सुदूरपश्चिममा अब माओवादी केन्द्र ठूलो दल !

धनगढी । नेकपा एमाले विभाजन भएपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू पार्टी रोजिरहेका छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोज्ने सांसद तथा जनप्रतिनिधिहरूले धमाधम सनाखत गरिरहेका छन् ।

निर्वाचन आयोगले तोकेको समयसीमाअनुसार नयाँ पार्टी रोज्नेहरुका लागि सनाखत गर्ने समय भदौ २२ गतेसम्म जारी रहनेछ ।

सुदूरपश्चिममा पनि अहिले यो क्रम जारी छ । प्रदेश सांसदहरूको हकमा नेकपामा एमालेबाट अहिलेसम्म १० जना सांसदले एकीकृत समाजवादी पार्टी सनाखत गरेका छन् । यसअघि नयाँ पार्टीमा १४ जनाले सनाखत गर्ने बताइए पनि गएको मंगलबार १० जनाले मात्रै सनाखत गरे ।

आवश्यक कागजात नपुगेका कारण अन्य चार जनाले मंगलबार सनाखत गर्न नसकेको र थप अन्य सांसद पनि थपिने एकीकृत समाजवादीकी केन्द्रीय सदस्य पूर्णा जोशीले बताएकी थिइन् । उनले बुधबार नै चार जनाले सनाखत गर्ने दाबी गरेकी थिइन् । तर‚ बिहीबारसम्म आइपुग्दा थप कुनैपनि सांसदले नयाँ पार्टीमा सनाखत गरेका छैनन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहेकी जोशीले भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज र सांसद तारालामा तामाङले बुधबार सनाखत गर्ने र यसअघि ओली पक्षमा रहेका केही सांसदहरुसँग पनि छलफल चलिरहेको बताएकी थिइन् । यीसहित चार जना सांसदले एकीकृत समाजवादीमा सनाखत गर्ने उनको दाबी थियो ।

तर उनले नाम लिएका तीन जनामध्ये अर्चना गहतराजले बिहीबार आफू एमालेमै रहेको बताएकी छन् । यसअघि ओली पक्षमा रहेका सांसदहरूले पनि आफूहरू एमालेमै रहेको बताइसकेका छन् । बाँकी दुई जना सोडारी र तामाङ पनि सनाखतमा आएका छैनन् ।

यद्यपि उनीहरूले नयाँ पार्टीमै सनाखत गर्ने दाबी गरिरहेका छन् । गहतराजले एमालेमै रहेको घोषणा गरेको बेला सोडारी र तामाङ नयाँ पार्टीमा आएपनि एकीकृत समाजवादीमा सांसदको संख्या १२ मात्रै पुग्नेछ ।

सुदूरपश्चिम प्रदेशसभामा यसअघि सभामुखबाहेक एमालेका २४ जना सांसद थिए । अब १२ जना नयाँ पार्टीमा गएको अवस्थामा एमाले सांसदको संख्या पनि १२ पुग्नेछ । एमाले उपाध्यक्ष भीम रावल एमालेमै रहने भएपछि यसअघि नेपाल पक्षमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, सांसद हर्क कुँवर, प्रकाश रावल र अर्चना गहतराज र कृष्णराज सुवेदी एमालेमै रहेका छन् । यसअघि ओली पक्षमा सात जनामात्रै खुलेका थिए ।

प्रदेशसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदको संख्या पनि १२ नै छ । तर‚ नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने सांसदको संख्या भने १३ छ । यो अंकगणितमा सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्नेछ ।

यदि सोडारी र तामाङ पनि एमालेमै रहने अवस्था आयो भने एमाले सांसदको संख्या १४ पुग्ने छ र ठूलो दल बन्नेछ । तर उनीहरु एमालेमै रहने सम्भावना न्युन रहेको बताइएको एकीकृत समाजबादी स्रोत बताउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *