फेरि सुरु भयो माछापुच्छ्रे आरोहण बहस

पोखरा । नेपालमा आरोहणका लागि खुला नगरिएकोमध्ये कास्कीको माछापुच्छ्रे हिमाल पनि छ । अहिलेसम्म कुमारी हिमालको नामले माछापुच्छ्रेलाई चिनिन्छ । गुरुङको धार्मिक आस्थासँग जोडिएकाले हिमाल आरोहणका लागि खुला नगरिएको हो । तर बेलाबखत माछापुच्छ्रे आरोहणको चर्चा चलिरहन्छ । सतहमा बहस भइरहन्छ । कोभिडअघि एक समय निकै छलफल गरेर पनि सेलाएको यो बहस फेरि सुरु भएको छ । गाउँपालिका अध्यक्ष कर्ण गुरुङले एउटा कार्यक्रममा हिमाल आरोहण खोल्नुपर्ने बताएपछि यसको चर्चा चुलिएको हो ।

‘हामी हिमाललाई आस्थाको रुपमा हेर्छौँ । तर यो होइन कि, यहाँ कोही जानै हुँदैन,’ उनले भने, ‘सम्मान गर्दै, आय आर्जनसँग माछापुच्छ्रेलाई जोड्नुपर्छ । हामीसँग भएको स्रोतबाट आम्दानी गर्न नसके यसको के महत्व ?’ आदिवासी जनजाति पत्रकारहरूको संस्था फोनिजले राखेको अन्तरक्रिया कार्यक्रममा गुरुङले माछापुच्छ्रेलाई पर्यटनका लागि ‘हटकेक’को रुपमा प्रस्ताव गरे । धेरै आरोहीहरू पूर्वी क्षेत्रमा भीड लागेको भन्दै माछापुच्छ्रेलाई आरोहणका लागि खुला गरेर पर्यटकको ध्यान गण्डकीमा आकर्षित गर्नुपर्ने उनले बताए ।

गाउँपालिकाको एउटा टोलीले खुम्बु क्षेत्रको पनि अध्ययन गरेको थियो । ‘९० प्रतिशत आरोही पूर्वतिर जान्छन् । अन्नपूर्ण क्षेत्रले पर्वतारोहणबाट खासै फाइदा पाएको छैन,’ उनले भने, ‘हामीकहाँ ८ हजार मिटरका अग्ला मनास्लु, धवलागिरि र अन्नपूर्ण छन् । यता पर्यटक छैनन्, जबकि ८ हजार मिटरभन्दा कम उचाइका खुम्बु क्षेत्रका हिमालमा आरोहीको बाक्लो भीड छ ।’ ३ दशकअघि प्रकृति विज्ञ डा. हर्क गुरुङले पनि माछापुच्छ्रे आरोहण खोल्नुपर्ने अजेन्डा ल्याएका थिए ।

तत्कालीन सांसद प्रकाशबहादुर गुरुङको पालादेखि यो छलफलमा छ । माछापुच्छ्रे गाउँपालिकाले पहिलो बैठकबाटै आरोहण खुला गर्न पहल गर्ने निर्णय गरेको थियो । त्यसपछि कार्यपालिका बैठक, गाउँसभाबाट सर्वसम्मत निर्णय गराएर पर्यटन मन्त्रालयमा फाईल पुर्‍याइएको छ । जतिबेला पर्यटनमन्त्री कास्कीकै स्व. रवीन्द्र अधिकारी थिए । विवाद हुने डरले यो फाईल अघि बढेन ।

‘मेरो व्यक्तिगत फाइदाको कुरा होइन । समृद्धि चाहिएको हो नि । समृद्धिका लागि हामीसँग जे छ, त्यहि बेच्ने हो,’ गुरुङ भन्छन्, ‘मानिसलाई माछापुच्छ्रेमा चढाएर पैसा कमाउनुपर्छ । यसमै हाम्रो हीत छ ।’ वडा नम्बर १ का अध्यक्ष वीरेन्द्र गुरुङले पनि आरोहण खुलाउनुपर्ने धारणा राखे ।

‘गाउँपालिकामा धेरै बहस गरेर सर्वसम्मत निर्णय भएको हो । अब तल्लो तहमा भन्दा माथी नै छलफल हुनुपर्छ,’ उनले भने, ‘पालिकाका निर्णय र यसका सार विषयहरू मन्त्रालयमा बुझाएका छौँ । त्यो हेरेर सरकारले निर्णय गरोस् ।’ कोभिडको समाप्तिसँगै माछापुच्छ्रे खुला गरेको सन्देश विश्व पर्यटन बजारमा पुगे धेरै छिटो नेपालको पर्यटन पुरानै अवस्थामा फर्किने उनीहरूको विश्वास छ ।

‘हिमाल जोगाउनुपर्छ । हामी पनि हिमाल नै मासेर कमनाउनुपर्छ भनेर लागेको होइन,’ उनले भने, ‘संरक्षणसहित आम्दानी भनेको हो । आरोहण खुला भए त्यहाँका नागरिकले रोजगारी पाउछन् । पर्यटकले नयाँ गन्तव्य पाउछन् । वातावरण संरक्षण पनि सँगै हुन्छ ।’ संस्कृतिविद् डा. जगमान गुरुङले भने माछापुच्छ्रेलाई नरनारायणको प्रतिकका रुपमा चित्रित गरेका छन् । धेरैले उनको विचारलाई समर्थन गरेर आरोहण खुल्दा हुने घाटाका बारेमा व्याख्या भइरहेको छ । पोखराका केही पर्यटन व्यवसायीहरू पनि हिमाल खोल्ने पक्षमा छैनन् । माछापुच्छ्रे हेर्नका लागि मात्रै सुन्दर हुने भन्दै यसलाई देखाएर गण्डकीले अरु ब्रान्ड बेच्नुपर्ने उनीहरूको सुझाव छ ।

माछापुच्छ्रेमा पहिलो पटक सन् १९५७ मा बेलायती सेनाका कर्णेल जीम्मी रोवर्टसले आरोहण गरेको बताइन्छ । उनीहरुले घाचोक क्षेत्रबाट चढ्न नपाएपछि उत्तरी क्षेत्रबाट आरोहण गरेको बताइँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *