जीवनका पाना : द शो मस्ट गो अन… 

काठमाडौँ । केही दिनअघि कान्ति न्यौपानेको ब्लग ‘कहाँ गए म सचिव हुँदा दिनमा तीनचोटि नमस्कार गर्नेहरू ?‘ पढेँ । फुपूको घर पुगेकी उनले सेवानिवृत्त सरकारी सचिव रहिसकेका फुपाजुको भोगाइलाई पस्किएकी थिइन् । ब्लग पढ्दै गर्दा उक्त भोगाइ मेरो आँखामा पनि चलायमान भयो ।

०००

धेरै चलचित्रकर्मी र सङ्गीतकर्मीले सामाजिक सञ्जालमा सेयर गरेको भिडिओ के रहेछ ? भन्ने जिज्ञासाले तान्यो । पोस्टरमा देखिएका दुई अग्रजको अनुहार देखेपछि भिडिओभित्र प्रवेश नगरिरहन मन मानेन । पोस्टरमा थिए दुई अग्रज अनुहार, मदनकृष्ण श्रेष्ठ र सरोज खनाल । मदनले मृत्युसँगको पटक पटकको युद्ध जितेका छन् भने अमेरिका पुगेर लामै समय बिताएका सरोजलाई कलाकारिता मोहले तानेर पुनः नेपाली कला क्षेत्रमा सक्रिय बनाउँदैछ । केही त भिन्न पक्कै छ भन्ने अपेक्षासहित भिडिओ खोलेँ ।

०००

‘बुढेसकालको एक्लोपन’ समेटेर गीत ‘जीवनको पाना’ सार्वजनिक गरिएको रहेछ । कान्तिले आफ्ना फुपाजुको विषयमा गरेको बयान र सरोजको कन्सेप्टमा तयार एक कलाकारको भोगाइ उस्तै उस्तै लाग्यो । जुन दृश्य ब्लग पढेर मेरो मानसपटलमा बनेको थियो‚ सोही दृश्य जीवनका पाना भिडिओमा देख्न पाउँदा सबैको उत्तरार्द्ध यस्तै पो रहेछ कि भन्ने भान परेको छ ।

०००

क्यामेरा घुमाउँदै कुमारी, आमा, माइतीघर चलचित्रको पोस्टर देखाउँदै भिडिओ सुरु हुन्छ । क्यामेराको घुमाइसँगै सरोज खनालको आवाजमा डाइलग सुरु हुन्छ, ‘कुनै मोडमा उभिएर जति नै विगत पर्ख तिमी, अहँ ! विगत फर्किँदैन । जीवनभरि घडीको काँटाको गतिमा के के खोज्न दौडियौ तिमी, अब अहिले जीवनका काँटाहरू निस्तेज हुन थालेपछि यस खण्डहर उमेरमा तिमीलाई अतीतको याद आयो ? जति नै पर्ख तिमी, त्यो कलिलो अतीत फर्किँदैन । तर, कहिलेकाहीँ वर्तमानको डिलमा उभिएर हेर्दा, भविष्यको क्षितिजमा उत्साहको नौलो सूर्यले चिहाइरहेको पाउनेछौ । किनकि अतीतजस्तो, भविष्य कहिल्यै बुढो हुँदैन । त्यसैले त भन्छन्, द शो मस्ट गो अन…’

बुढेसकालको सहारा लौरो समाएको हात देखाउँदै क्यामेरा लौरोसहित जुत्तातर्फ सोझिन्छ । लौरो र खुट्टाको अघि बढ्दो छालसँगै लौरोको टकटक आवाज सुनिन्छ । सेतो पहिरनसँगै सेतै फूलेको कपाल र केही गलेको शरीर, थाम्न नै गाह्रो गरेर अघि बढ्दैछ । वृद्धको अघि पिलिक पिलिक बलेको बत्तिले भित्तामा पहेँलो प्रकाश फ्याँकिरहेको छ । वृद्ध उतै जाँदैछन्, डाइलगले दृश्यलाई अझ बृहत् रूपमा व्याख्या गरिरहेको छ ।

फ्रेम परिवर्तन हुन्छ, सेतै दारी, लौरोमा अडिएको शरीर, थाम्न गाह्रो भएको टाउको, मोटो फ्रेम भएको चस्मा लगाएका वृद्ध (सरोज खनाल) आफ्नो युवावस्था र उक्त समयको सफलतालाई नियाल्दै छन्, अवार्ड र सम्मानहरूमा आँखा डुलाउँदै । थर्थराएको शरीर थामेर हेर्दै गर्दा उनको आँखामा चमक देखिन्छ । कारण‚ राजा वीरेन्द्रबाट सम्मान थाप्दै गरेको तस्बिर हुन्छ । आँखासँगै ओठमा मुस्कान छाउँछ भने हात थर्थराउँदै तस्वीरतर्फ तानिन्छन् ।

तर, अनुहारमा अचानक बादल छाउँछ । सरोजले आफूले ओडेको खास्टो तान्दै गर्दा मदनकृष्ण श्रेष्ठको स्वरमा गीत सुरु हुन्छ,’ जीवनको पाना पुरानो अब भएर गएछ, बितेका ती दिन केवल अब सहारा भएछ…’

वाकिङ चेयरमा झुल्दै, जीवन झुलिरहेको सङ्केत दिन्छन्, उनी । शब्द, सङ्गीत र दृश्यलाई उनको अभिनयले न्याय गरेको छ । थाकेको आँखा लिएर उनी प्रेमपिण्ड, प्रेम गीत, चुनौती, धर्मलगायत आफूले युवा अवस्थामा काम गरेका पुराना चलचित्रको काम सम्झिँदैछन् । लौरोले मात्रै नधानेको बुढो शरीर लिएर उनी हातको समेत सहारामा अघि बढ्दै विगत सम्झिँदैछन् । यादमै उनले लौरोलाई बाँसुरी सम्झिएर बजाउन थाल्छन् । मुजा परेको अनुहारमा त्यो यादले भरेको मिठो मुस्कान हेर्न लायक छ ।

तर दृश्य परिवर्तन हुनासाथ वृद्धको आँखाबाट आँसु झर्छ । कारण, विगतमा थापेको अवार्ड । उक्त अवार्ड च्याप्प समातेर आँखाबाट पिर्लिक्क आँसु खसाल्दा दर्शकको नाताले मेरो आँखासमेत भरिएको थियो । त्यो दर्शकको माया, होहल्ला, भीडभन्दा पर उनी एक्लो जीवन व्यतीत गर्दै छन् ।

बिस्तारै उमेर ढल्किँदै जाँदा निर्देशकबाट भएको फेरिँदो व्यवहारसमेत उनले सम्झिएका छन् । नयाँ कलाकारलाई दिइने सुविधाको एक रत्ति पनि नपाएको दृश्यमा नयाँ निर्देशकले उमेर र अनुभवको ख्यालै नगरी उनीप्रति तल्लो स्तरको व्यवहार गरेका छन् । यो दृश्यमा नाम उल्लेख नै नगरी सरोज खनालले निर्देशक निश्चल बस्नेतको अभिव्यक्तिलाई बताएका छन् ।

‘एकान्त वनको त्यो रुप्से झरना झर्न पो छोडेछ…’

यतिकैमा ताली बजाउँदै, सरोजलाई ‘राम्रो गर्‍यौ’ भन्दै मदनकृष्णको ईन्ट्री हुन्छ । अग्रजलाई देखेर उनको हात जोडिन्छ भने शिर श्रद्धाले निहुरिन्छ । नेपथ्यमा कागको कर्कश आवाज र वृद्धको लौरी समाएको दृश्यसँगै भिडिओ सकिन्छ ।

७ मिनेटभन्दा कमको भिडिओले एक कलाकारको पुरै जीवन बोलेको छ । बमकुमार श्रेष्ठका अत्यन्तै सरल शब्दमा सन्तोष श्रेष्ठले गम्भीरतासहितको सङ्गीत भरेका छन् । मदनकृष्णको वृद्ध आवाज भिडिओलाई सुहाउँदिलो छ । सरोज खनालको कन्सेप्ट रहेको भिडिओ राज केसीले निर्देशन गरेका छन् । उत्तम हुमागाईँ र समूहको क्यामेराको कामले भिडिओ अझ अब्बल बनाएको छ भने सम्पादन र कलरको काममा रमेश थापाको दक्षता देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *