वैकल्पिक राजनीतिको सिकाइ
धेरैलाई थाहा नहुन सक्छ, विवेकशीलको नाममा यतिबेला दुईवटा पार्टी छन् : विवेकशील साझा पार्टी र विवेकशील पार्टी । वैकल्पिक राजनीतिका लागि निकै वर्षदेखि प्रयत्न गरिरहेका हामी विवेकशील पार्टी दर्ताको तयारीमा छौँ । हामी उतिबेला विवेकशील नेपाली दलमा जोडिएका थियौँ । एक भएर फेरि फुटेको पार्टीसँग फेरि एक हुने कुरामा असहमत रहँदै हामी विवेकशील साझामा गएनौँ ।
अहिले हामी विवेकशील पार्टीको राजनीतिक दस्तावेजहरू तयार गर्दैछौं । यसबीचमा पनि हामी राजनीतिक रूपमा सक्रिय रहने प्रयास गरिरहेका छौँ । असंवैधानिक रूपमा गरिएको संसद् विघटनविरुद्ध हामीले माइतीघर मण्डलामा लगातार झन्डै ४० दिन विभिन्न सिर्जनात्मक अभियानहरू सञ्चालन गर्यौँ । बृहत् नागरिक आन्दोलनमा आम नागरिकको रूपमा हामी निरन्तर सहभागी भयौँ । ‘पारदर्शिताका लागि सूचनाको हक’ लेखिएको मास्कमार्फत् र आफ्नै वेबपोर्टलमार्फत् सूचनाको हकको प्रचार प्रसार र जनचेतनाको काम गर्दै आएका छौँ । साथसाथै निर्वाचन आयोगमा दल दर्ताका लागि हस्ताक्षर सङ्कलन पनि गर्दैछौँ । सम्भवतः चाँडै नै दल दर्ता गर्नेछौँ ।
केही दिनअघि विवेकशील पार्टीले मकवानपुर जिल्लाका साथीहरू माझ राजनीतिक प्रशिक्षण तथा सूचनाको हक प्रयोगसम्बन्धी प्रशिक्षण कार्यक्रम राखेको थियो । पार्टीको तर्फबाट संयोजक कर्मा तामाङ् र अजिता राईसँगै म पनि थिएँ । प्रशिक्षणका लागि मकवानपुर जाँदै गर्दा मलाई एक किसिमको अनौठो अनुभूति भइरहेको थियो । २०७४ को स्थानीय निर्वाचनमा विवेकशील नेपाली दलको तर्फबाट रन्जु दर्शना काठमाडौँमा मेयरको उम्मेदवार हुनुहुन्थ्यो । एक किसिमको छुट्टै ऊर्जा थियो । सबैजना दिल-ओ-ज्यान दिएर चुनावी अभियानमा हिँडिरहेका थियौँ । कैयन नयाँ साथीहरू त्यही चुनावबाट जोडिनुभयो । उक्त अभियानमा हिँडिरहँदा मैले कहिले पनि यो छोटो समयमा हाम्रो राजनीतिक जीवनमा यति धेरै उतारचढावहरू आउलान् भनेर सोचेको पनि थिइनँ ।
स्थानीय चुनावताका नै र त्यसपछि पनि लगातार साझा पार्टी र विवेकशील नेपाली दल एकीकरण हुनुपर्छ भन्ने एक किसिमको जनदबाब थियो । दुवै पार्टीभित्र पनि मिल्नुपर्छ भन्ने आवाजहरू धेरै थिए । तिनै आवाजहरूमध्ये मेरो पनि एउटा आवाज थियो ।
एकीकरण पनि भयो । उद्घाटन सत्रमा उज्वल थापाले लेफ्ट राइट गर्दै फरवार्ड जाने हाम्रो बाटो हो भन्नुभयो । रवीन्द्र मिश्रले केन्द्रबाट थोरै बायाँबायाँ हिँड्ने बताउनुभयो । विवेकशील र साझाबीचको एउटा मुख्य अन्तर शायद यही थियो । सहयात्राको क्रममा हामीले कार्यशैलीमा समेत कैयन फरकपनहरू महसुस गर्यौँ ।
१८ महिनाको सहकार्यपश्चात् उज्वल थापाले पार्टीले बाटो बिराएको र आमूल सुधारको आवश्यकता रहेको भन्दै एक दस्ताबेज ल्याउनुभयो । त्यो दस्ताबेजलाई तत्कालीन विवेकशील साझा पार्टीले आधिकारिक रुपमा कहिले चिनेन । रवीन्द्र मिश्रलगायत साझा पार्टीका सदस्यहरूले उक्त दस्ताबेजमा छलफल नै गर्न मान्नुभएन । बरु पार्टी एकीकरण भङ्ग भयो । फेरि विवेकशील नेपाली दल ब्युँतियो । साझा पार्टी आफ्नै ढङ्गबाट अगाडि बढ्दै गयो । यसरी पुनः ब्युँझिएको विवेकशील नेपाली दलमा धेरै परिवर्तनहरू आए । महासचिव प्रधान हुने नयाँ विधान निर्माण गरियो । अभियानमुखी दल सङ्गठनमुखी बन्यो । नीति अधिवेशन र महाधिवेशन गरियो ।
उज्वल थापा, गोविन्द नारायणहरुले नेतृत्व हस्तान्तरण गर्नुभयो । मिलन पाण्डे नयाँ अध्यक्ष बन्नुभयो । ३४ जनाको केन्द्रीय समिति बन्यो । सङ्गठन र अभियानहरू अगाडि बढ्दै थिए । त्यसैबीच राजनीतिक रूपमा समान ढङ्गले सोच्ने अन्य दलहरूसँग सहकार्य गर्ने भनेर संवाद समिति बनाइयो । त्यही समितिले केही समयपश्चात् एकीकरणको लागि भन्दै पुनः साझा पार्टीसँग वार्ता थाल्यो । लुम्बिनी भेलाबाट साझा पार्टीले सङ्घीयता खारेजी र हिन्दू राष्ट्रका लागि जनमत सङ्ग्रहको प्रस्ताव पारित गरेको हामीलाई थाहा थियो । विवेकशील नेपाली दलभित्र हामीले यो विषयमा आवाज उठायौँ । सङ्घीयता र धर्म निरपेक्षताको विषयमा साझा पार्टीको लाइन के हो भनेर अध्यक्षलगायत संवाद समितिमा हुने साथीहरुलाई बारम्बार प्रश्न गर्यौँ ।
एकीकरणका लागि तयार पारेको सम्झौताको मस्यौदामा यी विषयमा प्रष्ट रुपमा कहीँ पनि लेखिएको थिएन । हाम्रा प्रश्नहरूको बारम्बार लटरपटर जवाफहरूमात्र आए । अन्ततोगत्वा एकीकरणका लागि भोटिङ भयो । दुई तिहाइभन्दा केही बढी साथीहरूले एकीकरणको पक्षमा भोट हाल्नुभयो । मलगायत तत्कालीन केन्द्रीय समितिको ३४ जना केन्द्रीय सदस्यमध्ये १३ जना केन्द्रीय सदस्यहरूले एकीकरणमा नजाने निर्णय गर्यौँ । जसमा विवेकशील नेपाली दलमा करिब करिब सुरुवाती कालदेखि जोडिएका कर्मा तामाङ, साधना राई, विजयबाबु शिवाकोटीलगायत छौँ । आम नागरिकले धेरै चिन्ने नामहरू जस्तै रञ्जु दर्शना, पुकार बम, मिलन पाण्डेहरू अहिले विवेकशील साझा पार्टीमा हुनुहुन्छ ।
एकीकरणमा नजाने निर्णयमा पुगेका हामीले अब के ? भनेर सल्लाह गर्यौँ । वैकल्पिक राजनीति आजको समयको आवश्यकता हो र यो यात्रा जारी राख्नुपर्छ भने निर्क्योल भएपछि हामी विवेकशील पार्टीको नाममा सङ्गठित हुने प्रयास गर्दैछौँ । त्यसैको सिलसिलामा हेटौँडाका साथीहरूमाझ अभियान र राजनीतिक प्रशिक्षणका लागि हामी मकवानपुर जादै थियौँ एक अनौठो अनुभूतिका साथ ।
यो अवधिमा धेरै साना-ठुला अभियानहरूको नेतृत्व गर्ने मौका पनि मिल्यो । हामी सकेसम्म अभियानहरू सिर्जनात्मक बनाउने प्रयास गर्थ्यौँ । हामी तत्कालीन विवेकशील साझा पार्टीमा थियौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदै हुनुहुन्थ्यो । भारतलाई एउटा राम्रो सन्देश दिनुपर्छ भन्ने हामीलाई लागेको थियो । अभियान विभागमा भएको हुनाले पनि कुनै एउटा सिर्जनात्मक अभियान प्रस्ताव गर्न मन थियो । हामीले बुझेका थियौँ कि छिमेकी हामीलाई चाहिन्छ र हामी छिमेकी फेर्न सक्दैनौँ । त्यसैको आधारमा पहिले सामाजिक सञ्जालमार्फत अभियान सुरु गर्नेगरी ‘मोदी जी, स्वागत छ तर‚ नाकाबन्दी भुलेको छैन’ भन्ने नारा प्रस्ताव गरेँ ।
रवीन्द्रजीले ‘यो नारा लेखेर पार्टी कार्यालयमा झुन्ड्याऔँ’ भन्नुभयो । त्यसै गरियो । प्रहरीले हस्तक्षेप पनि गर्यो । यसै विषयलाई लिएर सन्तोष गिरीज्यूले ‘नाकाबन्दी’ लेखेको बेलुन उडाउन प्रस्ताव गर्नुभयो । बेलुन उडाइयो । यो सिर्जनात्मक अभियानले तत्कालीन विवेकशील साझा पार्टीको थोरै भए पनि कद बढायो । हामीले कहीँ न कहीँ हाम्रो छिमेकप्रति हाम्रो धारणा के हो भन्ने प्रष्ट पार्यौँ ।
तर आजको स्थिति फरक छ । हिजो तिनै सिर्जनात्मक अभियान गर्ने, आम युवाहरूमा आशाको दीप जगाउने सहकर्मीहरू तितरबितरजस्तै भएका छौँ । केही समयअघि उज्वल दाइ कोभिडका कारण बिरामी पर्नुभयो । उहाँ बिरामी भएपछि हामी सबै एकजुट भयौँ । सबैको सहकार्यमा जे जे गर्न सकिन्छ‚ त्यो सबै भयो । आम नागरिकको सद्भावले उज्वल दाइको उपचारका लागि २४ घण्टाभित्र झन्डै ६८ लाख रुपैयाँ सङ्कलन भयो । पछिल्लो पटक सबै पूर्वसहकर्मीहरू एक ठाउँ आएर काम गरेको त्यहिबेला हो । दुःखको कुरा दाइले हामीलाई छाडेर जानुभयो ।
एकै उद्देश्य बोकेर निस्किएका हामीबीच किन यो स्थिति आयो त भनेर घोत्लिरहँदा र साथीहरूसँग छलफल गर्दा हामीले ३ मुख्य कुराहरूमा स्पष्टता ल्याउन सकेका रहेनछौँ भन्ने लागेको छ ।
• हामीले खोजेको परिवर्तन के हो ?
• ती परिवर्तन प्राप्तिका लागि कस्तो राजनीति गर्ने ? (नागरिकमुखी कि सत्तामुखी राजनीति)
• त्यस किसिमको राजनीति गर्न हामीलाई कस्तो किसिमको राजनीतिक संगठनको आवश्यकता परेको हो ?
विवेकशील साझा पार्टीसँगको एकीकरण तोडिएपछि ब्युँतिएको विवेकशील नेपाली दल, साझा पार्टीसँग पुनः एकीकरणबारे छलफल चलिरहँदा पहिला माथिका विषयहरूमा छलफलको प्रस्ताव राखिएको थियो । तर छलफल भएन । माथिका प्रश्नका उत्तरहरू गम्भीर छलफल गरेर खोजिएको भए यतिबेला मिलन पाण्डेहरूले रवीन्द्र मिश्रले धोका दिनुभयो भनेर आलोचना गरिरहनुपर्ने थिएन । न त वैकल्पिक राजनीति नै कलङ्कित हुनुपर्ने थियो ।