माटोले नछोएको बाटो
विश्वका चर्चित बडी बिल्डर आर्नल्ड कुनै बेला क्यालिफोर्नियाको गभर्नर थिए । जुनबेला उनी गभर्नर थिए, एउटा होटलले आफ्नो हातामा उनको शालिक बनायो । उनैबाट होटलको भव्य उद्घाटन गराउँदै घोषणा गर्याे- ‘आर्नल्डले चाहेको समयमा त्यो होटलमा निःशुल्क बस्न पाउनेछन् ।’ समयको पदचापसँगै उनी पदविहीन भए । शरीर जीर्ण हुँदै गयो । मानिसले उनको ओहदा र औकात बिर्सँदै गए । एकदिन होटलले दिएको वचन सम्झिएर बास बस्न गए । तर नयाँ पुस्ताका होटल स्टाफले आर्नल्डलाई सभ्य व्यवहार गरेनन् । बिनापैसा होटलको सुविधा दिन नसकिने भनेर फर्काइदिए । आर्नल्ड दुखी भएनन् । बरु सँगै रहेको स्लिपिङ ब्याग ओढेर आफ्नै मूर्तिमुनि सुते । ‘यस्तो प्रतिष्ठित मानिस किन खुल्ला आकाशमुनि बास ?’ सर्वसाधारणको जिज्ञासा निदान गर्दै उनी भन्छन्- ‘धन, पद, शक्ति र प्रतिष्ठा हुन्जेल दुनियाँ तपाईंको साथ हुन्छ, म्याउ म्याउ गर्छ, हात मोल्छ, खुट्टा ढोग्छ । यी सबै अस्थायी हुन् । यी चीज सधैँ तपाईंसँग रहँदैन । यो नरहने बित्तिकै नजिकिएकाहरू टाढा भाग्छन् । पद र पैसामा कहिल्यै घमण्ड नगरौँ । आफ्नै मूर्तिमुनिको मेरो सुताइ यही सत्यको सन्देश हो ।’
एक टन सिद्धान्तको तुलनामा एक ग्राम कामको धेरै महत्व हुन्छ । परिस्थितिले नभई मनस्थितिले टुट्छ मान्छे । कोही नभएको बेला मुस्कुराउने मानिस सही अर्थमा खुसी हुन्छ । एक विद्वानले मूर्खको प्रश्नबाट धेरै सिक्न सक्छ । जिन्दगीमा आफ्नोपन सबैले देखाउँछन् । वास्तवमा आफ्नो को हो त्यो देखाउने हक समयलाई मात्र छ । त्यहाँ नजानुस्, जहाँ बाटोले लैजान्छ । त्यहाँ जानुस् जहाँ बाटो नै छैन । त्यो ठाउँमा छोडेको पाइलाले अजर अमर बनाउँछ । गल्तीको जिम्मेवारी नलिने मानिस कहिल्यै अघि बढ्न सक्दैन ।
अब्राहम लिंकनलाई सोधियो- ‘एउटा साधारण मानिसबाट राष्ट्रपति कसरी हुनुभयो ।’ मुस्कुराएर उनले उत्तर दिए- ‘मैले मेरो जीवनमा पाइला पाइलामा आफ्नै परीक्षा लिएँ । हरेक असफलताबाट केही सिकेँ । त्रुटी सुधार्दै नयाँ बाटो पहिल्याउँदै गएँ । सफलताको सूत्र पुस्तकमा नभई मेहनतमा हुन्छ भन्ने सत्य आत्मसात गरेँ । उज्यालोमा मात्र सबैले साथ दिने हुन्, अँध्यारोमा त आफ्नै छायाँले पनि छोडिदिन्छ । फूल बाँड्ने मान्छेको हातमा सुगन्ध पनि बस्छ । सत्य नबुझी अनुमान गर्नु दुखी हुनुको प्रमुख कारण हो । मेरो पछि नहिँड‚ म नेतृत्व नगर्न पनि सक्छु । मेरो अघि पनि नहिँड‚ म नपछ्याउन पनि सक्छु । बरु छेउमा हिँड र साथी बन । प्रकाश भेट्नु भएको छैन भने आफैँ सूर्य भइदिनुस् । दियो हावाले मात्र निभ्दैन । तेल नभएर पनि निभ्छ । एउटा असल नेताले आशा, कल्पना र विश्वासको त्रिवेणी दिलाउन सक्छ । समयले बताउँछ हामी कसलाई भेट्छौँ । मनले बताउँछ हामी कसलाई चाहन्छौँ । व्यवहारले बताउँछ को हामीसँग बस्छ ?
त्यहाँ नजानुस्, जहाँ बाटोले लैजान्छ । त्यहाँ जानुस् जहाँ बाटो नै छैन । त्यो ठाउँमा छोडेको पाइलाले अजर अमर बनाउँछ । गल्तीको जिम्मेवारी नलिने मानिस कहिल्यै अघि बढ्न सक्दैन ।
बिग्रिएको घडीले पनि दिनको दुईपल्ट वास्तविक समय बताउँछ । तर बदलिएको व्यवस्थाका नबदलिएका नेताहरुले जिन्दगीभर आफ्नो नामबाहेक अरु केही साँचो बताउने भएनन् । तीनवटा प्राइभेट लिमिटेड पार्टीका मुखियाहरूले सहमतिको आवरणमा यस्तै तोरीलाउरे गफमा वर्षौँदेखि समय मिल्काइरहँदा मुलुक एसियाकै सर्वाधिक भ्रष्ट मुलुकमा बदनाम बन्दैछ । नेपाललाई असफल राष्ट्र बनाउने डिजाइनमा मतियारको भूमिकालाई हरेक पार्टीका नेताले घोषित/अघोषित शैलीमा सघाएका छन् । यो महाअभियानलाई कसैले बोलेर सघाएका छन् भने कसैले मौन बसेर ।
मुलुकको बागडोर सम्हालिसकेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक जीवनमा एउटा साँचो वाक्य बोलेका छन् । त्यो हो- ‘सत्ताको साँचो त अन्तै पो रहेछ त ।’ बीपी-जीपी, मनमोहन-भरतमोहन, माधवदेखि यादवहरुसम्म यस कटु सत्यका पारङ्गत व्यक्तित्वहरू हुन् । तर‚ यो विषयलाई उनीहरूले फगत कम्बल ओढेर घिउ खाने माध्यममात्र बनाए । अरु त अरु‚ कम्युनिष्ट पृष्ठभूमिका नेताहरू कुरामा क्रान्तिकारी, आदेशका चरम आज्ञाकारी निस्कँदा राजनीतिक परिवर्तन एउटा ठट्टामा सीमित बन्दै गयो । सातु खाएर जनयुद्ध लडेको गौरव गरेका तिनै नेता एकाध वर्षमै ब्ल्याक लेबल, ब्लू लेबलदेखि बटरफ्लाई ब्रान्डका पारखी हुन पुगे । तर‚ सिसाको गिलासमा खायो भने हैसियत खुल्ने डरले स्टीलको गिलासमा खाएर जनताको नाममा चिसो पानी खाएको पाखण्ड ओकल्न भने उनीहरू पछि पर्दैनन् ।
मोबाइल फोनको हरियो थिचे उठ्छ, रातो थिचे काटिन्छ बाहेकको ज्ञान नभएका नेताहरू आइफोनको पारखी भएका छन् । अरु त परै छाडौँ‚ एउटा सामान्य म्यासेज पढ्ने र पठाउने कला पनि उनीहरूमा देखिँदैन । हो‚ देश पनि तिनीहरुका लागि त्यही मोबाइल सेटजस्तै भएको छ । नजान्नेले मोबाइल थिचेर त्यसको प्याड थिलथिलो बनाए झैँ नेताहरूको प्रयोगले देशको आकार अमिबाजस्तै बन्न पुगेको छ ।
माओ कि बाइडेन ? यसो भनेर गाई त्रिशुल खेलाउने हो भने अधिकांश माओवादी कार्यकर्ताहरूको रोजाइ बाइडेन पर्नेमा शंका छैन । कार्यकर्ताहरुलाई मार्क्स, लेनिन, ख्रुश्चेभदेखि माओ चालिसासम्म कण्ठ गराएका नेताहरूका लागि युरोप अमेरिका बाहेक अरु मुलुक अछुतजस्तै हुने गरेका छन् । नेताहरूले कार्यकर्तालाई जिन्दगीभर उत्तर कोरिया, क्यूबा र चिनियाँ सांस्कृतिक क्रान्तिको पाठ पढाएर जाँचमा भने अमेरिका, स्वीट्जरल्यान्ड र दक्षिण कोरियाको प्रश्न सोध्ने गरेका छन् । त्यसैले त इमान्दार कम्युनिष्टहरू यसखाले पाखण्डको जामा लगाउन नसक्दा फेल भएर न हाँस, न बकुल्लाको चालमा बाँचिरहेका छन् ।
अमेरिकाको विरोध नगरे जात जाने दर्शन बोकेका दर्जनौँ माओवादी कार्यकर्ताहरूले अमेरिकी नागरिक हुन आफ्नै पार्टीले दुःख दिएर अमेरिका भास्सिनु परेको व्यहोरामा ल्याप्चे लगाएर अमेरिकी अदालतमा कागजात पेश गरिरहेका छन् ।
सचेत र विवेकी मानिसले केही राम्रो गर्नुपर्छ तर यदि राम्रो गर्न सकिन्न भने भएको बिगार्ने अधिकार पनि उसलाई छैन । यो सत्यलाई राजनीति गर्नेहरूले किलकिलेमा राख्नुपर्छ । पोखरीमा पानी हुन्जेल माछाले कमिला सिध्याउँछ । जब पोखरीको पानी सुक्छ नि, त्यही नपत्याउने कमिलाले माछा सिध्याउँछ । पर्खन सक्नुपर्छ पालो सबैको आउँछ ।
संसार कुन गतिमा अघि बढिरहेको छ ? अबको विकास मोडल कस्तो हुनुपर्छ ? नेपालको अर्थतन्त्रलाई छिमेकी, क्षेत्रीय हुँदै विश्व अर्थतन्त्रमा कसरी जोड्न सकिन्छ ? यस्ता खालका चिन्तन राख्ने राजनीतिक प्राणीको संख्या पूरै शून्य छ । देशको कार्यकारी पदमा पुग्नेहरू लंगुरबुर्जा सञ्चालकजस्ता भएका छन् । जसको एउटै ध्याउन्न हुन्छ- दायाँ बायाँ पुलिस हेर्ने अनि जतिसक्दो सोहोरेर सुईंकुच्चा ठोक्ने । राजनीतिलाई जुवाको खाल ठानेर दाउ लगाउनेहरुको संख्या अहिले विचित्रसँग बढेको छ । समावेशीका नाममा एकाध दर्जन मानिस भएका पार्टीका कमजोर मानिसलाई मन्त्री बनाएर राज्यका निकायलाई होलसेलमै दलालीको अखडा बनाउने सुनियोजित अभ्यास भइरहेको छ । संयोगबस एउटा प्राविधिक व्यक्ति देशको प्रधानमन्त्री भएकाले होला‚ प्रतिशतमा मिलाउनेहरुको जताततै बिगबिगी देखिन्छ । स्वतन्त्र भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू प्राविधिकहरूको भ्रष्ट शैलीबाट यति आजित भएछन् कि ईन्जिनीयरको सम्मेलनमा थोरै मात्र खाइदिनुस् भनेर क्वाँ क्वाँ रोएका थिए रे !
राजनीति इमान्दारी र नैतिकतामा फल्छ, फुल्छ । नेता पारदर्शी हुन्छ भने हाकिम अपारदर्शी । नेताले समन्वय गर्छ भने हाकिमले तोकादेश गर्छ । यदि नेता हौसिएर हाकिम हुन खोज्यो भने ऊ त खरानी हुन्छ नै, देश पनि अवनतिको पातालमा भासिन्छ । यदि यो देशमा नैतिकवान राजनीतिज्ञ थिए भने उनीहरुले टाईसुट त के लाज छोप्न बुर्का लगाउनुपर्ने अवस्था छ ।
देश मानिसको जस्तो अनिश्चित आयुमा बाँच्दैन । राज्यले जन्मिएका मात्र होइन, दशकौँपछि जन्मिनेहरूको पनि भविष्य सुरक्षित गरिदिनुपर्छ ।
धुलिमाटीबाट क, ख सिकेकादेखि आईफोन संस्कृतिमा हुर्किएकासम्मले स्वतन्त्रतापूर्वक खेल्न, बढ्न पाउनुपर्छ । निष्ठा र इमान्दारीको राजनीति गर्नेहरू देउता समान हुन्छन् भन्ने नेल्सन मन्डेला र महात्मा गान्धीको इतिहास घोकेकाहरूलाई खोई कुन भ्रामरीले छोपेर हो कुन्नि अक्करको बाटोमात्र रुचाउँछन् ।
कस्ता कस्ता चक्रवर्ती महाराजले त समयलाई आफ्नो कैदमा लिन सकेनन् भने हाम्रा नेताहरूले जे पनि गर्न सक्छु भन्ने सोच राख्नु बच्पना सिवाय केही होइन । मानिस भनेको प्रकृतिको निरन्तरतामात्र हो ।
सचेत र विवेकी मानिसले केही राम्रो गर्नुपर्छ‚ तर यदि राम्रो गर्न सकिँदैन भने भएको बिगार्ने अधिकार पनि उसलाई छैन । यो सत्यलाई राजनीति गर्नेहरूले किलकिलेमा राख्नुपर्छ । पोखरीमा पानी हुन्जेल माछाले कमिला सिध्याउँछ । जब पोखरीको पानी सुक्छ नि, त्यही नपत्याउने कमिलाले माछा सिध्याउँछ । पर्खन सक्नुपर्छ पालो सबैको आउँछ ।