मन मिले चित्र, नमिले विचित्र

एकजना कलाकारलाई विश्वको सबैभन्दा सुन्दर चित्र बनाउने लहड चलेछ । यसैक्रममा उनले आफ्नो गुरुलाई सोधे- ‘संसारमा सबैभन्दा सुन्दर वस्तु के हो ?’ गुरुले जवाफ दिए- ‘श्रद्धा’‚ यसले धर्ममा आस्था बढाउँछ र प्रत्येक धर्ममा श्रद्धा उत्पन्न गराउँछ । यो जवाफले कलाकार सन्तुष्ट भएनन् ।

त्यसैले उनले एक नववधुसँग सोधे- संसारमा सर्वाधिक सुन्दर चीज के हो ? -‘प्रेम संसारको सुन्दर वस्तु हो । प्रेमले गर्दा नै निर्धन पनि समृद्धशाली हुन्छ । प्रेमले नै नुनिलो आँसुलाई गुलियोमा परिणत गरिदिन सक्छ । त्यसैले प्रेमजस्तो सुन्दर चीज संसारमा अरु केही छैन ।’ यो उत्तरले पनि कलाकारलाई सन्तोष दिएन ।

उनले एउटा सैनिकसँग सोधे । सैनिकले जवाफ दियो- ‘शान्ति नै संसारको सबैभन्दा सुन्दर वस्तु हो भने युद्ध संसारको सबैभन्दा कुरुप चीज हो ।’

आफूले पाएका जवाफहरूबाट कलाकारले तीनवटा सारांश निकाले- ‘श्रद्धा, प्रेम र शान्ति ।’ यिनै कुरा खेलाउँदै कलाकार आफ्नो घर गए । घरमा पुग्दा उनले देखे- आफ्ना सन्तान आमाका अगाडि अगाडि दौडिरहेका, आमा सन्तान भेट्टाउन पछ्याइरहेकी, जब उनले ती बच्चाहरू भेट्टाइन्‚ तब सन्तानसुख र ममताले उनको मन गदगद् भएर हाँसिरहेको थियो ।

हाम्रा नेताहरू किन असफल भए ? त्यसको सजिलो उत्तर हो- उनीहरुले आफ्नै परिवारमा अनुशासन कायम गर्न सकेनन् । एउटा सफल अभिभावकलाई प्रधानमन्त्रीको कुर्सीमा राखिदिने हो भने उसले कुशलतापूर्वक तोकिएको काम फत्ते गर्न सक्छ ।

कलाकारले विचार गरे, म जे खोज्न भौँतारिइरहेको थिएँ, त्यो त मेरो घरभित्रै रहेछ । मेरा सन्तानको आँखामा श्रद्धा रहेछ । पत्नीको आँखाबाट प्रेम बर्सिरहेछ । अनि त मेरो घर पो शान्तिको दिव्यभूमि रहेछ । कलाकार तुरुन्त काममा जुटे । उनले संसारको सर्वाधिक सुन्दर चित्र बनाए । जसको शीर्षक थियो- ‘घर ।’

हाम्रा नेताहरू किन असफल भए ? त्यसको सजिलो उत्तर हो- उनीहरुले आफ्नै परिवारमा अनुशासन कायम गर्न सकेनन् । एउटा सफल अभिभावकलाई प्रधानमन्त्रीको कुर्सीमा राखिदिने हो भने उसले कुशलतापूर्वक तोकिएको काम फत्ते गर्न सक्छ । सुशासन भनेको जनताको गुनासो कम हुनु हो । तीन करोड जनताको व्यवस्थापन र एउटा घरको अभिभावकीय जिम्मेवारी एउटै हो । सबैले आफ्नो ठाउँमा रहेर इमानका साथ काम गरिदियो भने गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र जे भन्नुस्‚ आफैँ फस्टाउँछ । यहाँ परिवारको व्यवस्थापन यसरी भयो कि घरमा घुर्क्याएका भरमा मन्त्री, राजदूत, मेयर, न्यायाधीशजस्ता पद पँजनी हुन थाल्यो । देशका ठूला मुखियाका घरमा चिठ्ठी लिएर जाने हलकारा, फूल गोड्ने माली, दूध ओसार्ने ग्वाला, घर बनाउने ठेकेदार, बेरोजगार सालो, खाडीबाट फर्किएर आएको ज्वाइँ लगायतलाई सेनामेना, गाडी घोडासहित सरकारको महत्वपूर्ण वेतनभोगी बनाइयो । योचाहिँ अपराधको पराकाष्ठा हो । मानिसको जीवनमा सत्र खालका परीक्षा हुन्छन् । १६ वटा परीक्षामा उत्कृष्ट मानिस १७औँ परीक्षामा कहिल्यै नउठ्ने गरी चिप्लिने सम्भावना रहन्छ । त्यो हो- द्रव्यमोह । हुन पनि मै हुँ भन्ने थुप्रै साधुहरु पैसाका अगाडि निरीह बनेका उदाहरण छन् ।

राजनीतिमा त पैसामा उसको अन्तिम तागत नापिन्छ । समाज कतिसम्म नैतिक भ्रष्टीकरणको महायात्रामा अघि बढ्यो भने‚ यहाँ त प्रहरीले अपराधी पक्रिएको, पत्रकारले समाचार लेखेको, पुजारीले भगवानको पूजा गरेको, शिक्षकले पढाएको, न्यायाधीशले न्याय दिएको समाचार ब्रेकिङ बन्छ । अब त सामाजिक सञ्जालको दुरुपयोग यति हुन थाल्यो, कसैको घरमा भएको घरझगडा पनि सुरक्षित रहेन । हिजोको एउटा सामान्य मानिस आज रातारात हिट बन्छ । भोलिपल्ट सहयोगको ओइरोपहिरो लाग्छ । पर्सिपल्ट त्यही देवत्वकरण गरिएको मानिस महिषासुरमा अनुवाद हुन्छ । सामाजिक सञ्जालमा आएका विषय जनप्रतिनिधि कण्ठ गरेर संसदमा उर्लिन्छन् । मुलुकका प्रधानमन्त्री पँधेरे गफमा दिन मिल्काउँछन् । यो दृश्यपछि फेसबुकमा कुतर्कको विश्वयुद्ध चल्छ । यस्तो फन्टुस व्यवहारले आखिर देश हार्छ । फर्सीले चुलेसी काट्नुस अथवा चुलेसीले फर्सी‚ आखिर क्षति त फर्सीकै हो । सिस्टमको बहसमा हामीले दशकौँ बितायौँ । सिस्टमको सजिलो बुझाइ यति हो कि अरुको काममा हस्तक्षेप नगर्नु । मुटु मानिसले चलाउने होइन । मस्तिष्क उसकै अधीनमा हुन्न । मृगौलालाई आराम दिन्छु भन्न मिल्दैन । फोक्सोलाई मुटुको काम जिम्मा लगाउन किमार्थ सम्भव छैन । हो, जसरी यी शरीरका अंगले स्वअधिकारमा रहेर काम गर्छन्, मुलुक चलाउने संयन्त्रलाई पनि त्यस्तै वातावरण बनाइदिनुपर्छ । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका शरीरका तिनै महत्वपूर्ण अंगजस्तै देश चलाउने मेसीन हुन् । जब चुनावमा ल्याएको अंकको दम्भमा त्यसको बाछिटा यी अङ्गमा देखिन्छ, त्यसपछि देश सामान निख्रिदै गएको किराना पसलजस्तो बन्दै जान्छ ।

मानिसको जीवनमा सत्र खालका परीक्षा हुन्छन् । १६ वटा परीक्षामा उत्कृष्ट मानिस १७औँ परीक्षामा कहिल्यै नउठ्ने गरी चिप्लिने सम्भावना रहन्छ । त्यो हो- द्रव्यमोह । हुन पनि मै हुँ भन्ने थुप्रै साधुहरु पैसाका अगाडि निरीह बनेका उदाहरण छन् ।

तीन पत्नी भएका नेल्सन मण्डेलाले बहुविवाहको मुद्दा कहिल्यै खेप्नुपरेन । उनको व्यक्तित्व चुम्बकीय थियो । जब फलामले चुम्बकमाथि धावा बोल्ने दुस्साहस गर्थ्यो, त्यतिबेला मण्डेला भाँचिन तयार हुन्थे‚ तर झुक्दैनथे । यही व्यक्तित्वका कारण उनको मृत्युमा विश्व नतमस्तक बन्यो । विश्वले मण्डेलालाई जीवित देवताको सम्मान दियो । विश्वका करोडौँ मानिसको मस्तिष्कमा दक्षिण अफ्रिकाको दृश्य ओझेलमा पर्ला‚ तर मण्डेलाप्रतिको स्नेह अजर, अमर र अटल छ । के हिन्दु, के मुस्लिम, के इसाई‚ उनी सबका तीर्थ भएर बाँच्न सफल भए । एक्काइसौँ शताब्दीमा केटाकेटी, युवा र वृद्ध गरी तीन पुस्तामा समान प्रभाव छोड्न सक्ने एक अतुलनीय महामानवको रुपमा उनको इतिहास स्थापित भएको छ ।

भारत स्वतन्त्रतापछिका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको मृत्युले पनि भारतमा तीनै पुस्ता शोकको आँसुमा डुबेको थियो । अध्यात्मको कुरा गर्ने हो भने भगवान कृष्ण गोपिनीका पछि लागेका थिएनन् । बरु कृष्णको तेजस्वी व्यक्तित्व गोपिनीहरूका लागि आकर्षण बन्यो । जसका कारण नारी शोषणको मुद्दाले ठाउँ नै पाएन । अझ कृष्णको बाललीलाको चर्चा गर्ने हो भने उनले जसको घरमा पसेर दही चोरेर खान्थे, त्यो दिन गाईले बढी दूध दिन्थ्यो । अघोषित रुपमा गोकुलबासी कृष्णले दही चोरिदिए हुन्थ्यो भन्ने कामना गर्थे ।

तात्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह शपथ लिएर विशाल भारतको कार्यकारी प्रमुख भएका दिन त्यहाँका सञ्चारमाध्यमले उनकी पत्नीसँग प्रश्न गरे‚ ‘तपाईँको अपेक्षा के छ ?’ उनले तत्काल जवाफ दिइन्‚ ‘अरु मलाई केही थाहा छैन‚ तर खाना पकाउने ग्यासको भाउ भने बढ्नुहुँदैन ।’ कोही व्यक्ति मुलुकको कार्यकारी होला, थियटरमा कलाकार होला, अस्पतालमा डाक्टर होला, अन्तरीक्षमा अन्तरीक्षयात्री होला, जहाजको ककपिटमा बस्दा पाइलट होला‚ तर जब घर फर्किन्छ, फगत सामाजिक प्राणी हो । कसैको छोरा, कसैको पिता, कसैको पतिजस्ता विभिन्न विशेषणभित्र ऊ बाँधिएको हुन्छ । हो, यो सामाजिक कर्तव्यलाई कति न्याय गर्न सक्छ ? भन्ने प्रश्नमा उसको पेशागत सफलता आकलन गर्न सकिन्छ ।

संसारका सफल राजनेताहरूले यसको संवेदनशीलतालाई स्वीकारेर नौनीभन्दा नरम र चट्टानभन्दा कठोर निर्णय लिएका उदाहरण छन् । अब्राहम लिङ्कनले राष्ट्रपति भएकै बेला आफ्नो छोरा पढ्ने विद्यालयका प्रधानाध्यापकलाई चिट्ठी लेखेरै आग्रह गरे– ‘मेरो छोरा जतातिर हुल छ, त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस् । सुनेको कुरालाई राम्ररी छुट्याउन सक्ने होस् । ऊ आफ्नो बाहुबल, सामर्थ्य र बुद्धिमा विश्वास गर्ने होस् । यदि उद्देश्य सही छ भने जस्तोसुकै विरोध भएपनि जिउ ज्यानले लागी परोस् । ऊभित्र सत्य र न्याय प्राप्तिका लागि संघर्ष गर्ने साहस र दृढ शक्ति विकास गरिदिनहोस् । ऊसँग नम्र व्यवहार गर्नुस्, तर उसैले टाउकोमा टेक्नेगरी होइन । सम्झनुहोस्‚ आगोको लप्काबाटै फलाम खारिन्छ ।’

विश्वकै लोकप्रिय पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले छोरीसँग खेल खेल्दा गल्ती गरे । विश्वका सर्वशक्तिमान राष्ट्रपतिले गल्तीप्रति याचना गर्दै कान समाएर उठ्बस गरे । नेल्सन मण्डेलाले परिवारलाई औधी प्रेम गरे । जब त्यो प्रेम लाभा भएर उनकै इतिहास ध्वस्त बनाउनेतर्फ अघि बढ्यो, अनि उनले सम्बन्धको धागोलाई नै दुईटुक्रा बनाइदिए । यसपछि पनि उनले स्वतन्त्रताप्रतिको आफ्नो एकलव्य चरित्रलाई कतै डगमगाउन दिएनन् ।

बीपीले जेलबाटै आफ्ना छोराछोरी, दाजुभाइ, बाबुआमादेखि कार्यकर्तालाई उत्साहित गर्दै गोटा गन्ती चिट्ठी लेख्थे ।

उनले लेखेको चिट्ठी कार्यकर्ताका लागि सञ्जीवनी बुटी हुन्थ्यो भने परिवारका लागि गतिलो ढाडस । कलम कापीको अभावमा पनि उनले एक दिनमा ४० वटासम्म चिट्ठी लेखेका थिए । छोराछोरीलाई लेख्ने चिट्ठी त पूरै नैतिक शिक्षाको हुन्थ्यो । छोरी चेतनालाई लेखिने चिट्ठी विज्ञान, समाजका विभिन्न पक्षका विषयमा लेखिएका हुन्थे । नेहरुले पनि छोरी इन्दिराका नाममा जेलबाट थुप्रै चिट्ठी लेखे । त्यही पत्रको तागतमा उभिएको नैतिक बलले इन्दिरा गान्धीलाई पनि देशको गरिमामय प्रधानमन्त्री पदको हैसियत दिलायो । उत्तरतर्फको छिमेकी देशका शक्तिशाली दिवङ्गत नेता माओत्सेतुङकी पत्नीले जल्दोबल्दो समयमा आफ्नो परिचय दिँदा भन्ने गर्थिन्- ‘म कमरेड माओकी कुकुर हुँ । जसलाई टोक भन्नुहुन्छ, उसलाई टोकिदिन्छु ।’

ठूलो र विलासी आकारको मन्दिर बनाएर भक्तको भीड लाग्दैन । भक्तको भीड लाग्न त देउताको साख उच्च हुनुपर्छ । यो देशमा कुनै पनि राजनीतिक दलको पर्चाले नागपञ्चमीमा टाँसिने नागको जति पनि मर्यादा पाएको छैन । समाजमा कुनै पनि पेसामा नबिकेकाहरू राजनीतिका लाइसेन्सधारी भएपछि यो परिणाम स्वाभाविक हो ।

निसन्देह अनुशासित र मर्यादित पारिवारिक जीवनसँग नेताको सफलता र असफलता निर्भर रहन्छ । सम्भवतः समकालीन नेतामा देखिएको चिड्चिडाहट पछाडिको रहस्य पनि यही हो । घरमा जन्मिएका नाति या नातिनीको नाम ‘सहमति’ राख्ने औकात र हैसियत गुमाएका कारण राष्ट्रिय राजनीतिको सहमतिको यात्रामा कतै उनीहरू जोक्कर बनेका त हैनन् ? यो पनि सार्थक बहसको एउटा विषय हो ।

राजनीतिले सधैँ त्याग खोज्छ । सोख र दिन कटनी होइन राजनीति । राजनीतिको खोलमा गरिने ऐस आराम भनेको दलाली हो‚ दलाली । सफल नेताको ओढ्ने/ओछ्याउने भनेको जनताको आशिर्वाद हो । जनताले माया गरेको नेता कहिल्यै एक्लो हुँदैन । ऊ कहिल्यै भोको मर्दैन । उसका सन्तान व्यक्तिको होइन, समाजका सम्पत्ति हुन्छन् ।
ठूलो र विलासी आकारको मन्दिर बनाएर भक्तको भीड लाग्दैन । भक्तको भीड लाग्न त देउताको साख उच्च हुनुपर्छ । यो देशमा कुनै पनि राजनीतिक दलको पर्चाले नागपञ्चमीमा टाँसिने नागको जति पनि मर्यादा पाएको छैन । समाजमा कुनै पनि पेसामा नबिकेकाहरू राजनीतिका लाइसेन्सधारी भएपछि यो परिणाम स्वाभाविक हो । मानौँ राजनीतिक खुल्ला बजारको व्यापार हो । हामी जसलाई राजनीति भनिरहेका छौँ‚ त्यो नौटङ्की हो । राजनीति एउटा अविरल निष्ठा हो । नित्य पूजा हो । पाउनु र गुमाउनुको कसीले यसमा कुनै अर्थ राख्दैन । यदि सबै ठाउँमा एउटै नियम पालन हुन्थ्यो भने सधैँभरि घरको छानामा देखिने कागले कोइलीको मर्यादा पाउनुपर्ने होइन र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *