प्रभावकारी बन्दै राष्ट्रपति महिला उत्थान कार्यक्रम 

अछाममा ११ जना सुत्केरीको उद्धार  

अछाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत अछामका ११ जना महिलाको निःशुल्क हवाई उद्धार गरिएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि अनुसार उनीहरूको उद्धार गरिएको हो ।

आर्थिक वर्ष २०७५-०७६ देखि जिल्लामा सुरुवात भएको कार्यक्रम अन्तर्गत यही भदौ ६ गते एकै दिन २ जना गर्भवतीको हवाई उद्धार गरिएसँगै हालसम्म ११ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीहरूको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । कार्यालयका अनुसार २०७६ भदौ २९ गते कमलबजार नगरपालिका वडा नम्बर १ का इन्द्रा किकको हवाई उद्धार गरिएको हो । यस्तै २०७६ चैत २३ गते कमलबजार नगरपालिका वडा नम्बर ५ का बेलादेवी भण्डारी, २०७७ वैशाख २७ गते रामारोशन गाउँपालिका वडा नम्बर ६ का देउमा साउदको हवाई उद्धार गरिएको कार्यालयले जनाएको छ ।

यस्तै २०७७ ज्येष्ठ ३ गते तुर्माखाँद गाउँपालिका ४ का तुलसी वड, २०७७ असार १० गते तुर्माखाँद ३ का मनीषा उखेडा, २०७७ असार २९ गते पञ्चदेवल विनायक नगरपालिका ८ का रमिता विक, २०७७ भदौ ३ गते रामारोशन गाउँपालिका ७ का सुरा भण्डारी, २०७७ असोज ३० गते पञ्चदेवल विनायक नगरपालिका ८ का कोपिला विक र २०७७ चैत्र ११ गते तुर्माखाँद गाउँपालिका ५ का चन्द्रा शाहीको हवाई उद्धार गरिएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्धबहादुर मल्ले जानकारी दिए । यस्तै २०७८ भदौ ६ गते आइतबार एकै दिन दुई गर्भवतीको उद्धार गरिएको छ । साँफेबगर नगरपालिकाका २४ वर्षीया महिला र चौरपाटी गाउँपालिका ५ का २६ वर्षीया गर्भवतीको हवाई उद्धार गरिएको छ ।

निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम लागू भएपछि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुले अकालमै ज्यान गुमाउनु नपरेको अछामका प्रजिअ मल्लको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *