नयाँ मुख्यमन्त्री हतार हतार, तर छैन भर

विराटनगर । प्रदेश १ मा सरकार फेरिएको छ । नेकपा एमाले विभाजनसँगै शेरधन राई नेतृत्वको सरकार ढलेको छ । नयाँ सरकार एमालेकै बनेको छ तर‚ मुख्यमन्त्री फेरिएका छन् ।

२०७४ माघ २६ गते प्रदेश १ को मुख्यमन्त्री बनेका राई एमालेकै सरकार कायम राख्न सकिन्छ कि भन्ने रणनीतिअनुसार मुख्यमन्त्रीबाट हटेका छन् र उनकै प्रस्तावमा मुख्यमन्त्रीमा आचार्य आएका छन् ।

आचार्यले मुख्यमन्त्रीको पद बहाली गरेपनि अन्य मन्त्रीको टुंगो भने लागेको छैन । मन्त्रीकाे मात्र होइन‚ यो सरकार नै कति समयका लागि हो भन्ने टुंगाे छैन । किनभने आचार्यले नयाँ दलमा जान खुट्टो उचालेर ठीक्क परेका सांसदहरुलाई रोक्न सहज छैन ।

एमालेका चार जनामात्र सांसद समाजवादीमा गएकाे अवस्थामा पनि सरकारको बहुमत पुग्दैन । समाजवादीका नेताहरूले नयाँ सरकार केही समयका लागि मात्र भएको र अब एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्ने दाबी गरिसकेको छ । एकीकृत समाजवादीका नेता राजेन्द्र राईले आफू अब मुख्यमन्त्री बन्ने बताइसकेका छन् । 

मुख्यमन्त्रीले शपथ लिएपनि मन्त्री नियुक्त भएनन् । आचार्यले मुख्यमन्त्रीको शपथ लिँदासम्म तीनजना मन्त्री बनाउने तयारी रहेकाे एमालेकै नेताहरूले बताएका थिए । तर केहीबेरमै त्यो विषय त्यसै सेलायो । मुख्यमन्त्रीले शपथ लिएपछि भने, ‘चाँडै मन्त्रिपरिषद विस्तार गर्छौँ ।’ आचार्यले मन्त्रिपरिषद कहिले विस्तार हुने भन्नेबारे नबताएपनि एमालेबाट फुटेर गएको नेकपा (एकिकृत समाजवादी)का सांसदलाई आफ्नो पार्टीमा ल्याउने कुरासँग जोडिएको एमालेका नेताहरू बताउँछन् । अब  एमालेभित्रका सांसद कति टिकाउने र उता जान नदिने भन्नेसँग यो विषय जोडिएको नेताहरुले बताएका छन् ।

एमाले विभाजन भएसँगै अब कतिजना सांसद एमालेमा रहने भन्ने कुराले नेकपा एमालेको सरकार टिक्ने या नटिक्ने स्पष्ट हुनेछ । प्रदेश सभाका ५१ जनामध्ये आजसम्ममा नेकपा (एकिकृत समाजवादी) मा जाने सांसदको संख्या ७ देखिएको छ । राजेन्द्र राई, राजन राई, गणेश काम्बाङ, सुनिता चौधरी, साबित्रा रेग्मी, कृष्णकुमारी राई र पदमकुमारी गुरुङ नयाँ दलमा जानेमा गनिएका छन् । यो संख्यालाई आधार मान्दा मात्र पनि अहिलेको आचार्य नेतृत्वको सरकारले बहुमत पाउने देखिँदैन । अहिले नै यसै भन्न सक्ने अवस्था नभएकाले आफ्नै पार्टीभित्रका सांंसदको बहुमत पुग्नेमा आचार्य आशावादी देखिएका छन् ।

हतारमा शपथ
आचार्य बिहानसम्म काठमाडौँमै थिए । उनी बिहानै विराटनगर आएका हुन् । संसदीय दलको बैठक बसेको करिब १ घण्टाको बिचमा नयाँ मुख्यमन्त्रीका रुपमा आचार्यले शपथ लिएका थिए । यसलाई कतिपयले अनौठो मानेका छन् ।

अहिलेसम्म सत्ता छाड्न नचाहेका शेरधन राई एकाएक कसरी दलको नेताबाट राजीनामा दिन तयार भए भन्ने कुरासँग पनि यसलाई जोडिएको छ। स्मरणीय छ, राईले यसअघि दुईपटक मुख्यमन्त्री बन्न खोजेका आचार्यलाई हराइदिएका थिए ।  बिहीबार बिहानैबाट एमालेको प्रदेश संसदीयदलमा हतारो शुरु भइसकेको थियो ।

बिहान ११ बजे संसदीय दलको कार्यालयमा बोलाइएको संंसदीय दलको बैठक होटल एसियाटिकमा बसेको थियो । करिब १० मिनेट बसेको बैठकमा दलको नेताको हैसियतमा शेरधन राईले दलको नेताबाट राजीनामा दिएका थिए । लगत्तै टोली दलको कार्यालयको पत्र बोकेर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको कार्यालयमा पुगेको थियो ।

मुख्यमन्त्रीको दाबीसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका आचार्यसहितका नेताहरुले आफ्नो दलको नेतालाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरे । केहीबेरमै मुख्यमन्त्रीको रुपमा आचार्यले शपथ लिए ।

एमाले छाड्न नचाहनेहरू धेरै रहेपछि बहुमत पुर्‍याउन सक्ने आँटसहित मुख्यमन्त्रीमा आचार्य आएको एक सांसदले दाबी गरे । एमाले विभाजन भएर बनेको नेकपा समाजवादीले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेसँगै प्रदेश १ को प्रमुख हेरफेर गर्न सक्ने छनक पाएको एमालेले प्रदेश प्रमुख फेर्नुभन्दा पहिला नै मुख्यमन्त्रीमा आफ्नो दलका नेतालाई नियुक्त गर्ने मनसायबाट हतारमा यी सबै गतिविधि भएको एक सांसदले बताए ।

‘आजभोलि नै प्रदेश प्रमुख फेरिने हल्ला आयो,’ ती सांसदले मकालुखबरसँग भने, ‘तत्कालै हामीले गर्नुपर्ने काम सकेर सरकार गठन गरौँ भन्ने भयो र हतारमै सबै कामहरू भए ।’

पार्टी फुटेर नयाँ दर्ता भएपछि नयाँ पार्टीमा लाग्नका लागि २१ दिनको समय सीमा रहेकाले पनि त्यसलाई टार्न नयाँ सरकार हतारमा बनाइएको आकलन गरिएको छ । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले २१ दिनसम्म दल छान्न पाउने र त्यसको १० दिन आफ्नो बहुमत संख्या पुर्‍याउन समय हुने एमालेको रणनीति छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *