मधुर स्वरका मनमौजी शिशिर

काठमाडौँ । भनिन्छ कोही कोही मानिस जुन क्षेत्रका लागि जन्मेको हो‚ त्यही क्षेत्रमा पुग्छ । र‚ जो आफ्ना लागि बनेको क्षेत्रमा पुग्छ‚ उसले त्यहाँ पौरख पोख्न पनि सक्छ । कुन क्षेत्रमा लाग्ने भन्ने अन्योलमा रहेको मानिसले भौँतारिएरै समय सक्छ । कुनै खास कर्म गर्न सक्दैन । अर्थात्‚ यता न उता हुन्छ ।

गायक संगीतकार शिशिर योगीको कुरा गर्ने हो भने उनी संगीत क्षेत्रकै लागि जन्मेका हुन् जस्तो लाग्छ । उनी यो बाहेकको क्षेत्रमा लागेका भए के कसो गर्न सक्थे थाहा छैन‚ तर उनको मधुर अनि शिशिरको सिर सिर बतासजस्तो प्रिय गलाको स्वर आस्वादन गर्नबाट श्रोताहरू भने पक्कै छुट्ने थिए ।

शिशिर योगी भन्नासाथ उनको मधुर स्वरमात्र होइन‚ अलि भिन्नै र अर्थपूर्ण गीतहरूको धुन गुन्जिहाल्छ । संगीत सिकेर यो क्षेत्रमा लागेका शिशिर धेरै जनाका संगीतका गुरू पनि हुन् ।

विक्रम सम्वत् २०२७ मा दाङमा जन्मिएका शिशिर योगीले राप्ती नदीको आडमा खेल्दै रमाउँदै बाल्यकाल बिताए । चेतनामूलक गीत गएर चर्चामा आएका उनलाई सदैव अग्रजको साथ रह्यो । शिशिर योगी भन्नासाथ उनको मधुर स्वरमात्र होइन‚ अलि भिन्नै र अर्थपूर्ण गीतहरूको धुन गुन्जिहाल्छ । संगीत सिकेर यो क्षेत्रमा लागेका शिशिर धेरै जनाका संगीतका गुरू पनि हुन् ।

उनीबारेका केही कुराहरू :-

डुङ्गा खियाउने पालो 
शिशिर दाङमा हुँदा डुङ्गा खियाएको अनुभव पनि संगालेका छन् । यो उनको रहर कम‚ बाध्यता बढी थियो । उनको गाउँको नियम नै थियो‚ प्रत्येक घरबाट डुङ्गा खियाउन जानुपर्ने । यसैअनुरूप हप्ताको दुई दिन उनी विद्यालय नगएर पनि राप्ती नदीमा पुग्थे । हरेक हप्ता उमेर ढल्किँदै गएका ‘बा’ डुङ्गा खियाउन जाँदा जवान हुँदै गएका शिशिरको मन पोल्थ्यो । त्यसैले उनी विद्यालय नै नगई पनि नदीमा पुग्ने गर्थे । यसरी माछा मारेको, डुङ्गा चलाएको पैसा जम्मा गरेर उनले आफूलाई चाहिने कापी‚ कलम र कपडा किन्थे ।

बठिनियाँसँग जङ्गल
गाउँमा हुर्किएका शिशिर बन जङ्गल जाने कुरा नौलो भएन । घाँस दाउरा गर्न होस्‚ चाहे वस्तुभाउ चराउन उनी जङ्गल पुगिरहन्थे । सानोमा आमाले गीत गाउँदा रुँदै गरेको बेला समेत चुप लाग्ने उनको संगीतप्रतिको मोह सानैदेखि थियो । आफ्नो रहर भएको विषय गायनकै कारण उनले घाँस काट्ने दाउरा बोक्ने काममा सहयोग पाए ।

लजालु स्वभावका उनी गीत गाएर सुनाउँथे, जसबापत उनलाई साथीसङ्गीले घाँस दाउरा गर्न सघाउँथे । आफ्नोभन्दा केही बढी उमेरका बठिनियाँ उनका राम्रा श्रोता थिए । लजालु उनी आँखा बन्द गरेर गीत गाउन थाल्थे । गीत गाउँदा भने उनको लाज गायब नै हुन्थ्यो । विद्यालय बिदा हुने अघिल्लो दिन थारु समुदायका किशोरीले ‘बाँसुरी बोकेर भोलि जङ्गल आऊ है’ भनेको उनी अझै पनि सम्झिन्छन् । उनीहरूलाई धेरै मनपर्ने गीत ‘यति चोखो यति मिठो…’ थियो । यो गीत उनले धेरै पटक गाएर सुनाएका छन् ।

अम्बर गुरुङका चेला
मनमौजी पाराका शिशिर एसएलसीपछि घरमा कुनै जानकारी नै नदिई काठमाडौँ लागे । उनी कोही सङ्गीतकर्मीको साथ पाइन्छ की भन्ने आश बोकेर प्रज्ञा प्रतिष्ठानतिर धाइरहन्थे । यही क्रममा उनले प्रज्ञा प्रतिष्ठानको मूलद्वारमै अम्बर गुरुङलाई भेट्ने अवसर पाए । गुरुङको पहिलो प्रश्न थियो, ‘संगीत क्षेत्र सहज छैन । फलामको चिउरा चपाउने ताकत छ ?’ सङ्गीतको तिर्खाले खरिएका उनले सहजै भने, ‘त्योभन्दा कडा चिउरा पनि चपाउन सक्ने आँट लिएर आएको छु ।’ हुन पनि सङ्गीतको ज्ञान आर्जन गर्नु उनलाई फलामको चिउराभन्दा  पनि कठिन भयो । तर‚ नआत्तिएर नै उनले ६-७ वर्षसम्म गुरुङको चेला बनेर अध्ययन गरे । उनलाई अनुशासनमा यतिसम्म बस्नुपर्थ्यो कि, गुरु (अम्बर गुरुङ) को अनुपस्थितिमा समेत गुरुअघि नै बसेर रियाज गरेको सम्झिएर निरन्तर अभ्यास गर्ने गर्थे । यसैको प्रतिफल उनका गीत अजर अमर बन्ने प्रकारका छन् ।

अग्रजको साथ
अम्बर गुरुङसँगै उनलाई धेरै अग्रजको साथ मिलेको थियो । नारायण गोपालको गीत गाउँदै हुर्किएका उनले नारायण गोपालको संगीतमै गीत गाउने अवसर प्राप्त गरे । रत्नशमशेर थापाले लेखेको ‘एक मुट्ठी चामल’ त्यही गीत थियो । जनताको आवाज बोल्ने यो गीत उनका लागि नारायणगोपाललाई श्रद्धाञ्जली गर्ने गीत बन्न पुग्यो । माधवप्रसाद घिमिरे, क्षेत्रप्रताप अधिकारी, शक्तिबल्लभलगायत रचनाकारका गीत उनले गएका छन् । सारङ्गी त रेटे पनि बोल्छ मिठै ध्वनि, यो देशमा म एउटा मानिस खोजिरहेछु, बोल्ने कोही छैन,  कर्णाली पारीजस्ता गीतहरू दर्शकको मनमुटुमा बस्नसमेत सफल भएका छन् । यो देशमा म एउटा मानिस खोजिरहेछु त एउटा युगकै प्रतिनिधित्व गर्ने गीत बन्यो ।

अम्बर गुरुङसँगै उनलाई धेरै अग्रजको साथ मिलेको थियो । नारायण गोपालको गीत गाउँदै हुर्किएका उनले नारायण गोपालको संगीतमै गीत गाउने अवसर प्राप्त गरे ।

२०४८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका उनको पहिलो एल्बम नै सफल भयो । अग्रजसँगै उनलाई भाग्यले पनि साथ दियो । विश्वका सङ्गीतकर्मीको इतिहास हेर्दा उनलाई आफ्नो सङ्घर्ष अरूको झैँ कठिन नभएको लाग्छ  ।

संगीत प्रशिक्षण
संगीत सिक्न थालेपछि उनलाई आर्थिक अभाव सुरु भयो । काठमाडौँको बसाइ, सानैबाट आफ्नो खर्च आफैँ निकाल्ने बानी परेका उनले विकल्प स्वरूप संगीत अध्यापन सुरु गरे । उनले बालबालिकालाई संगीत सिकाउन थाले । यसबाट उनको गुजारा चल्न थाल्यो । उनको अध्यापनको शृङ्खला अझै निरन्तर छ । उनकै प्रशिक्षणले धेरै संगीतकर्मी जन्मिएका छन् । गुजारा टार्न उनले आफैँलाई मन पर्ने विषय छानेका थिए त्यसबेला, जसले उनलाई अझ सकारात्मक सहयोग प्रदान गर्‍याे । उनी विभिन्न विद्यालयमा संगीत शिक्षकका रुपमा अझैपनि कार्यरत छन् ।

अटेरी शिशिर
शिशिर सानैबाट मनमौजी स्वभावका थिए । साङ्गीतिक क्षेत्रमा लाग्न परिवारबाट उनलाई खासै समर्थन थिएन । तर उनलाई वास्ता पनि लाग्दैन थियो । त्यसैले त पारिवारिक सहमतिबिनै उनी विभिन्न स्थानमा गीत गाउनकै लागि पुग्ने गर्थे । ९ दिनसम्म चल्ने रामलीलाको उनी विशेष आकर्षण हुने गर्थे ।

बा आमाको अनुमतिबिनै उनी गाउन पुग्थे । एसएलसीपछि संगीत क्षेत्रमा लाग्नु पनि उनको जिद्दीपनको परिणाम नै थियो । परिवारबाट दबाब आउँदा उनले माइतमा भएकी श्रीमतीलाई लिएर काठमाडौँ आए । घरमा छिर्दै नछिरी उनी सिधै ससुराली पुगेर श्रीमतीलाई भेटे । तर जब बुबाको निधन भयो, उनी धेरै भावुक भए । अझै पनि बुबाको कुरा गर्दा उनको आँखा रसाउँछ । बा-आमा दुवैको लागि उनले गीत समेत गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *