दार्चुला बाढी/पहिरो : मृतकको संख्या तीन पुग्यो, दुई बेपत्ता
धनगढी । दार्चुलामा बाढी/पहिरोमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । जिल्लाका विभिन्न भेगमा आएको बाढी/पहिरोका कारण तीन जनाको मृत्यु भएको हो भने दुई जना बेपत्ता भएका हुन् ।
आइतबार राति आएको बाढिपहिरोमा परि दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पहिरोले घर पुरिदा दुहु गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमति कौशा महरको मृत्यु भएको छ । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले उनीहरू पुरिएर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले बताए ।
यस्तै सोही गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ । स्थानीय कालागाड खोलामा आएको बाढीले डडाललाई घरसहित बगाएको हो । विभिन्न ठाउँमा आएको बाढीपहिरोले घरजग्गासहित पूल जलविद्युत, पानी घट्ट र पशुचौपापायामा समेत क्षति पुर्याएको छ । स्थानीयका अनुसार पाँचवटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको छ ।
त्यस्तै वडा नम्बर ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएका हुन् । निजाङगाड खोलाले दार्चुला–तिंकर सडक मोटरेबल पुल, दुइटा झोलुंगे पुल बगाएको छ । यो क्षेत्रम रहेका आधार्दजन घर तथा पसलहरु बगाएको छ ।
दुहुँ ३ को श्रीवगडमा निजाङगाडले पूर्ण बहादुर बम, नरेन्द्र बहादुर बम, दिपक बम, रणबहादुर बम धिरेन्द्र बम, शेरबहादुर बमको घर बगाएको छ । यस्तै महाकाली नगरपालिका १ को श्रीबगडमा देवबहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जित बहादुर बमको होटल तथा पसल बगाएको छ ।
यस्तै खोला नजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोष्ट भवनको आधा भाग बगाएको छ । अहिले घट्नास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीयहरु पुगेका छन् ।
निजाङगाड खोलाले खानेपानीको मुहान र पाइप बगाएपछि श्रीवगड क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । वानाला खानेपानी योजनाबाट महाकाली नगरपालिका १, श्रीवगड र दुहुँ गाउँपालिका ३ श्रीवगडमा खानेपानी ल्याइएको थियो । महाकाली नगरपालिकाको श्रीवगडमा ४० परिवारको बसोबास छ भने दुहुँको श्रीवगडमा १५ परिवार बस्दै आएका छन् ।