धन कमाउन जाने दुःखीहरुका कथा अझै कतिन्जेल ?
संसारमा माया ठूलो कि धन भन्ने प्रश्न धेरै अघिदेखि चल्दै आएको छ । निजी सम्पत्तिकाे संग्रह र त्यसको संरक्षण तथा आफ्नो शेषपछि उपभोगका लागि उत्तराधिकारीको खोजी थालिएसँगै धनको महत्व बढेको मानिन्छ । मानिसले आफूले उपभोग गर्नेभन्दा बढी उत्पादन गर्न थालेपछि जब सञ्चय र विनिमयको युग सुरु भयो त्यसपछि मानिसको सामाजिक जीवन जटिल बन्न पुगेको मान्ने गरिएको छ । त्यही धनले र धनका लागि निर्माण गरिएका सम्बन्धको जञ्जालमा मानिस दह्रैसँग जकडिएको छ ।
विपरित लिङ्गीप्रतिको आकर्षण र सन्तान उत्पादनको नैसर्गिक गुण (जुन जनावरहरुमा पनि हुन्छ) बाहेक जब सांस्कृतिक प्राणीका रुपमा मानिसको जीवन सुरु भयो त्यसैसँगै त्यो आकर्षणलाई अनेक रुप र स्वरुपमा मानिसले ग्रहण गर्दै आएको छ । कपास बुनेर कपडा बनाएजस्तै मानिसले आफ्नो सम्बन्ध र भावनाहरुलाई पनि अनेक स्वरुपमा बुनेर पहिरिँदै आएको छ । प्रेमसम्बन्धलाई कतै स्वतन्त्रता र प्रगतिसँग जोडिन्छ भने कतै विवाहको आवरणमा यसलाई ढाक्ने पनि गरिन्छ । पुँजीवादको विस्तार र स्वतन्त्रताको व्यापाक उपभोगको मागसँगै प्रेमलाई नयाँ युगको प्रगतिशील सम्बन्धका रुपमा परिभाषित गर्न थालियो । र, यसले परम्परागत परिवार र समाजमा विद्रोहको रुप धारण गर्याे ।
कपास बुनेर कपडा बनाएजस्तै मानिसले आफ्नो सम्बन्ध र भावनाहरुलाई पनि अनेक स्वरुपमा बुनेर पहिरिँदै आएको छ । प्रेमसम्बन्धलाई कतै स्वतन्त्रता र प्रगतिसँग जोडिन्छ भने कतै विवाहको आवरणमा यसलाई ढाक्ने पनि गरिन्छ ।
आजको समयलाई सरसरती हेर्दा मानिसका लागि यी दुवै चिज उत्तिकै आवश्यक लाग्छन् । कुनै एकको कमीमा जीवन असन्तुलित वा असहज हुनेजस्तो देखिन्छ । भौतिक प्रगतिले मानिसलाई पैसाको दास बनाउँदै लानु एउटा पक्ष हो तर एउटा ठूलो वर्गले आधारभूत आवश्यकतासमेत पूरा गर्न नसकेर दुखमा जीवन बिताउनु परेको पनि अर्को यथार्थ हो । यसैले धनले पुगेका मानिसले अरुलाई धन नकमाउ भन्नु वा धन व्यर्थको चिज हो भन्नु र दिनभरी मजदुरी गरेर चामल किन्नलाई हातमा पैसा लिएको मजदुरले धनको महत्व छैन भन्नु दुई फरक कुरा हुन् । (भावनामा बहिकएर वा दार्शनिक अर्थमा यसको पछि नलाग भन्रुचाहिँ फेरि फरक कुरा) पैसाको धेरै दानवीकारण र प्रेमको बढी नै महिमामण्डनबारे चैतन्य मिश्रजस्ता समाजशास्त्रीले बेलाबेला प्रकाश पार्दै आएका छन् ।
यो सब भूमिका हो ।
मुख्य कुरामा अब प्रवेश गरौं । यो प्रसंग झिकेको मैले एउटा गीतबारे कुरा गर्नलाई हो । गीत हो- जोसेफ शाही ठकुरीको ‘मायाले नै हो पियारी…’ भ्वाइस अफ नेपालमा धमेन्द्र सुनारले गाएपछि मैले यो गीत सुनेको हुँ । र, ओरिजिनल गीत खोज्दै जाँदा युट्युबमा केही महिनाअघि अपलोड भएको यो गीत भेटियो । अहिले त यसको फिमेल भर्सन बिशाखा शाहीको स्वरमा समेत सुन्न पाइन्छ । यी दुवै गीतको म्युजिक भिडियो पनि छन् ।
