शिर जोडेपछि जुम्राको के डर ?
सुकरात आफ्ना चेलाहरूसँग बसेर कुरा गरिरहेका थिए । यही समयमा आफूलाई ज्योतिष बताउने एउटा मानिस प्रवेश गर्दै भन्छ- ‘म अनुहार हेरेर उसको विगत, वर्तमान र भविष्य बताउन सक्छु ।’ ज्योतिषले सुकरातका बारेमा फटाफट भन्न थाल्यो- ‘नाकका प्वालको आकार हेर्दा थाहा हुन्छ तपाईँ रिसाहा हुनुहुन्छ । टाउकोको आकारले भन्छ- अत्यन्त लोभी हुनुहुन्छ । दारीको आकारले सन्काहा प्रवृत्ति हाबी भएको इङ्गित गर्छ । ओठको आकारले मानिसलाई विद्रोहका लागि उक्साउन माहिर हुनुहुन्छ ।’
ज्योतिषले आफ्ना गुरुका विषयमा अन्टसन्ट विश्लेषण गरेको सुनेपछि चेलाचपेटा उत्तेजित भए । तर सुकरातले भने विभिन्न उपहारसहित ती ज्योतिषलाई सधन्यवाद बिदाइ गरे । गुरुको अनौठो व्यवहारले आश्चर्यमा परेका चेलाहरूलाई सम्झाउँदै सुकरातले भन्न थाले- ‘म रिसाहा पनि छु, सन्की पनि छु, लोभी पनि छु । ज्योतिषले सही विश्लेषण गरेका हुन् । तर उनलाई यो थाहा भएन कि मैले मेरो सकारात्मक सोचले मेरा ती अवगुणहरूलाई निस्तेज गर्ने गर्छु ।’
कुनै देशलाई सिध्याउनु पर्यो भने त्यहाँको शिक्षा पद्धतिमा विष घोलिदिए पर्याप्त हुन्छ । यसो भएमा जनता झुक्याउने नेता, न्याय लिलाममा राख्ने न्यायाधीश, किड्नी खोतल्ने डाक्टर, धर्म सौदा गर्ने पुजारी, गुरुलाई खुँडाले सत्कार गर्ने शिष्य, बाउआमालाई वृद्धाश्रमको पाहुना बनाउने छोराछोरी पाइला-पाइलामा भेटिन्छन् । जिन्दगीका धेरै आयाम पुस्तकमा नभएर माटो र बाटोमा भेटिन्छ । पुस्तक कम र ज्ञान धेरै बटुल्दा सुकरातको आयतन दार्शनिकमा अनुवाद भयो । त्यसैले चिराइतोमा पनि गुलियो भेटे ।
कुनै देशलाई सिध्याउनु पर्यो भने त्यहाँको शिक्षा पद्धतिमा विष घोलिदिए पर्याप्त हुन्छ । यसो भएमा जनता झुक्याउने नेता, न्याय लिलाममा राख्ने न्यायाधीश, किड्नी खोतल्ने डाक्टर, धर्म सौदा गर्ने पुजारी, गुरुलाई खुँडाले सत्कार गर्ने शिष्य, बाउआमालाई वृद्धाश्रमको पाहुना बनाउने छोराछोरी पाइला-पाइलामा भेटिन्छन्
प्रकृति अनौठो छ, गुनासो छ जिन्दगीसँग‚ तर जवाफ लिएर समय उपस्थित हुन्छ । पहिलो भोजनालय आमाको दूध, पहिलो शौचालय आमाको काख, पहिलो स्कुल आमाको भान्साघर, पहिलो शिक्षक-डाक्टर आमा, ज्वरो नाप्ने थर्मामिटर आमाका औँला र चढेको पहिलो वाहन आमाको पिठ्यूँ जीवनका यस्ता कटु सत्य उल्लेख भएका पुस्तक शिशुको हातमा नपुगेसम्म मन मनमा लागेको अराजकताको डढेलो कहिल्यै शान्त हुँदैन । दुई घण्टे जाँचमा ल्याउने अङ्कको गन्तव्यले त आखिर चिउराको बोट खोज्ने संस्कृतिलाई नै संस्थागत गर्ने हो । त्यसैले त भनिन्छ- बच्चालाई उपहार दिनु भएन भने एकछिन फन्केला, रोला, कराउला‚ मुख बिगार्ला‚ तर संस्कार पाएन भने जिन्दगीभर रुन्छ ।
कोभिडको सङ्क्रमणपछि धेरै नेपालीले बाहिर जताततै सित्तैमा पाउने अक्सिजनको मूल्य अस्पतालको बेडमा कति महँगो हुने रहेछ भन्ने नजिकबाट अनुभव गरेको हुनुपर्छ । मुलुक व्यवस्थापन गर्ने जिम्मेवारी पाएका थुप्रै रानो मौरी यो समय अस्पतालका पाहुना भए । नेताको उपचारमा राज्य सक्रिय भयो । तर ज्यामी मौरी मानिने जनताको स्वास्थ्य बिग्रँदा कसैलाई दुखेन । हामीले अस्पताल बनाउन प्रतिस्पर्धा गर्यौँ‚ तर जनता रोगी नै हुन नदिने उपायका विषयमा कहिल्यै बहस नै गरेनौँ । मान्छेको यही कायाभित्र स्वर्ग, नर्क, सुख-शान्ति, ऐश्वर्य, प्रेम लुकेको हुन्छ । नेपालका दुई पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओली र झलनाथ खनालले त अरूले दिएको मिर्गौलाको भरमा जीवन चलाइरहनुभएको छ । उहाँहरूका लागि सर्वाधिक ठूलो शत्रु अरु कोही नभएर आफ्नै शरीरभित्रको रोग हो । कथाबाट सुरु भएको मेलम्ची कथामै टाँगियो । अधिकांश रोगको जड पानी हो भन्ने डाक्टरको मत छ । तर राजनीतिक डाक्टरहरूको राजनीति त्यही पानीमा टिकेको छ । हाम्रो कामना छ- अरूले त गरेनन्‚ कम्तीमा नाफाको जिन्दगी बाँच्नुभएका तपाईँहरूले मन, वचन र कर्मले अबको जीवन इमानपूर्वक देशलाई दिनुस् । स्वस्थ जनता देशका सम्पत्ति हुन् भन्ने सद्वचन भाइरल बनाइदिनुस् । दर्जनौँ ओखतीमा राज्यलाई भार पर्ने गरी अनुदान किन दिने ? बरु कुखुराको मासुलाई यति सस्तो बनाऊँ कि खाजामा समेत नेपालीले मासु भात खाउन् ।
एक दशकपछि रोगी नपाएर देशभरका अस्पताल सङ्कटमा परे भन्ने समाचार आओस् । मासु भात खाएर उत्पादित ‘भुसतिघ्रे’ जनशक्तिलाई काम दिएर हेर्नुस्‚ अनि देख्नुहुन्छ परिणाम । बाटो खनिदिनुस् न‚ गर्ने त सन्ततिले हो । यतिका वर्ष अरूले हुर्काएको बुढो भोगटेको रुखमा मलजल गरेर स्याउ फलाउने फन्टुस काम सच्याउनुस् नेताहरू । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व फगत औँला भाँच्नमात्रै काम लाग्यो । झ्वाँकिन, रिसाउन नै त किन ठूलो मान्छे भइरहनु पर्यो र ? त्यसैले यो पटक कम्मर कस्नुस् । तपाईँले नगरे कसले गर्छ ? अहिले नगरे कहिले गर्ने ? छातीमा हात राखेर भन्नुस् त- ‘सरकार असफल‚ तपाईँ सफल कुन शास्त्रको मानक हो ? क्याप्टेन सफल‚ खेलाडी असफल कुन खेलमा हुन्छ ?’ सात सालमा आएको प्रजातन्त्र एक वर्षपछि जुम्लीले थाहा पाएको समय होइन यो ।
हाम्रो कामना छ- अरूले त गरेनन्‚ कम्तीमा नाफाको जिन्दगी बाँच्नुभएका तपाईँहरूले मन, वचन र कर्मले अबको जीवन इमानपूर्वक देशलाई दिनुस् । स्वस्थ जनता देशका सम्पत्ति हुन् भन्ने सद्वचन भाइरल बनाइदिनुस् । दर्जनौँ ओखतीमा राज्यलाई भार पर्ने गरी अनुदान किन दिने ? बरु कुखुराको मासुलाई यति सस्तो बनाऊँ कि खाजामा समेत नेपालीले मासु भात खाउन् ।
राम्रो कामको बासना चौतर्फी फैलिन्छ । अलेक्जेन्डर ग्रामवेलकी पत्नी कान सुन्न असमर्थ थिइन् । उनको नाम थियो- ‘हेल्लो’ । घर व्यवहार नै चल्न समस्या भएपछि ग्रामवेलले पत्नीका लागि एउटा यन्त्र बनाउने विचार गरे । रातदिनको मेहनतपछि यन्त्र तयार भयो । आफूले बनाएको यन्त्र नजिक गएर बस्न अलेक्जेन्डले आफ्नी पत्नीलाई भने । यताबाट उनी ‘हेल्लो’ भनेर चिच्याउँछन् तर पत्नीले सुने पो । ग्रामवेलले पत्नीसँग संवाद गर्न बनाएको यन्त्रले टेलिफोनको रूप धारण गर्यो । आज संसारमा सबैभन्दा बढी संसारमा बोलिने शब्द ‘हेल्लो’ भएको छ ।
पत्याउनुहुन्छ- भगवानको नामभन्दा बढी ‘हेल्लो’ उच्चारण हुन्छ । कति भाग्यमानी पत्नी थिइन् होला- हेल्लो । मरेर गएको वर्षौँ भइसक्दा पनि संसार उनको नामका पछाडि दौडिरहेको छ । प्रधानमन्त्रीज्यू ! खानेपानी, यातायात, वातावरणजस्ता मन्त्रालय आफ्नो हातमा लिएर सरसफाइ, पूर्वाधार र पानीको छेलोखेलो गरिदिनुस् । शीतल जल र स्वस्थ हावाले जनताको प्राणवायु फ्रेस गरिदिनोस् । हामी पनि ग्रामवेलभन्दा कम छैनौँ- हरेक बाटोको नाम शेरमार्ग र धाराको नाम ‘आरजु जल’ सहर्ष स्वीकार्छौँ ।
अर्थशास्त्रको सर्वाधिक ठूलो मुख्यालय चुलो हो । ताउलोमा आगो सहजसँग लाग्यो भने बाँकी सबै गुनासा आफैँ सेलाउँदै जान्छन् । घर ठूलो भएर भन्दा पनि परिवारका सदस्यमा हाँसोको मात्राले सन्तुष्टि उजागर हुन्छ । गल्ती हुनु प्रकृति, स्वीकार्नु संस्कृति र सुधार्नु प्रगति हो । जीत-हार सोचमा भर पर्छ । मान्यौ भने हार, ठान्यौ भने जित । चुनाव जितेर केही हुँदैन, मन जित्नुपर्यो । चुनाव त प्राविधिक खेल न हो । चुनावमा उठेका योजनाविद् डा. हर्क गुरुङलाई नेपाली जनताले जिन्दगीभर केही सय मतमा सीमित राखे । तर देशको राष्ट्रिय योजना आयोग उनैले खनेको जगमा अडेको छ । जतिसुकै विद्यावारिधि फेरिए पनि हर्क गुरुङको त्यो साखलाई कसैले विस्थापित गर्न सक्दैन । नेपाल बुझेका तीन व्यक्ति थिए- टोनी हागन, हर्क गुरुङ र डोरबहादुर विष्ट । यी तीनै जना यो धरामा छैनन् । तर अहिलेका सबै नेताले हेलिकोप्टरमा मारेको भन्दा धेरै दूरी यी त्रय महामानवको पाइतालाले नापेका थिए । नङ्ग्राले देशको शरीर छामेका थिए । हिमाल, पहाड र तराईको सामर्थ्य बुझेका थिए ।
संसारमा पद होइन, मान्छे इमान्दार हुने हो । मन, ओठ वा मनमस्तिष्क केबाट मान्छेको विचार निसृत हुन्छ, उसको धरातल पनि त्यसैबाट निर्धारित हुन्छ । बोलीमा इमान्दारी र काँधमा जिम्मेवारी लिएको मानिसका लागि वर्तमान सर्वस्व हो । न ऊ अनिश्चित भविष्यको वायुपङ्खी घोडामा रमाउँछ, न विगतको विषाद सम्झिएर पश्चात्तापको पोखरीमा पौडी खेल्छ । बरु महाभारत पात्र अर्जुनजस्तै रुखको हाँगामा झुन्ड्याइएको चराको आँखा मात्र देख्छ र लक्ष्य प्राप्तिमा अघि बढ्छ । यस्ता मानिसले एन्डरसनको जस्तो आयु थप्न भौँतारिनु पर्दैन । न त स्वर्गको ढोका खोल्न जीवनको अन्त्य नै पर्खिनुपर्छ ।
नेपाल बुझेका तीन व्यक्ति थिए- टोनी हागन, हर्क गुरुङ र डोरबहादुर विष्ट । यी तीनै जना यो धरामा छैनन् । तर अहिलेका सबै नेताले हेलिकोप्टरमा मारेको भन्दा धेरै दूरी यी त्रय महामानवको पाइतालाले नापेका थिए । नङ्ग्राले देशको शरीर छामेका थिए । हिमाल, पहाड र तराईको सामर्थ्य बुझेका थिए ।
प्रकृतिको लीला विचित्र छ । जीवनकै ठूलो सम्पत्ति ज्ञान, उत्कृष्ट हतियार धैर्य, राम्रो सुरक्षा विश्वास र राम्रो औषधि हाँसो हो । अचम्म त यो छ‚ जुन सित्तैमा पाइन्छ । रिसले भ्रम, भ्रमले बुद्धि, बुद्धिले तर्क यी सबै नष्ट भएपछि मानिस पतनको मुखमा पुग्ने हो । मानिसको जिन्दगी रेलको लिगमा दौडँदैन । मानिसका के कुरा ? शास्त्र पल्टाउनुस् त सीताका संरक्षक रामजस्ता बलवान पुरुष थिए, तर अपहरण हुँदा त्यो साथ काम लागेन । द्रौपदीका पाँच पति थिए, कौरवले निर्वस्त्र बनाउँदा कसैको साथ काम लागेन । दशरथका चार पुत्र थिए, प्राण जाने बेलामा त्यस्ता परमार्थी राजा एक्लो थिए । रावण धनवान्, बलवान थिए, लङ्का जल्दा त्यो सामर्थ्य र ऐश्वर्यले काम गरेन । सहोदर भाइसमेत कुलद्रोही भएर निस्किए । अभिमन्यु राज खानदानको भएपनि चक्रव्यूहमा फसेपछि छुटाउने कोही भएनन् । यो सत्यलाई नेतृत्वमा बस्नेले सधैँ शिरमा राख्न जरुरी छ ।
कुनै अडान लिन परे रुखजस्तो उभिन तयार र खस्नै परे बीउजस्तो भएर खस्नु जाति हुन्छ ।
यसो भयो भने झरेको बीउ भोलि उम्रिएर अडान लिँदै उभिन सक्छ । जीवनको पहिलो सत्य आफ्नो जन्म तिथि मिति हो । तर त्यो पनि अरूबाट थाहा पाउनुपर्छ । अनि आफूलाई बादशाह सम्झिनुको अर्थ के नै रहन्छ र ? अहिलेसम्म पाँचथरी बाठाको जन्म भएको छ । एकथरि कागको फुल चोर्ने, अर्को कागको फुल चोरेर कागलाई नै अम्लेट बनाएर बेच्ने, तेस्रो कागको फुलबाट चल्ला कोरलेर कुखुरा भन्दै बेच्ने अनि पाँचौँचाहिँ कागको फुललाई गुलेलीमा राखेर कागलाई नै हान्ने ।
जीवनको रहस्य के हो ? यस्ता प्रश्नहरूको चाङ बोकेर मानिस सृष्टिदेखि अहिलेसम्म अविराम यात्रा गरिरहेको छ । तर हजारौँ, लाखौँ झुटहरूको पहरा, पर्खाल नाघेर पनि ऊ चित्तबुझ्दो सत्यमा सीमित हुन सकेको छैन । स्वच्छ, सीधा र साँचो कसले बोल्ने ? आत्मैदेखि बोल्ने अभ्यासमा हामी कति पारङ्गत छौँ ? आफ्नै हात छातीमा राखेर धर्म भाक्नुस् त- सद्विवेकको नाममा, नीति धर्मको नाममा, जीवन जीविकाको बाध्यतामा अनि राजनीतिको खालमा अन्तरआत्माको आवाजलाई कति धोका दिनुभयो ? समयले काँडा उमार्दैन । समयलाई दोष दिएर उम्किने प्रयास अब काम लाग्दैन ।
यदि यो फाल उम्कियो भने शास्त्रले भनेको यही सत्य हाम्रा लागि सद्वचन हुनेछ । हाम्रो बिन्ती छ- शास्त्रको यो भविष्यवाणी मिथ्या सावित् होस् ।
दाता दरिद्रो कृपणो धनाढ्यः
पापी चिरायुः सुकृतिर्गतायुः ।
कुले च दास्यमकुले च राज्यं
कलौयुगे षड्गुणमावहन्ति ॥
अर्थात् कलियुगमा दाता गरिब, लोभी धनी, पापी दीर्घायु, सज्जन अल्पायु, विद्वान दास र मूर्खले राज्य गर्छन् ।