माधव नेपालको अपिल- केपी ओलीले धोखाधडीलाई निरन्तरता दिँदैछन्, भ्रममा नपरौंँ

काठमाडौँ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली धोखाधडीलाई निरन्तरता दिएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । चन्द्रागिरीमा रहेका नेपालले सामाजिक सञ्जालमार्फत ओलीको बेइमानी र धोखाधडीको भ्रममा नपर्न आग्रह गरेका हुन् ।

‘दक्षिणपन्थी विसर्जनवाद, विकृति, अन्याय र विसंगतिकाविरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र संस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्यसहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै वार्ता र सहमतीका भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्,’ उनले भनेका छन्, ‘यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’

पार्टी दर्ता भाँड्ने ओलीको ‘ट्याक्टिस’
सोमबार चन्द्रागिरीमा आफ्ना सांसद र केन्द्रीय कमिटीका सदस्यहरुसँगको छलफलमा नेता नेपालले आफूहरुको पार्टी दर्ता हुन नदिनका लागि षड्यन्त्र गरेको टिप्पणी गरेका छन् । ‘जब पार्टी दर्ताको मुखमा पुग्यौं । त्यसलाई भाँड्नलाई गर्ने ट्याक्टिसबाहेक केही होइन् । यो उहाँको भूलभूलैया मात्रै हो,’ नेता नेपालले भने, ‘उहाँले इमान्दारितापूर्वक एकता चाहेको हो भने पार्टी दर्ता भएपछि पनि खुल्ला रुपमा संवाद गर्न सक्छौं ।’

ओली र एकताको पक्षमा रहेका नेताहरूबीच १० बुँदे सहमति कार्यान्वन गर्ने सैद्धान्तिक सहमति भएको छ । त्यसैको कार्यान्वयनका लागि आज स्थायी कमिटी बैठक पनि बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *