चुनावसम्म तालमेल, त्यसपछि ध्रुवीकरण : बाबुराम

पोखरा । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी चुनावपछि समाजवादी विचारधारा बोकेका पार्टीहरूबीच एकीकरण हुनसक्ने संकेत गरेका छन् । उनले चुनावसम्म तालमेल गरेर त्यसपछि ध्रुवीकरण गर्ने प्रस्ताव गरेका हुन् ।

बुधबार पोखरामा पार्टी कार्यकर्तालाई सम्बोधनपछि मकालुखबरसँग छोटो कुराकानी गर्दै उनले विचार र बहसका आधारमा एकीकरणको संकेत गरेका हुन् । ‘हिजोको पुँजीवाद र साम्यवाद होइन‚ नयाँ विकसित समाजवादी विचारको आधारमा नयाँ ध्रवीकरण आवश्यक छ । तर‚ अहिले त होइन,’ उनले भने, ‘अहिले हामी तालमेलमै जान्छौँ । ५ दल चुनावसम्म यसरी नै जान्छौँ । त्यसपछि विचार मिल्ने शक्तिहरूसँग छलफल गरेर समाजवादी विचारको आधारमा मिल्न सकिन्छ । त्यस्तो शक्ति बनाऔँ भनेको छु ।’

उनले पार्टीको आन्तरिक किचलोका कारण सरकार विस्तारमा ढिलो भइरहेको बताए । ‘माधवजीको पार्टी र जसपाको वैधानिकताले पनि ढिलो भयो । अध्यादेशमार्फत पार्टीहरूलाई वैधानिकता प्राप्त भएको छ,’ उनले भने, ‘यसको निरुपण अझै टुंगिएको छैन । भित्री कुरा त्यही हो । बाहिरी कुरा हामी व्यस्त भएर हो ।’

भट्टराईले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति अब अनिवार्य भएको भन्दै सोहीअनुसार तयार रहन कार्यकर्तालाई निर्देशन दिए । ‘राजपासँग सहमति नभएर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दालाई थाँती राखेका थियौँ । पार्टीले वैज्ञानिक ढंगले वैधता प्राप्त गरेको छ । त्यसका विरोधी महन्थ ठाकुर र राजेन्द्र महतोहरू बाहिरिएका छन्,’ उनले थपे, ‘अब हामी यो प्रणालीमा जान्छौँ ।

संसदलाई पूर्ण समानुपातिक बनाउने र प्रधानमन्त्री वा राष्ट्रपति प्रत्यक्ष निर्वाचितमा लगियो भने शासकीय स्वरुप ठीक हुन्छ ।’ उनले पार्टीलाई रुढीवादको विरुद्ध उभ्याउन आग्रह गरेका छन् । पार्टीको नीति र कार्यक्रम संघीयता, सुशासन र समृद्धीसँग जोडेर लैजाने उनको भनाइ छ ।

भट्टराईले समृद्धि शब्दलाई नेपालका नेताहरूले गलत व्याख्या गरेर यसप्रति नकारात्मक भाव पैदा भएको बताए । ‘म प्रधानमन्त्री भएकै बेला समृद्धि शब्द प्रयोग गरेको थिएँ । केपी ओलीले त्यसलाई हाईज्याक गरेर हावादारी कुरा गर्न थाले,’ उनी भन्छन्, ‘भ्यू टावर, धरहरा बनाउने, पानी जहाज ल्याउने कुरालाई समृद्धि भनिदिनुभयो । यसले समृद्धिसँग जनता वाक्कदिक्क भएका छन् ।’ उनले वास्तविक समृद्धिबारे जनतालाई बुझाएर राजनीतिक प्रणालीको विकास गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *