निजामती सेवाको सम्झना

हिजो जस्तै लाग्छ लोकसेवाको परीक्षा तयारीका लागि आवश्यक पर्ने सामान ‌संकलन गर्न पुतलीसडकका स्टेसनरीहरूमा धाएको । समय कति चाँडै बित्दोरहेछ थाहै नहुने । निजामती सेवामा प्रवेश गरेको पनि ६ वर्षमा प्रवेश गरेको छ । यो यात्रामा थुप्रै तीता–मिठा अनुभवहरु संगालिएका छन् ।

सेवा प्रवेश
नेपाल र नेपालीको लागि यसै पनि २०७२ साल विशेष सम्झनामा छ । २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्प तथा त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिले अझै पनि झस्काइरहन्छ । २०७२ हामीले संविधान सभाबाट बनेको ऐतिहासिक संविधानसमेत प्राप्त गरेको वर्ष । यो वर्ष मेरो लागि पनि खास वर्ष बन्यो । २०७२।०८।२९ मा कोष तथा लेखा नियन्त्रक कार्यालय, बारामा सिफारिस भएसँगै मेरो निजामती सेवाको यात्रा सुरु भयो । सुरुमा त मजस्तो जान्ने कोही छैन र मैले संसार नै जितेको जस्तो आभाष हुने रहेछ । शायद मलाई मात्र होइन‚ सबैलाई शुरुमा यस्तै लाग्दो होला ।

संविधान जारी भएसँगै विशेषगरी प्रदेश नं २ मा संविधानप्रतिको विरोध भइरहेको र आन्दोलन समेत चर्किरहेको थियो । विभिन्न सरकारी कार्यालयमा तोडफोड भएको थियो । यही आन्दोलनमा मेरो कार्यालयमा समेत क्षति भएको रहेछ । कार्यालयको पहिलो दिनमै क्षति भएको कार्यालय देख्दा दुःख लागेको थियो । जिल्लाका सबै कार्यालयका लेखापालहरू कार्यालयको कामको सिलसिलामा जम्मा हुने ठाउँ कोलेनिकामा विभिन्न जिल्लाबाट जागिरको क्रममा आउनुभएका लेखापाल सरहरूसँग मेरो चिनजान हुने मौका मिल्यो ।

काठमाडौँ उपत्यका बाहिरका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको बिचमा एक किसिमको अपनत्व कायम भएको हुन्छ । कुनै कर्मचारीको दुःखमा सबैले सहयोग गर्ने र सुखमा सबै सहभागी हुने । हाम्रो कार्यालयको शनिबार तथा सार्वजनिक बिदाको दिन पारेर वनभोज कार्यक्रमको आयोजना हुन्थ्यो । हामी सबै त्यस्ता कार्यक्रममा सहभागी हुन्थ्यौँ ।

सम्झनामा कलैया बजार
लेखापालको जागिर भएपछि मेरो बसाइ बाराको कलैयामा हुने भयो । भोजपुरी तथा मैथली भाषाको बाहुल्यता रहेको बाराको कलैया बजार आफैँमा रमाइलो छ । जागिरका शुरु-शुरुका दिनमा केही एक्लो महसुस भए पनि त्यसपछिका दिनमा कलैया बजारमा दिनहरू मैले रमाइलोसँग बिताएँ । अत्यधिक गर्मी हुँदा अत्याधिक जाडो हुँदा भारि वर्षा हुँदा मैले सामाजिक सञ्जालमा स्ट्याटस लेखिराख्ने गरेको सम्झना पनि अझै छ । अहिले सामाजिक सञ्जाल कममात्र चलाउन थालेकी छु ।

बाराको गढिमाई मन्दिर धेरै पटक गएँ । हामी चारजनाको टोली भएर ऐतिहासिक दरबार सिम्रौनगढ गएका थियौँ । साह्रै रमाइलो पनि भएको थियो । बारा बसाइको क्रममा भोजपुरी भाषासमेत थोरै जान्ने बुझ्ने मौका मिलेको थियो । सानै उमेरमा विवाह गर्ने र दाइजो प्रथा मलाई साह्रै मन नपरेका विषय थिए । तराइमा अझै पनि त्यो प्रथा हटिसकेको छैन । यस्ता कुप्रथा समाजबाट हटाउनुपर्ने अवश्यकता छ । तर हटाउन ठूलो चुनौति विद्यमान छ ।

कार्यालय शुरु हुनुभन्दा पहिले र कार्यालय समयपश्चात् मैले निकै मेहेनतका साथ नेपाल सरकारको अधिकृतका लागि तयारी गरेकी थिएँ । तयारीको क्रममा अग्रज सरहरूले सहयोग पनि गर्नुभयो । हामी तयारी गरिरहेका ४ जना सर/मेडम मिलेर नमूना परीक्षासमेत लिन्थ्यौँ । २०७३ सालको चैतमा शाखा अधिकृतको परीक्षा भएपश्चात् मैले बारा जिल्लाका विभिन्न कार्यालयको श्रेष्ता राख्ने मौकासमेत पाएँ ।

२०७४ सालको स्थानीय तह तथा प्रदेश सभाको चुनावले गर्दा शाखा अधिकृतको नतिजा आउन ढिला भयो र चुनावमा खटिएकै समयमा महालेखा परीक्षकको कार्यालयमा लेखापरीक्षण अधिकारीको रुपमा मेरो सिफारिस भयो । योसँगै मेरो कलैया शहरको बसाइले बिट मार्यो ।

स्टाफ कलेज
निजामती सेवामा प्रवेश गर्न चाहने र सेवामा प्रवेश गरेका युवाको एउटा ठूलो सपना हुन्छ स्टाफ कलेजको तालिम लिने । विभिन्न सेवा समूहमा सिफारिस भई देशका विभिन्न क्षेत्रबाट तालिम लिनका लागि जमघट हुने ठाउँ हो‚ स्टाफ कलेज । BAT-32 का न्याय सेवाबाहेक सबै ब्याची साथीहरुसँग स्टाफ कलेजमै चिनजान हुने मौका मिल्यो । सम्पूर्ण प्रशिक्षार्थीलाई विभिन्न समूहमा विभाजन गरी तालिम सञ्चालन हुने भएकाले आफ्नो समूहमा पर्ने साथीहरूसँग एकदमै निकटतम सम्बन्ध बन्यो ।

स्टाफ कलेजमा तालिम अवधिको एउटा कार्यक्रम आयोजना गरिएको थियो- ‘नो योर कन्ट्री’‚ जहाँ एक हप्ताको अवधिमा देशका विभिन्न जिल्लाको सार्वजनिक सेवा प्रवाह, जीवनशैली, भाषा तथा संस्कृतिको बारेमा बुझ्न पाइने थियो । यसका लागि हाम्रो समूह उदयपूर, सिराहालगायतका जिल्ला गएका थियो । तालिमको अवधिमा एक महिना आवासीय हुन्थ्यो र त्यो एक महिनाको अवधिमा योग, पीटीलगायतका कार्यमा सहभागी हुनुपर्थ्यो । जीवनका रमाइला क्षणमध्ये सबैभन्दा सम्झनलायक समय यो करिब ६ महिनाको समय पनि हो मेरा लागि ।

तालिम समापनपश्चात् हामी आ-आफ्नो कर्म थलोमा लाग्यौँ । विभिन्न पृष्ठभूमिबाट आएका साथीहरुसँगको चिनजान स्टाफ कलेजको सबैभन्दा राम्रो पक्ष हो । देशका सबै जिल्लाका विभिन्न सरकारी कार्यालयमा छरिएर सार्वजनिक सेवा प्रवाह प्रदान गरिरहनुभएका BAT-32 विशेषगरी रारा समूहका सबै साथीहरुलाई सम्झन चाहन्छु ।

गायक प्रकाश सपूतले फुटेका चुराको गितमा आफ्नी छोरीलाई कथा सुनाउदा भनेको जस्तो जीन्दगी लामो छ । यही लामो समय निजामती सेवामा अझै बिताउन बाँकी नै छ । भोलिका दिनमा आजभन्दा राम्रो हुनेछ भन्ने कुरामा आशावादी छु ।

(लेखक महालेखापरीक्षकको कार्यालय काठमाडौँकी लेखापरीक्षण अधिकारी हुन्  ।)
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *