तडले यथेष्ट महत्व पाएको देखिँदैन । वास्तवमा खप्तड यात्रामा जाँदा सबैभन्दा बढी खड्किने कुरा पर्यटकलाई चाहिने आधारभूत आवश्यकताहरूको कमी नै हो । यहाँ अझै धेरै पूर्वाधारहरूको विकास गर्न जरुरी देखिन्छ । ती पूर्वाधार विकास भन्नाले त्यहाँको प्राकृतिक र प्राचीन मौलिकतालाई ठेस नपुग्ने किसिमका आधारभूत संरचनाहरू भनेर बुझ्नुपर्दछ‚ जस्तै कि खप्तडका चारवटै प्रवेश बिन्दूहरूसम्म राम्रो सडकको पहुँच ।
प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भएपनि भौतिक पूर्वाधार र प्रचारप्रसारको कमीले खप्तडले यथेष्ट महत्व पाएको देखिँदैन । वास्तवमा खप्तड यात्रामा जाँदा सबैभन्दा बढी खड्किने कुरा पर्यटकलाई चाहिने आधारभूत आवश्यकताहरूको कमी नै हो ।
मुख्यालय र अन्य स्थानका लागि सुरक्षित पैदल वा घोडेटो बाटाहरू, बाटामा मार्गदर्शनका लागि चाहिने चिह्नहरू, पैदल हिँड्दा पानीको व्यवस्थापन, बिचपानीलगायतका बाटामा भेटिने महत्वपूर्ण स्थानहरूमा रात बिताउन मिल्ने गतिला टी-हाउसहरू, ठाउँ ठाउँमा आपतकालीन अवस्थामा आगो बाल्न र बस्न मिल्ने पाटीहरू तथा खप्तड मुख्यालयमा पुगेपछि धेरै मानिसका लागि खान र बस्नको व्यवस्थासहितका टी-हाउस आदि ।
अहिलेका लागि योभन्दा बाहिर गएर खप्तड क्षेत्रभित्र सडक बनाउनाले सो क्षेत्रको प्राकृतिक सौन्दर्य र मौलिक पहिचान मेटिने सम्भावना धेरै रहन्छ । विकास र प्रवर्द्धनका नाममा खप्तडको वास्तविक पहिचान नै गुम्न सक्ने खतरालाई सबै सरोकारवालाले बेलैमा ध्यान दिन जरुरी देखिन्छ ।
हाललाई एकतर्फबाट सडक निर्माण गरेर त्यस क्षेत्रको माग पूरा गर्न थाल्ने हो भने भविष्यमा अन्य क्षेत्रका पनि सोही किसिमका माग पूरा गर्नुपर्ने हुनसक्छ‚ जसले गर्दा खप्तड क्षेत्रमा बाहिरी अतिक्रमण बढ्दै जाने र अन्ततोगत्वा खप्तडको मौलिक सौन्दर्य र पहिचान मासिन पुग्छ । खप्तड राष्ट्रिय निकुञ्जभित्र अहिले सडक होइन‚ त्यहाँको मौलिकताको संरक्षण गर्दै अति आवश्यक र आधारभूत पूर्वाधारहरुको मात्रै खाँचो देखिन्छ ।
खप्तड – खप्तडको मौलिक रुपमा नै नरहने अवस्थामा त्यो सडक केका लागि ? त्यसैले मेरो अनुभवमा त्यस क्षेत्रभित्र सडक बनाउने निर्णय कुनै पनि तर्कले ठीक मान्न सकिँदैन ।
(आचार्य सीभील ईन्जीनीयर हुन् ।)
बादरको हातमा नरिवल भनेझै हाम्रो सरकार र नेताहरुले डोजर भएपछि जहापनि चलाउन चहान्चन र प्रकृति दोहन गरेर आदि पैसा झ्वाम पार्ने गर्छन्, बिगत ले त्यहि देखाउछ। जहासम्म खप्तडमा डोजर चलाउने र सडक बनाउने कुरा छ यो मुर्खताको पनि पराकास्टा हो। जहासम्म मलाइ लाग्छ यो योजनाको पछडि पस्चिमा फिरिङ्गि डलरेको हात पनि हुन सक्छ, जो हाम्रो मौलिकता, धर्म र प्रकृति मासेर आफु लाभान्वित हुन चहान्छन्। बिकास अति आबस्यक छ, कतिपय कुरा यो फिचरमा आइपनि सकेकाछन, तर अझै त्यो भन्दा उत्तम बिकल्प पनि छन, तर खप्तडको पावन पबित्र भुमिमा डोजर कुनै हालतमा सहिय छैन।
प्रकृति को अनुपम देन, प्राकृतिक सुन्दरता ले सिँगारिएको पवित्र प्राचीन स्थानको स्वरूप लाई मानविय र यांत्रिक आक्रमण नगरौं,