सुदूरपश्चिम प्रदेशको अब आफ्नै राजपत्र छपाइ मेसीन

धनगढी । सुदूरपश्चिम प्रदेशमा राजपत्र छपाइ मेसीन स्थापना गरिएको छ । मंगलबार सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले एक कार्यक्रमका बीच मेसीनको उद्घाटन गरिन् ।

मेसीनको उद्घाटन गर्दै मन्त्री जोशीले प्रदेश सरकारका कानून राजपत्रमा छपाइ गर्न काठमाडौँ नै पठाउनुपर्ने बाध्यता हटेकोमा खुसी व्यक्त गरिन् । उनले प्रदेश सभाबाट पारित भएका ऐन विधयकहरू प्रमाणीकरण भइसकेपछि बनेका कानुन राजपत्रमा प्रकाशन गर्न र जनस्तरसम्म लागू गर्न पर्खिनुपर्ने बाध्यताको अन्त्य भएको उनले बताइन् ।

गत आर्थिक वर्ष ०७७/०७८को वार्षिक बजेटमा राखिएको भएपनि आर्थिक वर्षको अन्तिममा आएर खरिद गर्न सकिएको उनले बताइन् । प्राविधक कठिनाइका कारण समयमै सञ्चालन गर्न नसकिएको उनले बताइन् ।

‘प्रदेश सरकारले बनाउने सबै खालका कानुन निर्देशिका, कार्यविधिलगायतका कामहरू प्रदेश बाहिर गएर भर पर्नुपर्ने अवस्था रहेन,’ उनले भनिन्, ‘प्रदेशले निर्माण गरेका कानूनहरू समयमै लागू हुनेछन् ।’ स्थानीय तहका कानुन निर्माणमा पनि सहयोग पुग्ने उनले बताइन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव चुडामणि पौडेलले प्रदेश सरकारका महत्वपूर्ण निर्णयहरूलाई राजपत्रमा प्रकाशन गर्न अब धेरै कुर्नु नपर्ने बताए । उनले राजपत्र आउन महिनौँ दिन लाग्ने हुँदा निर्णयहरू ढिलो हुने कुरालाई मध्यनजर गर्दै प्रदेश सरकारले राजपत्र छपाइ मेसीन खरिद गरेको उनले बताए ।

आफ्नै मेसीन भएपछि प्रदेश सरकार, स्थानीय तहका कानूनलाई राजपत्रमा छिटोभन्दा छिटो प्रकाशन गर्न सहज हुने उनले बताए । मेसीन खरिदका लागि २७ लाख ८० हजार रुपैयाँ लागत रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *