५६ जिल्लामा कांग्रेसको वडा अधिवेशन सुरु, २१ मा अनिश्चित

काठमाडौँ । मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार शुक्रबार ५६ जिल्लामा वडा तहको नेतृत्व चयनको प्रक्रिया सुरु भएको हो ।

त्यसमध्ये ४१ जिल्लामा वडा अधिवेशन सकिएको छ । वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छ । समितिका सदस्य गोपालकृष्ण घिमिरेले ४१ जिल्लाका सबै वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भइसकेको जानकारी दिए । ‘हामीले ५६ जिल्लामा अधिवेशनको तयारी गरेका थियौँ । ती जिल्लामा निर्वाचन अधिकृतहरु खटिएर मतदान अधिकृतहरु समेत परिचालन भएका छन् । तर, सम्बन्धित वडामा पुग्न ढिला भएको र अन्य विभिन्न प्राविधिक कारणवश १५ वटा जिल्लामा अधिवेशन भइसकेको छैन,’ घिमिरे मकालुखबरसँग भने, ‘ती जिल्लामध्ये अधिकांशमा त अधिवेशनको प्रक्रिया नै सुरु भइसकेकाले केही दिनभित्रै अधिवेशन पूरा हुनेछ ।’

उनका अनुसार शुक्रबार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, तेह्रथुम, ओखलढुंगा, उदयपुर, दोलखा, सिन्धुलाी, मकवानपुर, भक्तपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, बाग्लुङ, मनाङ, पर्वत, म्याग्दी, स्याङजा, पुर्वी नवलपरासी, पश्चिम नवलपरासी, ललितपुर, रुपन्देही, अर्घाखाची, गुल्मी, जुम्ला, हुम्ला, जाजरकोट, दैलेख, बझाङ, डोटी, कालिकोट, अछाम, कञ्चनपुर, झापा, पुर्वी रुकुम र पश्चिम रुकुममा वडा अधिवेशन भएको छ ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको सुर्यविनायक नगरपालिका-५ र मध्यपुरथिमि नगरपालिका-४ मा पुगेर वडा अधिवेशनको उद्घाटन गरे । देउवाले त्यहीबाट पार्टीको १४ औँ महाधिवेशनलाई एकतावद्ध भएर सम्पन्न गर्न आव्हान गरे । ‘पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँछ । कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिवद्ध छ,’ देउवाले भने ‘त्यहीकारण हामी कोभिड-१९ को महामारीका बीच पनि महाधिवेशन गर्दैछौँ । हाम्रो अगाडि आमनिर्वाचन पनि छ । आगामी निर्वाचनमा पहिलो पार्टी बनाउनु छ । यो महाधिवेशनले गाउँ-गाउँमा सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई त्यो सन्देश दिन सक्नुपर्छ ।’

वडा अधिवेशनका लागि कांग्रेसका नेताहरु गाउँ-गाउँमा पुगेका छन् । केन्द्रीय स्तरकै नेताहरु पनि वडा वडामा पुगेपछि कांग्रेस महाधिवेशनको माहोल तातेको छ । गाउँ गाउँसम्म कांग्रेसका नेता कार्यकर्ता सक्रिय बनेका छन् ।

कांग्रेसले अहिलेसम्म ५६ जिल्लाको क्रियाशील सदस्यको नामावलीमात्रै निर्वाचन समितिलाई दिएको छ । त्यहीकारण कारण ती जिल्लामा मात्रै शुक्रबारदेखि वडा अधिवेशन भएको हो । वडा अधिवेशनका मतदाता नै क्रियाशील सदस्य हुन् । त्यहीकारण क्रियाशील प्राप्त नभएका ठाउँमा शुक्रबार अधिवेशन गर्न नसकिएको निर्वाचन समितिले जनाएको छ । ‘अहिले सदस्यता प्राप्त भएको ठाउँमा अधिवेशनको प्रत्रिया अघि बढाइएको हो । अब जहिले सदस्यता प्राप्त हुन्छ, त्यहि दिन हामी निर्वाचनको प्रक्रिया अघि बढाउँछौ,’ समितिका सदस्य घिमिरेले भने, ‘हामीले सम्पूर्ण तयारी गरेर बसेका छौँ ।’

वडाबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरु पालिका, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरुको निर्वाचनमा मतदाता हुन्छन् । त्यसकारण वडा अधिवेशनमा केन्द्रीय नेताहरुकै चासो र चिन्ता छ । वडा अधिवेशनले न्यूनतम १५ जनादेखि अधिकृतम ७५ जनासम्म क्षेत्रीय प्रतिनिधिहरु निर्वाचित गर्नेछ । एक सय ५० जना क्रियाशील सदस्य रहेको जिल्लामा १५ जना क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् भने त्यसपछि प्रत्येक सयभन्दा बढी क्रियाशील सदस्यता बराबर थप १०-१० जना बढ्दै जाने कांग्रेसको वैधानिक व्यवस्था छ । तर, त्यो संख्या ७५ भन्दा माथि हुन पाउदैन । यसरी वडा अधिवेशनबाट देशभरका १६५ निर्वाचन क्षेत्रीय अधिवेशनका लागि ४५ हजारभन्दा धेरै क्षेत्रीय अधिवेशन प्रतिनिधि चुनिनेछन् ।

२१ जिल्लामा क्रियाशीलकै विवाद
कांग्रेसले २१ जिल्लामा क्रियाशील सदस्यताको विवाद समाधान गर्न सकेको छैन । ती जिल्लामा अधिवेशनको प्रक्रिया समेत सुरु भएको छ । सदस्यताकै कारण ती जिल्लाको अधिवेशन अनिश्चित गरेको छ । काठमाडौँसहित २१ जिल्लाको क्रियाशील सदस्यताको टुंगो नलागेका कारण अधिवेशन रोकिएको हो ।

काग्रेसले प्रदेश नं. २ का कुनै पनि जिल्लाको क्रियाशील सदस्यको टुंगो लगाउन सकेको छैन । सो प्रदेशका आठ वटै जिल्लामा विवाद कायमै छ । क्रियाशील सदस्यको नामावली पनि सार्वजनिक भएको छैन । त्यस्तै, प्रदेश १ को मोरङ, बागमती प्रदेशका काठमाडौँ, काभ्रे, रसुवा र सिन्धुपाल्चोक, लुम्बिनी प्रदेशका बाँके र बर्दिया, कर्णाली प्रदेशका डोल्पा र सुर्खेत तथा सुदुरपश्चिम प्रदेशका बाजुरा, डडेल्धुरा र कैलालीका क्रियाशील सदस्यको विवाद टुंगो लगाउन सकेको छैन ।

क्रियाशीलकै कारण कांग्रेसले यसअघि पटक-पटक महाधिवेशन नै स्थगित गरेको थियो । यसपटक ल्याएको कार्यतालिका चौथो हो । जसअनुसार काग्रेसले गाउँ-नगरपालिका अधिवेशन भदौ २७ गते गर्ने कार्यतालिका छ । वडा अधिवेशन २६ गतेसम्म पनि सम्पन्न गर्न मिल्ने भएकाले त्यहीअनुसार सबै वडाको अधिवेशन गर्ने गरी प्रक्रिया अघि बढाइएको कांग्रेसले जनाएको छ ।

त्यस्तै, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ । त्यस्तै, आगामी मंसिर ९-१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *