नालायक !

नालायक !

बाटो बिराउनेलाई
नुर गिराउनेलाई
सुन छिराउनेलाई
जन पिराउनेलाई
कसरी भन्नु अगुवा ?
ताज ताक्न सक्ने
लाज ढाक्न नसक्ने
आफू ढ्याउव्व डकार्ने
भोकाएँ भन्नेलाई उल्टै हकार्ने
लोभीपापी हुतिहारा र गतिछाडालाई कसरी भन्नु नेता ?

दानदातव्य लिएर विकास गर्ने
आफ्ना तन्नेरी जति विदेश निकास गर्ने
अङ्ग्रेजीलाई हाइहाइ गर्ने
अङ्ग्रेजले खोसेको जमिन र स्वाभिमान
फर्काउनै सकिन्न भन्ने
आफूलाई सधैँ ठूलो देखाउन
नेपालीमा सानो र अङ्ग्रेजीमा ठूलो नामपाटी टाङ्ने
मुखमा खिया र गालामा पोतो लागेकाहरूलाई
म कसरी भनौँ प्रमुख, मुख्य, सम्मुख सभामुख ?

ए आफूलाई मझधार हौँ भन्नेहरू हो?
कतिन्जेल ढाँटिरहन्छौ अझै मान्छेहरूलाई
मलाई मजाले थाहा छ तिमीहरू
न धार हौ न मझधार नै
तिमी त बोधा दोधारहरू हौ
न हाँस न बकुल्लाको चालले
देश हाँक्छु भन्नेहरू जो देश भजाइरहेछन् र खाइरहेछन्
तिनलाई म कसरी भनौँ नायक?

मेरो पुस्तामा अगुवा, नेता, प्रमुख, सभामुख र नायक
यी सबै शब्दको अर्थ बोक्ने एउटै शब्द काफी छ– नालायक ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *