तुइन प्रकरणबारे छानबिन समितिले बुझायो प्रतिवेदन
काठमाडौँ । दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । सह-सचिव जनार्दन गौतम नेतृत्वको समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई छानबिन प्रतिवेदन बुझाएको हो ।
दार्चुलाको व्यास गाउँपालिका-२ मा पर्ने महाकाली नदी तुइनबाट तर्ने क्रममा नदीमा खस्दा व्यास गाउँपालिका-२ का धामी बेपत्ता भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । स्थानीय बासिन्दा, जनप्रतिनिधि, प्रत्यक्षदर्शीलगायतले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन खुस्काएपछि जयसिंह नदीमा खसेको दाबी गर्दै आएका छन् ।
समितिले स्थलगत अनुगमन, पीडित परिवारसँग भेटघाट र प्रत्यक्षदर्शीसँग कुरा गरेर घटना छानबिन गरी प्रतिवेदन तयार पारेको जनाएको छ ।
समितिमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिए ।
छानबिन समितिले प्रतिवेदन नबुझाएकोमा सरकारको आलोचना हुँदै आएको थियो ।