सुदूरपश्चिम क्षेत्रको देउडा शैलीको यो गीतले निकै मार्मिक शब्दमात्रै होइन भाका पनि त्यस्तै लिएको छ । गीतका गेडामा कताकति खस भाषाका शब्द र उच्चारणमा त्यो लवज पनि मिसाइएको छ । तर, यो परम्परागत रुपमा खेलिने देउडा भने होइन । यसको बिट र टोन दुवै देउडाभन्दा फरक छ । यसैले पनि सायद यो गीत आम देउडाभन्दा भिन्न भएर ठूलो स्रोता समूहसम्म पुग्न सफल भएको पनि होला ।
यसका दुवै भर्सनका भिडियो हेर्दा मलाई झट्टा दुइटा कृतिको सम्झना भयो- एउटा महाकवि देवकोटाको कृति ‘मुनामदन’ र अर्को हेमन्त रानाले गाएको गीत ‘साइली’ । तपाईंलाई यी दुई कृतिलाई एकै लहरमा राख्दा अनौठो लागेको छ भने एकछिन पर्खनुस् । मलाई यसलाई जस्टिफाइ गर्नेछु ।
‘मायाले नै हो पियारी…’ सुदूरपश्चिम क्षेत्रको देउडा शैलीको यो गीतले निकै मार्मिक शब्दमात्रै होइन भाका पनि त्यस्तै लिएको छ । गीतका गेडामा कताकति खस भाषाका शब्द र उच्चारणमा त्यो लवज पनि मिसाइएको छ ।
मुनामदन, साइली र पियारीमा केही समानता छन्- यी तीनवटै कृतिले आआफ्नो समयमा मायाका लागि धन कमाउन जाने दुखीहरुको कथा भन्छन् । मुनामदनको मदन धन कमाउनका लागि भारी मनले भोट (तिब्बत) जान्छ । तिब्बतमा बेसरी धन छ, त्यसबाट केही लिएर आउँला । साहुको ऋण तिरौंला । आमाको हेरविचार गरौंला र आफ्नी प्यारी मुनासँग सुखका साथ बसौंला- मदनको मनसुवा यही थियो ।
साइँलीमा चालीस कटेसी रमाउने वाचा पनि त्यही हो । यसमा साइला धन कमाउन भोटको साटो कतार-मलेसिया पुगेको छ । भुगोलको फरक छ, यसले गर्दा संस्कृतिको फरक छ । तर, मूल उद्देश्य उही छ- मायाको बाटोमा धनको अभावले उब्जाएका व्यवधान हटाउने, साइला र साइलीको पनि मनमा एउटै कुरा छ- लागेको ऋण तिरेर सुखका साथ बसौंला ।
र, पियारीको पनि कथा त्यही हो । काठमाडौंको एउटा ग्यारेजमा मोटर मेकानिकका रुपमा काम गर्ने र ‘घर फिर्ने बेला मेरो हुनै लाग्या को छ’ भन्दै औंला भाँच्ने यो केटाको पनि सपना त्यही छ- ‘साहुको ऋण तिरौंला, नचुहिने छानो हालौंला अनि सुख फल्ने आलीमा दुखको दाँईं हालौंला ।’
यसमा चाहिँ कथानायक रोजगारीको खोजीमा काठमाडौं आउँछ । जबकि, मुनामदनको नायक काठमाडौंबाट धन कमाउन भोट जान्थ्यो । अर्थात्, धन कहाँ छ भन्नेमात्र होइन, गरिब कसरी झन् झन् टाढा धकेलिँदै छन् भन्ने पनि यो तुलनाबाट देखिन्छ । पहिले काठमाडौंबाट धन कमाउन भोट जान्थे, पछि गण्डकी प्रदेशको कुनै गाउँबाट नायक धन कमाउन खाडी हिँड्यो र अब हाम्रो गीतको नायक बाजुरा-बैतडीबाट धन कमाउन काठमाडौं ओर्लिएको छ । यसरी हेर्दा हामीले गरिबीलाई हटाएका छैनौं, खाली पन्छाएका मात्रै छौं ।
जनसंख्या वृद्धि, प्रशासनको बढ्दो प्रभाव र कुशासनको फैलावटसँगै गरिबी पनि केन्द्रबाट परिधितिर फैलिएको हो कि ?शक्तिचाहिँ स्थानीय तहबाट केन्द्रतिर तानिदै आउने र अभावचाहिँ केन्द्रबाट बाँडिने भएको हो कि ? (मुगुलगायतमा बाँडिने चामललाई लिएर पनि यस्तो भनिने गरिएको छ । सरकारले स्थानीय खाद्यान्नलाई बढावा नदिएर चामलमात्रै कृत्रिम भोकमरी सृजना गरेको आरोप पनि छ ।)
भौतिक प्रगतिले मानिसलाई पैसाको दास बनाउँदै लानु एउटा पक्ष हो तर एउटा ठूलो वर्गले आधारभूत आवश्यकतासमेत पूरा गर्न नसकेर दुखमा जीवन बिताउनु परेको पनि अर्को यथार्थ हो ।
महिलाले गाएको यही गीतको भिडियो झन् विरही छ । घाँस काट्न हिँडेका तीन युवतीहरुको एकोहोरो मनोदशा यो गीतले दर्शाउँछ । जो धन अभावले गर्दा उत्पन्न भएको विवशतामा ‘वैंश खेर गइगयो’ भन्दै सुस्केरा हाल्न अभिशप्त छन् । साह्रो स्वच्छ हावा, निश्चल मन र अर्गानिक खानाले भरिएको भनिने गाउँमा किन यी युवतीहरु खुशी र चञ्चल छैनन् ? के दूर देशमा कमाउन हिँडेका प्याराको प्रेम काफी छैन ? के जीवनमा प्रेम त्यति धेरै महत्वपूर्ण कुरा होइन, जो १६-१७ वर्षको उमेरमा लाग्छ ?
ººº
अब यसैमा राजनीतिलाई जोडौं । हुन त, राजनीति भन्नासाथ अहिले चन्द्रागिरीमा जम्मा भएका सांसद् र पुरानै धारमा फर्किएका विद्रोही तेस्रो धारको भंगालोको कुरा आउँछ । अर्काको पार्टी फुटाएपछि अब आफ्नै समीकरण बिग्रेला भन्ने डरले अध्यादेश निष्क्रिय बनाउन लागिपरेको ‘लोकतान्त्रिक, सामाजवादी र अग्रगामी’ सरकारको कुरा आउँछ । कुनै चौथाईवालेलाई प्रधानमन्त्री पत्नीले राखी बाँधेको कुरा आउँछ । वा जनमत संग्रहको तालमा नाचिरहेका वैकल्पिकहरुको सम्झना आउँछ । तर, मैले त्यो राजनीतिको कुरा गरिरहेको छैन । मैले कुरा गरेको राजनीति पञ्चायतको ३० र बहुदलको ३० वर्षगरी नेपालमा विकासको नारा लगाउन थालिएको दिव्य ६० वर्षको हो ।
यो ६० वर्षको विकासको राजनीतिले कसको विकास गर्याे ? के विकास गर्याे ? किन हाम्रो नायक अझै पनि रोजगारी र धन खोज्दै घर छोडेर हिँड्न विवश छ ? किन हाम्रा नायिकाहरु अझै एक्लो छिंडीमा प्यारालाई पर्खिएर बस्न अभिशप्त छन् ? वा किन ससाना बच्चाहरु इजरायल र कुवेत हिँडेकी आमालाई केवल म्यासेन्जर र ह्वाट्सएपमा मात्र चिन्दछन् ? किन धनुषा र सर्लाहीबाट पासपोर्ट बोकेर हिँडेका युवाहरु एयर अरेबियामा ‘अंग्रेजीमा फर्म भरिदिने मान्छे को भेटिएला ?’ भनेर हेर्दै छन् ? विकासको मूल फुटेको यत्रा वर्षमा धनको बाढी किन आएन ? वा त्यो केही सीमितको आँगनमा मात्रै आयो कि ?
–फेसबुकबाट