कैलालीमा बाढीले बगाउँदा एकको मृत्यु, बस्ती डुबानमा
धनगढी । कैलालीमा बाढीले बगाउँदा एक जना वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका-६ चरेलास्थित गुलरा नदीमा आएको बाढीले बगाउँदा सोही ठाउँ बस्ने ९५ वर्षीया फुपिया थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ खोलामा लुगा धुँदै गरेकी थारुलाई अचानक आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । उनका अनुसार बाढीले बगाएर करिब ७ किलोमिटर पर पुर्याएको अवस्थामा वृद्धा थारुको शव फेला परेको थियो ।
दुई जनाको उद्धार
त्यस्तै घाँस काट्न गएका बेला स्थानीय शिवगंगा नदी र झिलखोलाको बीच भागमा फसेका गौरीगंगा नगरपालिका-३ कुचैनीका दाजुबहिनी राजाराम सापकोटा र आरती सापकोटालाई उद्धार गरिएको छ । बिहीबार राति करिब १२ बजे उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी करिब ५० जनाको टोलीले उनीहरूको उद्धार गरिएको सूचना अधिकारी जोशीले बताए । यसैगरी पहाडी भेगमा निरन्तर वर्षा भइरहेको र यहाँको मोहना र खुटिया नदीको जलस्तर बढेकाले प्रशासनले नदी किनारका मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका छन् ।
त्यस्तै कैलालीकै जानकी गाउँपालिका- ४ र ७ का बस्ती डुबानमा परेका छन् । बाढीले करिब डेढ सयभन्दा बढी घर डुबाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीका अनुसार वडा नं. ४ मा गिदरपुर, खरैला गाउँका ८० र वडा नं. ७ मा जवलपुर, शंकरपुर, मुनुवा गाउँका ५८ घर डुबानमा परेका छन् । गाउँपालिकामा यी दुई वडाबाहेक अन्य स्थानमा पनि बाढी बस्तीमा पसेको छ ।
बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको टोली उद्धारका लागि पुगेको सूचना अधिकारी जोशीले बताए ।
पसल बग्यो
जिल्लाकै गोदावरी नगरपालिका-४ स्थित गोदावरी नदीमा बाढीले एक जनाको घर र पसल बगाएको छ । बाढीले स्थानीय वर्षीय गणेशदत्त पाण्डेको १ कोठे किराना पसल र काठले बनेको टिनले छाएको प्रतिक्षालय बगाएको छ ।
यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका-३, बल्चौरमा घरमाथि पहिरो खस्दा दुई जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते हुनेमा घरभित्र बसिरहेका ७५ वर्षीय गोपाल चौधरी र उनकी ७२ वर्षीया श्रीमती गौरी चौधरी रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । अविरल वर्षाका कारण बिहीबार ८ बजेतिर चौधरीको घरमाथि पहिरो खसेको थियो । पहिरोले घरमा क्षति पुगेको छ ।