मुख धेरै हेरेँ, अब दुःख हेर्छु है बा !
काठमाडौं । बा ! म तपाईंलाई कहिल्यै सम्झिन्नँ, थाहा छ किन ? किनकी म तपाईंलाई हरक्षण सम्झिरहन्छु । सम्झिनको लागि त बिर्सिनुपर्दो हो नि हगि ? फगत एउटा दिन आज, बाको मुख हेर्ने दिन । यो दिनले त्यति ठूलो अर्थै राखेन कमसेकम मेरो सन्दर्भमा । तर, यस मानेमा भने राख्यो कि- तपाईँलाई नै ‘शीर्षक’ बनाएर केही अक्षरहरू छरपस्ट्याउन भने आजमात्रै सकेँ ।
000
बा ! तपाईँबाट कोसौँ टाढा छु । तपाईँको अनुपस्थितिमा घरीघरी आफ्नै लय भुलेझैँ लाग्छ, अनि बलजफ्ती आफैँले लयमा ल्याउन खोजिरहेको मलाई तपाईंका मृदुभाषी ‘अर्ती/उपदेशको तलतल’ लागिरहन्छ । तर, तपाईँको एउटा अर्ती/उपदेशले भने आज खुबै नतमस्तक बनाइरहेछ । तपाईं भन्नुहुन्थ्यो- ‘बा/आमालाई पाल्ने हुनू ।’ अफसोस्, म त्यसबाट चुकिरहेछु पटक-पटक । न पाल्न सकेँ, न पाल्न सकिरहेको छु । तर, बा ! भविष्यमा अवश्य पाल्नेछु ।
000
जीवनको ‘थोत्र्याइँ’ उस्तै छ । फरक यत्ति छ कि- तपाईँ पाको हुँदै जानुभो, म जवान हुँदै गइरहेछु ।
बा ! छोरोको जीवन अस्तव्यस्त छ । व्यस्त छु, त्यहीँभित्र पनि अस्तव्यस्त छु । वर्तमानको व्यस्तता एकातिर हुँदा भविष्यको हतारो अर्कोतिर लठिबज्र छ । तपाईंलाई पाल्ने रहर यतातिर छरपस्ट रहिरहँदा आफैँ जिउनुपर्ने बाध्यता उतातिर भद्रगोल छ । यद्यपी‚ यी हरेक रहर, बाध्यता अनि समस्याका बीचको तपाईंको अदृश्य उपस्थितिले यी यावत् अवस्थाहरूबाट म सकुशल जीवनधारण गरिरहेछु ।
म तपाईंलाई आफ्नो हरेक पाइला-पाइलामा भेट्छु । जीवनका हरेकजसो घटकहरूमा महसुस गर्छु । ममा भएको तपाईँको पितृत्व शक्तिले मलाई छोरो बनाएर उभ्याएको छ ।
कहिलेकाहीँ अहङ्कारको सिँढी उक्लिँदा आफ्नै धरातलमा बसाएको छ । सिंहको गोडा र कोइलीको बोली दिएको छ । खैर, यो त सब जीवन जिउने सूत्र न रहेछ‚ जुन तपाईंले दिनुभएको हो ।
000
बा ! तपाईंसँग वर्षमा मुस्किलले एकचोटी भेट हुन्छ । भेटमा मथिङ्गलमा सङ्ग्रहित अनेकन रहर‚ बाध्यता, दुःख-खुसी, उकाली-ओराली अनि भूत-वर्तमानका सङ्ग्रहहरू पल्टाएर सुनाऊँझैँ लाग्छ । यी सङ्ग्रहहरू यत्रतत्र सर्वत्र हृदयमा छरिएर रहेका छन् । तर, तपाईँलाई नभेटिकन बिक्री हुँदैनन् । खर्चिँदैनन् । सुनाऊँ, सुनाऊँ कसलाई ? किनाऊँ, किनाऊँ कसलाई ? सोचेको छु- कुनै दिन तपाईंलाई नै सुनाउँला, तपाईंलाई नै किनाउँला ।
000
बा ! राम्रोसँग थाहा छ मलाई । जीवन एउटा गौँथलीको गुँडझैँ झन्झन् पुरानो हुँदै गइरहेछ । जीवन त मेरो पनि थोत्रो हुँदै गइरहेछ, तपाईँको मात्रै के कुरा । म काठमाडौँका ठूल्ठूला घरका भित्ताहरू नियाल्दै चौडा सडकमा कुर्कुच्चा बजार्दा पत्तो पाउँदिनँ, तपाईँ खेतको गह्रामा उठेका माटोका ढिक्काहरूलाई एकएक गरी कुटोले बजार्दा थाहा पाउनुहुन्न । जीवनको ‘थोत्र्याइँ’ उस्तै छ । फरक यत्ति छ कि- तपाईँ पाको हुँदै जानुभयो, म जवान हुँदै गइरहेछु । खैर बा ! यी भएभरिको उकुसमुकुस कुनै दिन खोलिदिनुपर्छ बा-छोरोले । गफ्फिनुपर्छ बा-छोरो । सम्झिनुपर्छ विगत । हाँस्नुपर्छ वर्तमान अनि बुन्नुपर्छ भविष्य ।
000
बा ! तपाईं कुनै प्रतिष्ठित शिक्षक होइन‚ तर तपाईँको सिकाइ नै मेरा लागि जीवनप्रदत्त बनेको छ । तपाईँ कुनै स्थापित समाजशास्त्री होइन‚ तर तपाईंले बुझ्नुभएको समाज नै मेरा लागि जायज बस्ती हो । तपाईं कुनै चर्चित चिकित्सक होइन‚ तर तपाईँले गर्ने शल्यक्रिया नै मेरा लागि फलदायी हुने गर्छ ।
अरू त फगत एक पात्र लाग्छन् मलाई । ती शिक्षक, ती समाजशास्त्री अनि ती चिकित्सक- फगत एक पात्र । विद्यार्थीले लय भुलेको कुरा, समाज समाज बन्न नसकेको कुरा अनि बिरामीहरू नफर्किएका कुरा अकाट्य सत्य हुन् । तर, बा ! तपाईं साँच्चै बा कहलिनुभयो, बा अर्थात् छोरोलाई दिन कुनै चिज बाँकी नराखेको व्यक्ति ।
000
बा ! तपाईंको मुख धेरै हेरेँ मैले । अब एउटै प्रण गर्छु, तपाईँसामु आफ्नो मुख देखाउन लायक बन्न सक्छु‚ अर्थात् तपाईँले पनि मेरो मुख हेर्न सक्नूस् । अरूले ‘फलानोको छोरो’ भनेर नाम लिन सकून् । कमसेकम मेरो कारणले अरूलाई मुख देखाउनबाट तपाईँलाई वञ्चित नगराऊँ ।
000
बा ! मलाई माफ गर्नुस् । आज मैले तपाईँलाई फेसबूक, ट्वीटरहरूमा सञ्जालीकरण गरिनँ । मलाई तपाईँलाई सञ्जालीकरण गर्नु नै छैन । तपाईँलाई त एकत्रीकरण गर्नु छ मलाई । अनि सम्झाइमाग्नुछ विगत जिन्दगीको । सिकाइमाग्नुछ सार जिन्दगीको । अर्थ्याइमाग्नुछ सिद्धान्त जिन्दगीको । यत्ति हुँदो हो त, तपाईंका सामाजिक विरासत थाम्न सकूँला, तपाईँले बसाउनुभएको सामाजिक धरातल स्याहार्न सकूँला अनि तपाईंले गाड्नुभएको घरको मूल थाम थम्थमाउन सकूँला ।
000
बा ! तपाईँप्रतिको भाव व्यक्त गर्न मैले न कुनै विशेषण तयार पार्न सकेँ, न कुनै संख्या भन्न सकेँ । जे छ मनमै छ । यसो भनौँ- मनका कुराहरू अटल हुन्छ, तपाईँजस्तै अटल । शुभजिन्दगी बा ।