बा पुराण

संसारमा थोरै कुराहरु छन्‚ जो संसारका सबै प्राणीको भाग्यमा लेखिएका हुन्छन् । त्यस्तै हरेकका भाग्यमा लेखिएकामध्ये एक सर्वाधिक महत्वपूर्ण कुराको नाम हो ‘बा’ । पिता, पिताश्री, जनक, बा, बुवा, बाबा, ड्याड, ड्याडी, पापा, बाउ, सुड्डो यी सबै प्राचीन कालदेखि उत्तराधुनिक कालसम्मका बालाई चिनाउन वा बोलाउन प्रयोग गरिँदै आएका शब्द हुन् ।

चराचर जगतमा अस्तित्वमा रहेका हरेक प्राणीका बा हुन्छन् । विषयप्रवेशमा नै अरु प्राणीहरूका बालाई थाती राखेर मान्छेहरूका बाको चर्चा शुरु गरौँ । पौराणिक कालदेखि नै बाका विषयमा शास्त्रहरूले अनेक चर्चा गरेका छन् । मानिसको हकमा केवल सन्तान उत्पादन गर्नुमात्र बा हुनु होइन । बा हुनका लागि सन्तानका हजारौँ समस्या आफ्नो थाप्लोमा थाप्न सक्ने साहस हुनुपर्दछ । ब्रह्मवैवर्त पुराणमा बाका सात प्रकार उल्लेख गरिएका छन् ।

‘कन्यादातान्नदाता च ज्ञानदाताभयप्रदः ।
जन्मदो मन्त्रदो ज्येष्ठभ्राता च पितरः स्मृताः ।।’

(कन्यादान दिने, अन्नदान दिने, ज्ञानदान दिने, अभयदान दिने, जन्म दिने, मन्त्र दिने र जेठा दाजु यी सात पिता (बा) कहिन्छन् ।)

बाका अगाडि हजारौँ चुनौतीले जरा गाडेर बसेका हुन्छन् । त्यसैले बा हुनु निकै कठिन कार्य हो‚ तर पुरुषहरू जस्तोसुकै कठिन चुनौतीको पनि सामना गर्न रुचाउँछन् । 

बाका अगाडि हजारौँ चुनौतीले जरा गाडेर बसेका हुन्छन् । त्यसैले बा हुनु निकै कठिन कार्य हो‚ तर पुरुषहरू जस्तोसुकै कठिन चुनौतीको पनि सामना गर्न रुचाउँछन् । शायद आफ्नै रहरले बा भएकाले होला । बाहरू कहिल्यै सन्तानप्रतिको जिम्मेवारीले थिचिएर निसास्सिँदा पनि ऐय्यासमेत भन्दैनन् ।

समयले बाहरूलाई कहिल्यै पनि ‘तँ बा होस्’ भनिदिएन । सन्तान जन्मिनासाथ समयले बालाई तँ घोडा होस् भनिदियो । बाले सन्तानलाई पिठ्यूमा राखेर दौडिनुभयो । बाका गोडा कहिल्यै थाकेनन्, पिठ्यू कहिल्यै गलेन । सन्तानका लात्तीको डसाइ, कोर्राको चोट र लगामको झट्काले बालाई कहिल्यै विचलित बनाएन । सन्तानले जुन बाटो हेर्न रहर गरे‚ बा त्यही बाटोमा सन्तान बोकेर एकोहोरो दौडनुभयो ।

सन्तानले खुट्टा टेक्न थालेपछि समयले बालाई ‘तँ सन्तानले टेक्ने हाँगो र समाउने लठ्ठी होस्’ भनिदियो । बाले नाइँ/नास्ति गर्नुभएन । सन्तानलाई ठेस लाग्ला कि ? भनेर बा सधैँ सचेत रहनुभयो । सन्तानका हात बा रुपी लठ्ठी समातेको छु भनेर ढुक्क भए‚ तर सन्तानले लठ्ठी समातेका थिएनन्, लठ्ठी अर्थात् बाले सन्तानका हात समाउनुभएको थियो ।

सन्तानका आँखामा ज्ञानको सागर भरिदिने बेला आयो । समयले बालाई ‘तँ महाज्ञानी होस्’ भनिदियो । बा सूर्यजस्तै सर्वज्ञ बनिदिनुभयो‚ र आफ्नो तेजले सम्पूर्ण ज्ञानको सागर सोसेर सन्तानका आँखामा भरिदिनुभयो । जब सन्तान जान्ने भए‚ तब उनीहरुले बालाई जान्ने मान्छेको लाइनमा कहिल्यै उभ्याउन आवश्यक ठानेनन्‚ तर बाको अनुहारमा पराजय र निराशा कत्ति पनि देखिएन । सन्तानसँग हार्ने खेलमा बाले सजिलै संसारलाई जितिदिनुभयो ।

सन्तानहरूले उड्ने रहर गरे, बाले पँखेटा हालिदिनुभयो । उडान भर्न खोज्दा सन्तान डराए, बाले सन्तानहरूलाई चङ्गा बनाइदिनुभयो र आँफू लट्टाई लिएर सन्तानको उडान सुरक्षित बनाउन लाग्नुभयो । सन्तानहरूले माथि आकाशमा कावा खाएको हेर्दै बा रमाउँदै हुनुहुन्थ्यो‚ त्यसैबेला समयले बालाई ‘तँ गधा होस्’ भनिदियो । बा नबोलिकन सन्तानका सपनाको भारी बोक्न कयौँ कोशको यात्रामा लाग्नुभयो । भारीको बोझले बा कहिल्यै गल्नुभएन । बाको अनुहारमा थकानको अनुभूति कहिल्यै देखिएन । बाका खाली पैताला कहिल्यै बिझाएनन् । यहि मौकामा बाले भोक, प्यास, निद्रा, थकान, अहंकार, अपमान, सारा कुरालाई पराजयको स्वाद चखाइदिनुभयो‚ तर बा कतै हार्नुभएन ।

बा नबोलिकन सन्तानका सपनाको भारी बोक्न कयौँ कोशको यात्रामा लाग्नुभयो । भारीको बोझले बा कहिल्यै गल्नुभएन । बाको अनुहारमा थकानको अनुभूति कहिल्यै देखिएन । बाका खाली पैताला कहिल्यै बिझाएनन् । यहि मौकामा बाले भोक, प्यास, निद्रा, थकान, अहंकार, अपमान, सारा कुरालाई पराजयको स्वाद चखाइदिनुभयो‚ तर बा कतै हार्नुभएन ।

बा सन्तानका रहरहरुको गह्रुङ्गो बोझलाई पिठ्यूमा सहजै बोकेर आफ्नै सूरमा जिन्दगीका भाकाहरू गुनगुनाउँदै पाइला चाल्दै हुनुहुन्थ्यो‚ बाटैमा समयसँग जम्काभेट भयो । बाले जदौ गर्नुभयो, समयले बाको नाडी समाउँदै ‘तिमी महादानी हौ’ भनिदियो । बा घर आएर आफ्ना मुटुका शिरा र धमनीलाई ज्वाईँ र बुहारीको जिम्मा लगाइदिनुभयो । बाले आफ्नो प्राण दान दिँदा पनि बाको अनुहारको तेज बीसको उन्नाइससमेत भएन ।

यसपाली भने समयले सन्तानका कानमा आएर खुसुक्क केही भन्दैथियो । समयले ‘पितापुत्रौ नगच्छेताम्’ भनिदिएछ कि कुन्नी ? तर यसपछि भने सन्तानहरूलाई उचाईसँग डर लाग्न छाड्यो, पँखेटा पनि परिपक्व हुनथाले । अब उनीहरूलाई लट्टाइको धागो बोझ लाग्न थाल्यो, बाको माया बन्धन लाग्न थाल्यो र धागो चुँडाएर बाका नजरदेखि टाढा, धेरै टाढा पुगे । बाले कुनै प्रतिक्रिया जनाउनुभएन । यसैबेला टुप्लुक्क आइपुगेर समयले तँ खोलो तरिसकेपछिको ‘बेकामको लौरी होस्’ भनिदियो ।

