सरकारले जयसिंह बेपत्ता भएको घटना ढाकछोप गरेको भन्दै एमालेको आपत्ति
काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमालेले दार्चुलाका जयसिंह धामीले महाकाली नदी तर्ने क्रममा नदीमा खसेर बेपत्ता भएको घटनालाई सरकारले थामथुम पार्ने प्रयास गरेको आरोप लगाएको छ ।
महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर जयसिंह बेपत्ता भएको एक महिना भन्दा धेरै समय भएको भन्दै एमालेले घटना ढाकछोप गर्न सरकार तल्लिन रहेकाे भन्दै आपत्ति जनाएको हो ।
बिहीबार विज्ञप्ति निकाल्दै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एक महिना लगाएर छानविन समितिले बुझाएको प्रतिवेदन अस्पष्ट रहेको र सरकारले महाकाली नदीमा धामी बेपत्ता भएको घटनालाई थामथुम पार्ने प्रयासमा लागेको पनि दाबी गरेका छन् ।
आफ्ना नागरिक बेपत्ता पारिएको संवेदनशील घटनाबारे भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्नुले सरकारले घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एमालेले घटनाको तत्काल सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग पनि गरेको छ ।