क्रियाशील सदस्यको नाम सार्वजनिक गर्न भन्दै पौडेलपक्षीय जिल्ला सभापतिद्वारा धर्ना

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन् ।

क्रियाशील सदस्यता विवाद टुङ्गिएको भनिएपनि सार्वजनिक नगरिएको भन्दै उनीहरुले धर्ना दिएका हुन् । धर्नामा सहभागीहरूले सूचिकृत सबै क्रियाशीलको नाम हेर्न पाउनुपर्ने माग गरेका छन् । विधिसम्मत ढंगले क्रियाशील सदस्यता सूचीको त्रुटी सच्याएर सार्वजनिक गर्न दिएको अल्टिमेटम सकिएकाले धर्ना बसिएको कांग्रेसका नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।

जिल्ला सभापतिको धर्नालाई कांग्रेसका केहि केन्द्रीय सदस्यहरूले समेत समर्थन जनाएका छन् । कांग्रेस नेता गगन थापा, अर्जुननरसिंह केसीलगायत धर्नामा पुगेका थिए । थापाले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्दै देखिएका त्रुटिहरूलाई सच्याउनुपर्ने बताए । त्यस्तै केसीले जायज मागलाई नेतृत्वले सम्बोधन गर्नुपर्ने धारणासमेत राखेका छन् ।

यसअघि जिल्ला सभापतिहरूले यही साउन ७ गतेभित्र क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, विधि विधान र मापदण्डअनुसार छानबिन गरी सदस्यता सूचीलाई अन्तिम रुप दिनुपर्ने र सबै जिल्ला सभापतिको निर्वाचन प्रक्रियामा एकरुपमा आउनेगरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *