नेपाललाई सोधेरै १० बुँदे सहमति गरिएको हो : योगेश

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले १० बुँदे सहमति एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई सोधेर नै गरिएको दाबी गरेका छन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बुधबार भएको पत्रकार सम्मेलन तथा एमाले एकताका लागि बनेको कार्यदलको तर्फबाट बोल्दै सचिव भट्टराईले नेपाललाई सबै कुरा जानकारी गराएरै १० बुँदे सहमति गरिएको दाबी गरे ।

वरिष्ठ नेता नेपालले एमाले एकताका लागि गत वैशाख २७ गते तयार पारेको ६ बुँदे प्रस्तावकै आधारमा असार २७ मा १० बुँदे सहमति गरिएको सचिव भट्टराईको भनाइ छ ।

‘एमालेमा देखिएका विवाद मिलाउन एकताका ६ बुँदा माधव नेपालले वैशाख २७ गते नै तयार गर्नुभएको थियो, माधव कमरेडले तयार गरेको ६ बुँदे ड्राफ्टलाई टेक्दै ६ बुँदाकै आधारमा १० बुँदे सहमति भएको थियो, उक्त सहमतिमा पनि उहाँले समर्थन जनाउनुभएको थियो‚’ भट्टराईले भने‚ ‘१० बुँदेमा माधव नेपालको सहमति नभएको भनेर टिकाटिप्पणी सुनिएको‚ तर माधव नेपालले नै १० बुँदेमा केही शब्द फेर्न लगाएपछि सहमति तयार भएको हो ।’

‘भीम रावल कमरेडले फोन ‘लाउड स्पिकर’ मा लगाएर माधव नेपाललाई १० बुँदेबारे जानकारी दिनुभएको थियो, कमरेडले केही शब्द फेर्न लगाउनुभएको थियो‚’ उनले थपे‚ ‘घनश्याम भुसाल कमरेडले १० बुँदेको फाइनल ड्राफ्ट माधव नेपाललाई उहाँको घरमै लगेर पनि बुझाउनुभएको हो ।’

नेता भट्टराईले १० बुँदेमा माधव नेपालको सहमति भएकैले आफूहरू एकताका लागि अघि बढेको तर अहिले नेता नेपालले १० बुँदेमा सहमति नभएको बताउनुलाई आफूले केही भन्न नसक्ने बताए ।

१० बुँदे मस्यौदा बनाउने क्रममा एक एक अक्षर वरिष्ठ नेता नेपाललाई सुनाइएको पनि सचिव भट्टराईले दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *