अर्थमन्त्रीलाई प्रश्न- ‘अब पेलेरै अघि बढ्ने हो ?’

बजेटमा सामान्य करेक्सनबाहेक केही गरिएको छैन

काठमाडौँ । विनियोजन विधेयक पारित भएपछि सोमबार (आज) को प्रतिनिधि सभा बैठक कक्षबाट बाहिरिएका अर्थमन्त्री जनार्दन शर्मालाई सोधियो— ‘अब संसद्मा पेलेरै अगाडि बढ्ने हो ?’

जवाफमा अर्थमन्त्री शर्माले भने, ‘प्रतिपक्षसँग हामीले सौहार्दपूर्ण वातावरण बनाउँछौँ । तपाईंहरूलाई नै पनि थाहा छ, सभामुखले सर्वदलीय बैठक बोलाउनुभएको । त्यो वातावरण भनेको वार्ता हो, संवाद हो । त्यो हामी गरिरहेका छौँ । प्रधानमन्त्रीले पहल गर्दै हुनुहुन्छ, कानूनमन्त्रीले पहल गर्दै आउनुभएको छ । सौहादपूर्ण वातावरण बनाउँछौँ ।’

त्यसो त गत भदौ २३ गतेयता चलेको प्रतिनिधि सभाको ९ औं अधिवेशनअन्तर्गतका सबै बैठक प्रमुख प्रतिपक्षी एमालेले अवरुद्ध गर्दै आएको छ । एमालेको आरोप छ ‘सरकार पूर्वाग्रही’ बन्यो । आजको बैठकमा समेत नाराबाजीलाई कायमै राखेको एमालेलाई अर्थमन्त्री शर्माले ‘आउनुस् वार्ता गरौँ, मिलेर अगाडि बढौँ’ भन्दै प्रस्तावसमेत गरे ।

सरकार पूर्वाग्रही नबनेको अर्थमन्त्री शर्माको जिकिर छ, भन्छन्— ‘सरकार पूर्वाग्रही बनेको छैन । अहिलेको अवस्थामा सरकारलाई बजेटदेखिका सबै विषयहरूलाई एकैचाटी अघि बढाउनुपर्ने अवस्था छ । सरकार बाध्यात्मक अवस्थामै छ, त्यसैले संसद्मा पनि नरोकीकनै अघि बढ्नुको विकल्प छैन ।’

सरकारले एकतर्फी रूपम संसद् सञ्चालन गरेको प्रतिपक्षको आरोप छ नि ? भन्ने जिज्ञासामा अर्थमन्त्रीको शर्माको जवाफ थियो— ‘मैले अघि रोष्ट्रमबाट पनि भनेँ । वार्ता र संवाद गर्दै अगाडि बढ्ने हो । उहाँहरू मान्नुहुन्न, बैठकमा बोलाउँदा आउनुहुन्न । अब सरकारले के गर्छ ? तपाईंहरू नै भन्नुस् त के गर्न सक्छ ?’

‘बजेटमा सामान्य करेक्सनबाहेक केही गरिएको छैन’

अर्थमन्त्री शर्मा अघिल्लो सरकारले ल्याएको बजेट तथा कार्यक्रममा केही करेक्सनबाहेक केही नगरेको बताउँछन् । ‘उहाँहरूले जत्ति असन्तोष देखाउनुभएको छ, त्यति नै बजेटमा केही गरिएको छैन,’ अर्थमन्त्री शर्माले भने, ‘त्यो पनि राजस्व बढाउने लक्ष्य राखेर त्यसो गरिएको हो ।’

अघिल्लो सरकारले ल्याएको योजनाहरू नकाटिएको अर्थमन्त्री शर्मा बताउँछन्, भन्छन्— ‘कुनै योजना काटिएको छैन । रोकिएको पनि छैन । राजस्व बढाउने लक्ष्य राखेर बजेटको व्यवस्थापन गरिएको हो अरू केही गरिएको छैन ।’

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले ल्याएको योजना तथा कार्यक्रम खारेज गरेर आफूखुसी र काम नलाग्ने बजेट ल्याएको बताउँदै आएका छन् । यहीतर्फ लक्षित गर्दै अर्थमन्त्री शर्माले भने, ‘हामीले बजेटमा केही गरेको छैनौँ । मात्रै राजस्व बढाउनेगरी त्यही बजेटको व्यवस्थापन गरेका हौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *