के हो निपाह भाइरस, कसरी बच्ने ?
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणले विश्वलाई नै थकित बनाएको बेला पुनः निपाह भाइरसको सङ्क्रमणको जोखिम बढेको छ । निपाह भाइरसका कारण भारतमा एक बालकको मृत्यु भएपछि नेपालमा पनि जोखिम झनै बढेकाले सावधानी अपनाउन जरुरी रहेको भाइरोलोजिस्टहरूले बताएका छन् । निपाह कस्तो भाइरस हो र कसरी बच्ने ? यसै विषयमा सरुवा रोग विशेषज्ञ तथा टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनसँग मकालुखबरकर्मी समीक्षा गाहाले गरेको कुराकानी :-
निपाह भाइरसबाट कसरी सावधानी अपनाउने ?
भारतमा एक जना १२ वर्षीय बालकको निपाह भाइरसका कारण मृत्यु भएको छ । निपाह भाइरस सर्न मद्दत गर्ने चमेरा नेपालमा पनि प्रशस्त छन् । जसबाट पनि यो भाइरस सर्न सक्ने सम्भावना प्रबल छ । चमेराले खाएको फलफूलबाट पनि यो भाइरस सर्न सक्दछ । नेपालमा सुँगुर पालन पनि धेरै रहेकाले सुँगुर बिरामी भयो भने पनि यो भाइरस सर्न सक्ने हुन्छ ।
कुनै कारणले भाइरस सुँगुरमा पुगेको रहेछ भने त्यसबाट सार्ने सम्भावना धेरै हुन्छ । यस्तै यो भाइरस मानिसबाट मानिसमा पनि सर्न सक्ने भएकाले सङ्क्रमितलाई क्वारेन्टीनमा राख्ने चलन आइसकेको छैन । कोरोनालाई मात्र लक्षित गरेर क्वारेनटाइन बनाइएको छ । तर‚ अहिलेसम्म कोरोनाजस्तो यो भाइरस छिट्टै फैलिहाल्ने प्रकृतिको नभएको पाइएको छ । तर‚ निपाह भाइरसको मृत्युदर भने उच्च छ ।
नेपालमा निपाह नियन्त्रणका लागि भएका प्रयासहरू कस्ता छन् त ?
निपाह भाइरसको नियन्त्रण र रोकथामका लागि नमुना सङ्कलन तथा शङ्कास्पद व्यक्तिको नमुना पठाउन नेपाल सरकारले निर्देशन दिएको छ । तर त्यो सूचना आम मानिसमा पुगे/नपुगेको भने अनुगमन हुन सकेको छैन । यसबाट आम मानिसका साथै स्वास्थ्यकर्मीहरू बढी जोखिममा छन् । किनभने कोही मानिस सङ्क्रमण फैलिएको ठाउँबाट आयो भने त्यो व्यक्तिमा केही लक्षण देखिनासाथ सुरुमा स्वास्थ्य केन्द्रमा जान्छ‚ यसले गर्दा पनि स्वास्थ्यकर्मी बढी जोखिममा पर्ने गर्छन् ।
एउटा प्रयोगशालामा काम गर्ने मानिस र अर्को आम स्वास्थ्यकर्मीहरूको सन्दर्भमा‚ प्रयोगशालामा काम गर्ने व्यक्तिले सुरक्षित तवरबाट स्याम्पल सङ्कलन गर्न नसक्दा ऊ आफैँ पनि सङ्क्रमित हुने डर हुन्छ । त्यस्तै चिकित्सकले पनि केही गरी परामर्श र उपचार गर्ने समयमा सुरक्षित साथ नगरेमा उसलाई पनि भाइरस सर्न सक्ने सम्भावना हुने भएकाले स्वास्थ्य केन्द्र पनि जोखिममा हुन्छन् । यस्तै सुँगुर पालक किसान पनि यसको जोखिममा हुन्छन् । गाउँको नजिक‚ जहाँ चमेराहरू हुने ठाउँमा पनि हुने नै भयो ।
नेपालमा अहिलेसम्म पुष्टिचाहिँ भइसकेको छैन । चाडबाड नजिकिँदै गरेको अवस्थामा भारतबाट काम गरेर नेपाल फर्कने नेपालीहरूबाट जोखिम बढ्छ कि ?
निपाह भाइरस सङ्क्रमण भएको साढे १४ दिनमा लक्षण देखिने भनेर भनिएको छ । १४ दिनमा लक्षण देखिन सक्छ भने त्यो भाइरस फैलिएको क्षेत्रबाट आएका मानिसलाई १४ दिन क्वारेनटिनमा राख्नुपर्छ । कोरोना भाइरसमा जस्तै १४ दिन क्वारेनटिनमा राख्ने गर्दा‚ सङ्क्रमण भए लक्षण देखिने‚ र नभए नदेखिने हुन्छ । त्यसरी पनि सावधानी अपनाउन सकिन्छ । बाहिरबाट आउने व्यक्ति सङ्क्रमित भएको रहेछ भने पनि कमसेकम घरपरिवार र समुदायमा फैलन पाउँदैन । र सबै सुरक्षित भइन्छ ।
एकै पटक दुवै कोरोना र निपाह भाइरस भएको अवस्थामा आम सर्वसाधारणले कसरी सुरक्षित हुने‚ उपायहरू के हुनसक्छ ?
नेपालमा निपाह भाइरस पुष्टि भइनसके पनि हामीले सतर्कता अपनाउन एकदमै जरुरी छ । कि यसको मृत्युदर उच्च भएकाले विशेष सावधानी अपनाउन आवश्यक छ । सङ्क्रमण हुनुभन्दा पहिले सावधानी अपनाए मात्र जोखिमबाट बच्न सकिन्छ । यसबाट हुने हानीबाट बच्न सकिने सम्भावना रह्यो । कोरोनामा धेरैलाई सङ्क्रमण हुने‚ तर मृत्युदर धेरै थिएन भने निपाहमा सङ्क्रमण थोरैलाई हुने‚ तर मृत्युदर उच्च छ । त्यस कारण निपाह भाइरस कोरोनाभन्दा ठ्याक्कै उल्टो छ । त्यस कारण नेपाल निपाह भाइरसबाट उच्च जोखिममा छ । यसलाई उच्च घातक भएको सङ्क्रामक रोग पनि भन्न सकिन्छ ।
थरिथरिका खतरनाक भाइरसहरू आइरहँदा विद्यालय पनि खुलिसकेको अवस्थामा जोखिम झन् बढेर जान्छ कि ?
जोखिम कायम नै रहेका बेला विद्यालय खुलिसकेको अवस्थामा अब व्यवस्थापनलाई नै जोड दिनुपर्छ । विद्यालयमा विद्यार्थी बस्नेदेखि लिएर विद्यालय जाँदा विद्यार्थीहरूलाई कसरी बसाल्ने र त्यसको व्यवस्थापन गर्ने, त्यहाँका कर्मचारीहरू सुरक्षित छन् भनेर कसरी ढुक्क हुने, बालबालिकामा कसैलाई सङ्क्रमण देखिहालेमा कसरी त्यो विद्यालयमा थप फैलन नदिन के गर्ने यी सबै कुरामा ध्यान दिनु जरुरी हुन्छ । अनि मात्र विद्यालय चलाउने गर्नुपर्छ ।