बाले नबोलीकन सन्तानका हँसमुख फोटा भित्ताभरी लगाउनुभयो र उनीहरुको हँसिलो अनुहार हेरेर खिया लागिसकेका दाँत देखाएर मुसुक्क मुस्कुराउनुभयो । बाको हाँसो सन्तानका तस्वीरहरुलाई मन परेन कि कुन्नी ? कुनै प्रतिक्रिया जनाएनन् । जब घरमा केही मिठो खानेकुरा पाक्थ्यो‚ बाको पहिलो नजर सन्तानका तस्बीरमा पर्थ्यो । जतिसुकै मीठो कुरा नि सन्तानको भोक सम्झेर बाका घाँटीमा तगारो बनेर अड्किन्थ्यो । सन्तानहरू कहिल्यै भोकाएनन्, सन्तानको यादले बाको पेट कहिल्यै भरिएन‚ तर बालाई भोकाएको अनुभव पनि कहिल्यै भएन ।

सन्तान फर्केलान् कि ? भन्ने आशले दिन घमाउँदा पनि, काग कराउँदा पनि आफ्नै घरमा पुगेर टुंगिएको बाटोको टाढा क्षितिजसम्म नजर लगाउँदा लगाउँदै पूरै दाँतहरू आफ्नो बाटो लागे‚ अनि बाका पोटिला गाला खप्लक्क भित्र पसे । कहिल्यै हरेस नखाएका बाको अनुहारमा निराशाको चाउरीपना देखियो । एकदिन सन्तानहरू उड्दै गएको क्षितिजतिरै नियाल्दै गर्दा बाले एउटा धमिलो वस्तु आफूतिरै आइरहेको देख्नुभयो‚ तर ठम्याउन सक्नुभएन । कतै बाको सम्झनाले सन्तानहरू त फर्किएनन् ? बाको मनमा आशाको त्यान्द्रो जाग्न थाल्यो ।

समयले बासँग अनेक पटक अनेक प्रकारका परीक्षा लिइरह्यो,समयका परीक्षामा सामेल हुन बा कहिल्यै हिच्किचाउनुभएन । बा समयले लिएका हरेक परीक्षामा सर्वोत्कृष्ट हुनुभयो तर पनि साँच्चै समयले बालाई कहिल्यै पनि तँ बा होस् भनेन ।

नजिकै आइसकेपछि पनि ठम्याउन नसकेर बाले आफ्ना धमिला आँखामा पावरवाला चस्मा लगाएर नियाल्नुभयो । पुष्ट चेहरामा कुटिल मुस्कान छर्दै उही समय बाका अघिल्तिर आइपुगेको रहेछ । यसपटक बालाई समयले अल्लि कठोर आवाज निकालेर तँ संसारकै सबैभन्दा निरीह प्राणी होस् भनेर गयो । यसपाली भने बालाई समयसँग धेरै कुरा भन्नुथियो, भन्नुमात्र थिएन समयलाई तँ स्वाँठ भनेर सन्तानलाई जस्तै गरी गाली गर्नुथियो‚ त्यसैले बा बोल्न खोज्नुभयो । तर अफसोस बाले धेरै ढिलो गर्नुभयो, बोल्न प्रयास गर्दा गर्दै पनि बाको वाक्य फुटेन । यही मौका छोपेर समय बाको आवाज नपुग्ने ठाउँतिर लम्किहाल्यो‚ तर समयले यसपाली पनि बालाई तँ बा होस् भनेन ।

सन्तानहरूले आमाको पेटलाई लात्ती हान्न शुरु गरेकै दिनदेखि समयले बालाई निरन्तर लात्ती हान्न शुरु गर्‍यो र हानिरह्यो । समयका पटक पटकका लात्ती प्रहारहरूमा ‘सहनू‚ सहनू‚ सहनै नसके पनि सहनू’ भन्ने मन्त्रलाई बाले कहिल्यै मिथ्या हुन दिनुभएन । समयले बासँग अनेक पटक अनेक प्रकारका परीक्षा लिइरह्यो,समयका परीक्षामा सामेल हुन बा कहिल्यै हिच्किचाउनुभएन ।

बा समयले लिएका हरेक परीक्षामा सर्वोत्कृष्ट हुनुभयो तर पनि साँच्चै समयले बालाई कहिल्यै पनि तँ बा होस् भनेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *