जमिनमा कङ्क्रिट, छतमा तरकारी 

पोखरा । गण्डकी प्रदेशको राजधानी भएकोले पनि यहाँ बसाइसराइ र मान्छेहरूको चाप निकै बढेको छ । स्वच्छ हावापानी, सुन्दर प्रकृति र मिलेको समाज भएकैले पोखरा बस्ने लालसा धेरैलाई हुन्छ । मानिसहरूको चाप बढेसँगै पोखराको खेतीयोग्य जमिनमा प्लटिङ बढेको छ, फाँटहरूमा घर ठडिएका छन् । खेती गर्ने जमिन छैन ।

अधिकांशले बाहिरबाट खरिद गरिएका खानेकुरा खान्छन् । पोखरामा खेतीयोग्य जमिन बर्सेनि घट्दै गइरहेको छ । अलिअलि पैसा हुने बित्तिकै घडेरी किन्ने र घर बनाउने चलन पोखरामा अधिक छ । जग्गा खण्डीकरण गर्ने र आवास क्षेत्रका रूपमा बिक्री दिनहुँ हुन्छ । जसका कारण पोखराको उत्पादन निकै घटेको छ । पोखरा महानगरको सहरी योजना आयोगका अनुसार नगर क्षेत्र भित्रका २५ प्रतिशत खेतीयोग्य जमिन नष्ट भैसकेको छ ।

खेती गर्ने जमिन नभएपछि केही जाँगरिला किसानहरूले भने घरको छतमै तरकारी र फलफूल फलाउन थालेका छन् । अहिले अधिकांशको घरका छतमा घिरौँला, करेला, लौका, गोलभेँडा, कागती जस्ता तरकारी र फलफूल लटरम्म छन् । ‘पैसाले घर भाडामा पाइन्छ । जमिन किन्न र घर बनाउन पनि पाइन्छ,’ पोखराकी कौसी किसान सरस्वती थापा भन्छिन्, ‘बाहिरबाट ल्याएका खानेकुरा पैसा भए किन्न मिल्छ । तर त्यो स्वास्थ्यवद्र्धक हुँदैन ।’ स्वास्थ्य उपयोगी खानाका लागि आफैले कौसीमा उत्पादन गरेको उनले सुनाइन् ।

उनी पोखराको उत्कृष्ट कौसी किसान हुन् । उनको कौसी खेती हेर्न गण्डकी प्रदेशका धेरै जिल्लाबाट किसानहरू आउने गरेका छन् । ‘मैले तरकारी खेती गर्न थालेदेखि किन्न बजार गएको छैन । हरेक दिनलाई पुग्ने तरकारी छतमै फलाउँछु । अलिअलि छिमेकीलाई पनि दिन्छु,’ उनले भनिन्, ‘यसले एकातिर स्वास्थ्यलाई राम्रो । अर्कोतिर वातावरण स्वच्छ हुन्छ । मैले गरेको खेती हेर्न धेरैतिरबाट आउनुहुन्छ ।’ कौसी खेतीसँग नगरको सपाइ पनि जोडिएको छ । घरबाट निस्किने फोहोर सीधै कन्टेनरमा पठाउनुभन्दा तरकारी र फलफूलका बिरुवामा मलका रूपमा प्रयोग गर्ने गरेको कौसी किसानहरूले बताए । नकुहिने फोहोर पनि गमलाका रूपमा प्रयोग हुन्छन् । ‘कुहिने फोहोर मल हुन्छ । नकुहिने फोहोर गमला र करेसाका सामग्री हुन्छन्,’ थापा भन्छिन्, ‘मैले आजभोलि कुनै पनि फोहोर कन्टेनरमा फाल्दिनँ । छिमेकीका फोहोर पनि माग्न थालेको छु ।’

थापाले घरमै गढौँला मल उत्पादन गर्छिन् । त्यो बेचेर पैसा कमाएकी छिन् । ‘५ सयमा किनेको गढौँला उत्पादन गरेर ९ हजार कमाएँ । तरकारी चाहिँ खासै बेचेको छैन,’ उनले थपिन्, ‘नगर सफा राख्ने दायित्व हाम्रो पनि हो । म यसलाई सरसफाइ र स्वास्थ्यसँग जोडेर हेर्छु । सबैले त्यही सन्देश लिनुहुन्छ ।’ कौसी खेतीले एकातिर अर्ग्यानिक खानेकुरा पाइन्छ भने अर्कोतिर घरबाट निस्किने फोहोरहरूको व्यवस्थापन घरमै हुन्छ । पोखरा ८ जाल्पारोडमा कौसी खेती गर्दै आएकी सुशीला गिरीले कौसीमा लगाएको तरकारीबाटै परिवारको माग धानेकी छिन् । उनको परिवारमा सधैँजसो ७ देखि १० जनासम्म हुन्छन् । कुरिलो, लसुन, गोलभेँडा, घिरौँला लगायत मौसमी र बेमौसमी तरकारी उनको छतमा सधैँ भइरहन्छ ।

पोखरा महानगरपालिकाले पनि कौसी खेती गर्न प्रोत्साहन गर्दै आएको छ । कौसी खेतीसङै घरबाट उत्पादन हुने ८० प्रतिशत फोहोर व्यवस्थापन भएको र ६० प्रतिशत तरकारी उत्पादन भएको महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । नगरपालिकाले तालिम, कम्पोस्ट विन र मल तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले सरकारले लकडाउन गरेकै समयमा दुई पटक भर्चुअल तालिम लिएर आमा समूहका सदस्यहरूले कौसी खेती गर्ने जाँगर देखाएपछि जनप्रतिनिधि पनि खुसी छन् । ‘वातावरण सुधार हुन्छ । घरायसी फोहर कुहाएर कम्पोस्ट मल बनाउँछन् । स्वच्छ र ताजा उत्पादन खान पाउँदा किसानहरू खुसी भएका छन्,’ कडरियाले भने, ‘यसले आयात न्यूनीकरणमा सहयोग पुगेको छ ।’

पोखरामा १ लाख ५० हजार हाराहारी घरहरू छन् । तीमध्ये ३० प्रतिशतले कौसी खेती गरेको महानगरको आँकडा छ । ‘एउटा घरले दिनको १ किलो उत्पादन गरे पनि ८१ सय टन आधा वर्षमा उत्पादन हुन्छ । औसत मूल्य हिसाब गर्ने भने २५ करोडको तरकारी आयात कौसी खेतीले रोकेको छ,’ उनी भन्छन्,‘अब सहर भित्र बाँझो रहेको जग्गा सदुपयोग गर्न सकिन्छ । उत्पादन गरेको बस्तुको बिक्री वितरण गर्ने सम्भावना राम्रो छ ।’ उनले कौसीमै गर्ने खेती पनि आधुनिक प्रविधियुक्त गर्नुपर्ने बताए । अहिले घरमा मात्रै होइन, होटल, हस्पिटल, स्कुल र होस्टेलमा समेत कौसीखेती सुरु भएको कडरियाको भनाई छ । बजार केन्द्रित वडाहरूमा कौसी खेती बढी छ ।

महागरले कौसी खेती प्रवर्द्धनका लागि यो वर्ष ६ लाख विनियोजन गरेको छ भने सबैजसो वडाहरूले पनि ५ देखि १० लाखसम्म छुट्याएका छन् । ‘कौसी खेती गर्ने महिला दिदीबहिनीहरू निकै उत्साही हुनुहुन्छ । वडाले पनि उहाँहरूलाई सहयोग गर्दै आएको छ,’ वडा नम्बर ८ का अध्यक्ष रुद्रनाथ बरालले भने, ‘खाली जमिन सहरमा पाइन छोड्यो । कौसीमै गरेको उत्पादनले पनि नागरिकलाई स्वस्थ राख्छ ।’ अहिले टोल टोलबाट महिलाहरूले कौसी खेती तालिमको माग गर्न थालेका छन् । महानगर र वडाले प्रविधि र उपकरण सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *