बाढी पहिराे बढेपछि मुख्यमन्त्रीले बाेलाए आकस्मिक बैठक

पाेखरा । अहिले गण्डकीमा अविरल वर्षा छ । सबैजसाे जिल्लामा पानी परिरहेकाे छ । ठाउँठाउँमा जनधनकाे क्षतिका समाचार आइरहेका छन् । बिहीबार कास्कीमा ५ जनाकाे मृत्यु भयाे भने १ जना बेपत्ता छन् । शुक्रबार पर्वतमा ६ जनाकाे मृत्यु र २ बेपत्ता छन् । बाढी र पहिराेले घरहरू जाेखिममा छन् ।

बाढी पहिराेकाे क्षति बढेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आकस्मिक बैठक डाकेर राहत र उद्धारमा खट्न मातहतका निकायलाई निर्देशन दिए ।

बाढी पहिरोले सबैतिर आक्रान्त पारेपछि प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको शुक्रबार आकस्मिक बैठक बसेकाे हाे । विपद् व्यवस्थापनको काम ३ तहकै सरकारको समन्वयमा हुने भएकाले पीडितले महसुस गर्ने गरी काम गर्न उनले आग्रह गरे ।

प्रदेश सरकारले विपद्‌मा निधन भएका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ, बेपत्ताका परिवारलाई पनि १ लाख रुपैयाँ दिने गरी कार्यविधि बनाएको छ । यसैगरी खाद्यान्नका लागि १५ हजार, अस्थायी आवासका लागि २५ हजार र उपचार खर्च ५० हजार रुपैयाँसम्म प्रदेशले व्यहोर्छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै राहत वितरणको काम हुने र त्यसका लागि रकम समेत गइसकेको छ ।

जिल्ला प्रशासनबाट राहत रकम वितरणको रेकर्ड पनि नियमित रुपमा लिन उनले प्रमुख सचिवलाई निर्देशन दिए । पहिरोले सडकमा क्षति पुर्‍याएर यातायात बन्द भएको ठाउँमा तत्काल डोजर पठाएर यातायात सुचारु गराउन मुख्यमन्त्रीले भौतिक पुर्वाधार सचिवलाई निर्देशन दिएका छन् ।

असारयता मात्रै बाढी पहिरोमा गण्डकीमा २७ जनाले ज्यान गुमाएका छन् भने ८ जना बेपत्ता भएका छन् ।

बैठकमा प्रदेश वन तथा वातावरण मन्त्री दीपक थापाले जताततैबाट दुःख घटनाका समाचार आइरहेको भन्दै तत्काल उद्धार र राहतमै आफूहरू केन्द्रित रहेको बताए । बैठकमा प्रदेश सरकारका सचिवहरू, सुरक्षा निकाय प्रमुखहरू लगायत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *