चर्खाजस्तो जीवन 

काठमाडौँ । उनलाई गुनासो छ- धेरै समाजका ती व्यक्तिसँग‚ जसले अपाङ्गता जीवनको एक अवस्था हो भन्ने कुरा बुझेकै छैनन्‚ अनि अलिकति बुझेर पनि बुझ पचाउनेहरूसँग र अलिअलि आफैँसँग पनि ।

रहर त उनलाई पनि अरूजस्तै हिँड्ने/डुल्ने, खेल्ने थियो‚ तर परिस्थिति काबुबाहिरको आइदियो । त्यो रहर पूरा भएन । तर एउटा रहर पूरा नहुँदैमा अरु रहर पनि पूरा नहुने त कहाँ हुन्छ र ?

दुःख र संघर्षदेखि कत्ति पनि विचलित नभई अगाडि बढेकी उनीसँग २६ वर्ष पार गर्दै गर्दा जीवनमा खाएका हन्डर ठक्करहरूको चाङ छ । ‘आजभोलि त दुःखहरूसँग डरै लाग्दैन‚ बरु जीवनमा अप्ठ्यारो आउँदा झन् बलियो भइने रहेछ भन्ने पाठ पो सिकियो त‚’ उनी भन्छिन् ।

उनलाई गुनासो छ- धेरै समाजका ती व्यक्तिसँग‚ जसले अपाङ्गता जीवनको एक अवस्था हो भन्ने कुरा बुझेकै छैनन्‚ अनि अलिकति बुझेर पनि बुझ पचाउनेहरूसँग र अलिअलि आफैँसँग पनि ।

२०५० सालमा स्याङ्जाको डडुवामा जेठी छोरीको रुपमा गीता भुसालको जन्म भयो । घरमा पहिलो सन्तान जन्मँदा सबै खुसी नै थिए । तर गीताका लागि भने ‘दुनियाँ बेग्लै छ’ भनेजस्तो भयो । उनलाई हिँडडुल गर्न गाह्रो हुन्थ्यो । भाइबहिनी खेलेको‚ हिँडेको देख्दा उनलाई पनि मन त लाग्थ्यो‚ तर मन भएर मात्रै कहाँ हुन्थ्यो र ? साथीसंगीहरू पढ्न गएको देख्दा उनलाई पनि रहर लाग्थ्यो‚ तर रहर र वास्तविकताको बिचमा ठुलो खाडल थियो ।

बुबा-आमा गाउँमा सामान्य खेती किसानी गर्थे । उनलाई दिनहुँ एक डेढ घण्टाको दूरीमा रहेको विद्यालय बोकेर लैजान सम्भव पनि थिएन ।

गीताको सात जनाको परिवार थियो । तर पनि उनी एक्लै थिइन् । १४ वर्ष जसोतसो बिताएपछि उनले सोचिन्- ‘अब पनि गाउँघरमै बसेर हुँदैन ।’ गाउँकै दाइ प्रेम भुसालको सहयोगमा उनी काठमाडौँ आइन् । तिलगङ्गामा रहेको  एक संस्थामा बस्न थालिन् । जहाँ‚ उनीजस्तै फरक रुपले सक्षम, वृद्धवृद्धा र अनाथहरू बस्थे ।

बिस्तारै उनलाई गाउँभन्दा रमाइलो र आत्मीय लाग्न थाल्यो त्यो संस्था । कारण‚ गाउँमा जस्तो उनी एक्लो हुनुपरेन । तर करिब ६ महिनापछि नै उनी त्यहाँबाट बाहिरिनुपर्ने भयो । बस्दै आएको संस्था नै नरहेपछि कहाँ जाने भन्ने तनाव थपियो । त्यहाँबाट बाहिरिएपछि उनी सिँढीमै बस्न थालिन् । सिँढीको बास‚ खानलाई न त उनीसँग पैसा नै थियो । ‘संस्थाबाट निस्कँदा गोजीमा जम्मा १५ रुपैयाँ थियो । कहाँ जाने‚ के गर्ने भन्ने कुनै मेसो नै थिएन‚’ उनले सुनाइन् ।

सात दिन जति एउटा घरको सिँढीमै बिताएको उनले बताइन् । त्यसपछि भने उनले त्यहाँ नजिकै बस्ने एकजना दिदीलाई आफ्नो लागि कुनै संस्था खोजिदिन हारगुहार गरिन् ।

तिनै दिदीको सहयोगमा जोरपाटीमा एउटा संस्था भेटियो । तर संस्थामा उनलाई राख्न आनाकानी गरियो । ‘मलाई स्याहारसुसार पनि गर्नुपर्ने भएकाले उहाँहरूले शुरुमा आनाकानी गर्नुभयो‚ तर धेरै पटकको बिन्तीपछि राख्न राजी हुनुभयो‚’ उनले भनिन् । दिदीकै सहयोगमा उनी संस्थासम्म पुगिन् । त्यहाँ बस्दाबस्दै ६ महिना ट्युसनसमेत पढिन् ।

गाह्रो छ नि ! धेरै नै गाह्रो छ, तर हिम्मत हार्ने कुरा भएन, कसैको बोझ बन्न पनि भएन, जे सकिन्छ त्यही गर्ने हो । अप्ठ्यारो छ भनेर मात्र बस्नुभन्दा सकेको गर्न खोज्नु ठिक हो भनेर म यसैमा रमाइरहेकी छु ।

उनी खगेन्द्र मावि जोरपाटीमा भर्ना भइन् । उनलाई विद्यालयका साथीहरूले धेरै सहयोग गरेको उनी सम्झन्छिन् । साथीहरूले गाडीबाट कक्षासम्म जान सहयोग गर्थे । ‘उनीहरूकै साथ र हौसलाका कारण मलाई पढ्ने र अघि बढ्ने उत्साह बढ्थ्यो‚’ गीताले भनिन् ।

चार कक्षाको पहिलो त्रैमासिक परीक्षामा गीता फेल भइन्, दोस्रोमा पनि एउटा विषय लाग्यो‚ तर फाइनल परीक्षामा भने उनी पहिलो भइन् । उत्साह अझ बढ्यो उनले २०७४ सालमा एसएलसी पास गरिन् ।

एसएलसी पास भएको खुसी त थियो‚ तर सँगै थियो अबको बाटोको तनाव । उनी बस्दै आएको संस्थामा १० कक्षासम्म मात्र पढ्न र बस्न पाइन्थ्यो । अर्को संस्था खोज्न र अध्ययन अघि बढाउन नसकेपछि उनी त्यहाँको बसाइलाई बिट मार्दै जन्मघर स्याङ्जा फर्किइन् ।

तर घरमा बसेर अध्ययन अघि बढाउन सकिने अवस्थै थिएन । त्यसको १ महिनापछि उनले फेरि काठमाडौँ फर्किने निर्णय गरिन् । बा-आमाले नजाऊ भने । तर घरमै बसेर आफ्नो सपना पूरा हुँदैन भन्ने ठानेर उनी काठमाडौँ  फर्किइन् । तर फेरि फसाद उही कुराको भयो, कहाँ जाने, कहाँ बस्ने, के गर्ने ?

संस्था खोज्ने क्रममा उनी अपाङ्ग सेवा केन्द्रमा पुगिन् । तारकेश्वर नगरपालिकाको पैयाटारमा रहेको केन्द्रमा उनलाई सीप सिक्ने अवसर मिल्यो ।  उनले खेलौना, गुलाबका फूलहरू बनाउन सिकिन् । केही दिनमा बनाएर बेच्न पनि जान थालिन् । पहिले उनी सुन्धारा रत्नपार्कतिर सामान बेच्न पुग्थिन् । अहिले स्वयम्भूमा छिन् ।

आजभोलि उनको दिनचर्या यसरी नै बितिरहेको छ । उनी सहयोगी साथीसँगै सामान बेच्न जान्छिन् । एसएलसीपछिको पढाइ रोकिएको ३ वर्ष हुन लाग्यो । तर थप पढ्ने धोको मरेको छैन । सहयोगी हातहरू पाइन्छन् कि भन्ने आशा छ मनभरि ।

तर, अहिलेसम्मको जीवन भोगाइका क्रममा अपाङ्गता भएका व्यक्तिहरूले बाँच्नका लागि घर परिवारदेखि समाजसम्म गर्नुपर्ने संघर्ष भने कम्ती सकसपूर्ण नभएको उनले ठहर गरेकी छन् । ‘गाह्रो छ नि ! धेरै नै गाह्रो छ, तर हिम्मत हार्ने कुरा भएन, कसैको बोझ बन्न पनि भएन, जे सकिन्छ त्यही गर्ने हो । अप्ठ्यारो छ भनेर मात्र बस्नुभन्दा सकेको गर्न खोज्नु ठिक हो भनेर म यसैमा रमाइरहेकी छु ।’

आफूमा अपाङ्गता भएर पनि कसैको भर पर्न नपरेकोमा उनी गर्व गर्छिन् । ‘धेरै मानिसको दृष्टिकोणमा हामी असक्षम भए पनि जति उनीहरूले सोच्छन्‚ त्यति पनि छैनौँ । हामी आफ्ना लागि आफैँ केही न केही गरिरहेका छौँ‚’ उनले सुनाइन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *