प्रचण्डले पार्टी विभाजनको धम्की दिनुको कारण दोस्रो तहका नेता हुन् ?
बारम्बारको धम्कीको अर्थ ?
काठमाडौँ । ‘माओवादी पनि एउटा लोगोजस्तै होला कि भन्नेजस्तो भएको छ । एमालेको सूर्य भनेजस्तै क्या । सूर्य भन्या छ, सक्कियो । हाम्रो पनि त्यस्तै पो होला कि जस्तो नि । हामी पनि त्यही बाटो हिँड्न थालेजस्तो । यही बाटो हिँडिराख्ने हो भने त यो पार्टी किन चाहियो र ? विघटन गरे भइगो नि । योबारेमा कमरेडहरूले पनि सोच्नुहोला ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २४ गते एक कार्यक्रममा भनेका थिए, ‘हामीले हिजो भनेको त्यत्रो शहीद, बलिदान, क्रान्ति, समाजवाद, समाज, देश, जनता भनेर आएको पार्टी पनि एमालेजस्तै बनियो भने त यो पार्टीको कामै भएन । यो त विघटन गरिदिए पनि हुन्छ । यदि यस्तै रहिरहने हो भने त विघटन गर्दै राम्रो ।’
असोज ४ गते अर्को कार्यक्रममा प्रचण्डले पुनः दोहोर्याए— ‘जनताले हेर्दैखेरी थाहा पाउनुप¥यो क्या, यी चाहिँ माओवादी हुन् भनेर । हाम्रो नेता÷कार्यकर्ता देख्नेबित्तिकै जनताले यिनीहरू चाहिँ माओवादी हुन्, समाजवादी हुन्, यिनीहरू न्यायका लागि लड्छन् भनेर थाहा पाउनुप¥यो । यसरी चिनिनुपर्नेमा हामी आजकल चिनिँदैनौँ क्या । नाम चाहिँ त विज्ञापनजस्तो माओवादी केन्द्र भन्ने छ । तर कुन एमाले, कुन कांग्रेस, कुन माओवादी नचिनिने । यस्तै शृङ्खला रह्यो भने त यो पार्टी भएर के हुन्छ ? नभए पनि के हुन्छ अर्थै रहेन । यदि यस्तै रहिरह्यो भने त विघटन गर्दा पनि हुन्छ ।’
000
प्रचण्डले सार्वजनिक रूपमै माओवादी केन्द्र विघटन गर्ने कुरा पटक–पटक गर्न थालेका छन् । सशस्त्र विद्रोहका आफ्ना सहकर्मीहरूलाई छेउछाउ राखेर प्रचण्डले ‘यस्तै हो भने माओवादी केन्द्र विघटन गर्दिउँ’ भन्न थालेका छन् ।
विचारधारा, रणनीति, कार्यक्रम र संगठन यी चाहिँ पार्टी सञ्चालको आधारभूत आवयश्यक्ता नै हुन् । माओवादीमा यी सबै तहमा विचलनहरू देखिन्छ ।
प्रचण्डको यो चेतावनी/धम्की दोस्रो तहका नेताहरूप्रति लक्षित रहेको उनीनिकट नेताहरु बताउँछन् । ‘पछिल्लो समय दोस्रो तहका कमरेडहरूले देखाइरहेको व्यवहार अध्यक्ष कमरेडको बोलीमा झल्किन्छ आजभोलि,’ एक नेताले मकालुखबरसँग भने, ‘उहाँको यो भनाइ पनि त्यहीतर्फ लक्षित हो । पार्टीभित्रका अन्य समस्यामा दोस्रो तहका नेताहरूले गरेको असहयोगको प्रतिकात्मक रूप पनि हो उहाँको भनाइ ।’
खासगरी ०७७ फागुन २३ गते सर्वोच्च अदालतले पार्टी टुक्र्याइदिएपछि आउँदो चुनावमा सबैभन्दा ठूलो शक्ति बन्ने होडमा दोस्रो तहका नेताहरूले साथ नदिएको प्रचण्डको ‘गुनासो’ रहने गरेको छ । यत्तिसम्म कि, भदौ २७ गते आइतबार प्रचण्डले पार्टीको आधार खुम्चिँदै गएकोतर्फ संकेत गर्दै भने— ‘दुई/चार वर्षभित्र आफैं मात्रै हुने हो कि भन्ने चिन्ता लाग्न थालेको छ ।’
प्रचण्डको यो भनाइको अर्थ के हुनसक्छ ? भन्ने मकालुखबरको जिज्ञासामा नेता राम कार्कीले भन्छन्, ‘प्रचण्डजीमा बेचैनी छ । उहाँमाथि धेरै जिम्मेवारी छ । हिजोको शहीदका सपनाहरू छन्, जनताका भावना, अपेक्षा र आशाहरू छन् । प्रचण्डजीमा यत्तिको बेचैनी हुनुपर्छ । किनकि हिजोदेखिको प्रचण्डजीको इतिहास हेर्ने हो भने उहाँले अहिलेसम्म धेरै गरिसक्नुपर्ने हो । तर, बीचमा अनेक समस्या, अन्य नेताहरूको असहयोगलगायतका कारण गर्न सक्नुभएन ।’
नेता कार्की प्रचण्डले पनि योबीचमा गल्तीहरू गरेको ठान्छन्, । ‘नेतृत्वबाट पनि केही गल्तीहरू भएकै छन् । यसलाई उहाँले पनि स्वीकार्नुहुन्छ यो राम्रो हो । तर, स्वीकारेर मात्रै नहुने अवस्था आइपुगेको छ ।’
प्रचण्डले आफ्ना अनुयायीलाई मात्रै आफ्नो उत्तराधिकारीको रूपमा हेरेको नेता कार्की बताउँछन् । ‘एउटा नेता भएर आफ्नो आलोचकहरूलाई छेउमा राख्न सक्नुपर्छ, आफ्नो कमीकमजोरी औंल्याउन सक्नेहरूलाई छेउमा राख्न सक्नुपर्छ । तर, उहाँले त्यो सक्नुभएन । खाली आफ्नैलाई आफ्नो उत्तराधिकारी देख्नुभयो । यसले चाहिँ खास नेता बनाउँदैन, यी अहिलेका जस्तै जे छ ठिक छ भनेर रमाउने मात्रै बनाउँछ ।’
प्रचण्डबाहेकका अन्य नेताहरू ‘जे छ ठिक छ’ भन्दै यस्तैमा रमाइरहेको टिप्पणी गर्दै नेता कार्कीले थपे, ‘प्रचण्डजीको बेचैनी अन्य नेताहरूले बुझ्नुहुन्न । यो अब बुझ्न आवश्यक छ ।’
त्यसो त माओवादीबाट धेरै नेताहरू हिँडिसकेका छन् । मोहन वैद्यदेखि बाबुराम भट्टराई, रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहदेखि गौरीशंकर चौधरीसम्मले माओवादी केन्द्र छाडेका छन् । नेताहरुले छोड्ने मात्र नभएर अरुपनि धेरै समस्याले यस्तो हुने कार्कीको भनाइ छ ।
प्रचण्डले किन सकेनन् दोस्रो पुस्ता तयार पार्न ?
०४६ सालयता माओवादी केन्द्रको नेतृत्व तहमै छन् प्रचण्ड । योबीचमा महत्त्वपूर्ण घटनाको रूपमा रहेका जनआन्दोलनदेखि संविधान जारीसम्मको नेतृत्व पनि प्रचण्डले नै गरे ।
जिम्मेवारी र अवसर दियो, पार्टी बनाउलान् भनेर । तर, जिम्मेवारी पूरा नगरी अन्त हिँडिदिने ?
संगठन विस्तार गर्ने, पार्टीलाई बलियो बनाउने, नेताहरूलाई क्षमताका आधारमा जिम्मेवारी दिएर रिझाउनेलगायका कामहरूको जिम्मेवारी प्रचण्डलाई नै थियो ।
यसबीचमा पार्टीलाई चुस्त दुरुस्त बनाउन स्वयम् प्रचण्ड नै चुकेको उनीनिकट एक नेता बताउँछन् । ‘अध्यक्ष कमरेडले पनि योबीचमा गल्तीहरू गर्नुभयो,’ एक नेताले भने, ‘उहाँले आफ्नो उत्तराधिकारी तयार पार्न सक्नुभएन । त्यो जसले जे भनेपनि उहाँकै गल्ती हो । यसमा दुई मत छैन ।’
नेता राम कार्की पनि दोस्रो नेतृत्व तयार गर्न नसक्नु प्रचण्डकै दोष भएको बताउँछन् । ‘उहाँले आफ्नो समर्थकलाई मात्रै नेता बनाउन खोज्नुभयो,’ नेता कार्की भन्छन्, ‘यही उहाँको भूल भयो ।’
प्रचण्डले प्रायः गरेर दुईवटा सर्त पार्टीमा राख्दै आएका छन् । नयाँ विचार र सिद्धान्तका साथ आउने नेतालाई नेतृत्व सुम्पने र नेतृत्व लिन नसक्ने हो भने पार्टीलाई हिजोको जस्तै ठाउँमा पु¥याउन सहयोग गर्ने । प्रचण्डले यसो गर्न नसकिए ‘भो पार्टीलाई विघटन गर्दिउँ’ भन्दै आएका छन् । प्रदेश नं. १ का नेताहरूलाई भर्चुयूअल रूपमा सम्बोधन गर्नै प्रचण्डले रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरीलगायतका नेताहरूले धोका दिएकामा चित्त दुखाएका थिए । उनले भनेका थिए— ‘जिम्मेवारी र अवसर दियो, पार्टी बनाउलान् भनेर अपेक्षा गरिएको हुन्छ । तर, जिम्मेवारी पूरा नगरी अन्त हिँडिदिने ?’
दोस्रो पुस्ताको स्वकारोक्ति– माओवादी सोचेजस्तो चलेन
दोस्रो तहका नेताहरू आफूहरू ‘प्रचण्डले सोचेजस्तो त के, आफूहरूले सोचेजस्तै पनि पार्टी नचलेको बताउँछन् ।
दोस्रो तहका नेता नारायणकाजी श्रेष्ठ भन्छन्, ‘पार्टी सोचेजस्तो चलेकै छैन । नेतृत्वबाट पनि गल्ती भयो । यसले गर्दा जनताहरूले मन नपाउने पनि भयो । आज पनि त्यही भन्या छ, भोलि पनि त्यही भन्या छ, पर्सि पनि त्यही भन्या छ । अनि कहाँबाट हुन्छ बलियो पार्टी ? यसरी त केही पनि हुँदैन ।’
आफूहरूले भनेजस्तो पार्टी नभएको नेता श्रेष्ठ बताउँछन् । भन्छन्– ‘अध्यक्ष कमरेडले सोचेजसरी पार्टी चलेन, हामील्यै सोचेजसरी पनि पार्टी चलेन ।’
नेता गजेन्द्रबहादुर महत भन्छन्, ‘हिजो हामी जेका लागि लडेका थियौँ, विद्रोह गरेका थियौँ । अहिले आएर थप उपलब्धिहरू गर्दै जानुपर्नेमा त्यो पहिलो चरणमा प्राप्त भएका उपलब्धिहरू नै गुम्ने खतरा आयो । नेताहरूकै कारण यस्तो भयो । माआवादी चाहिँ छुट्टै इतिहास बनाएर आएको पार्टी, फरक पहिचान बनाएर आएको पार्टी थियो । तर आजको तह भने कांग्रेस–एमालेजस्तै भयो भन्ने अध्यक्ष कमरेडको चिन्ता हो । कांग्रेस–एमाले चाहिँ माओवादीजस्तो बनाउनुपर्नेमा हामी चाहिँ कांग्रेस–एमालेस्तो भइयो ।’
प्रचण्डनिकट नेता हेमकुमार राई पनि पार्टीमा अध्यक्षदेखि सबैले गल्ती गरेको औंल्याउँछन् । ‘पार्टीमा समस्याहरू छन्, जुन सबैकै कारण आएको समस्याहरू हुन् । अध्यक्ष कमरेडको पनि केही कमीकमजोरीहरू होलान्, त्यसमा अन्य नेताहरूको पनि छन् । यसले अहिलेर आएर केही कमजोरीहरू देखिए । यसले गर्दाखेरि अध्यक्ष कमरेडलाई यस्तो लागेको हो,’ नेता राईले भनेका छन् ।
बारम्बारको धम्कीको अर्थ ?
राजनीतिक विश्लेषक हरि रोका पार्टी संस्थागत नहुँदा र बनाउन नसक्दा प्रचण्डले पटक–पटक यस्तो धम्की दिने गरेको विश्लेषण गर्छन् । ‘माओवादीमा धेरैखाले समस्याहरू छन्,’ विश्लेषक रोका भन्छन्, ‘ती समस्याहरू यस्ता छन् कि जुन तत्कालै सुझाउनसमेत गाह्रो छ । त्यसैले प्रचण्डजीले सधैं यसो भनिरहनुहुन्छ ।’
पछिल्लो समय माओवादीभित्र ‘इन्डिभिज्यूअलिजम्’ देखिँदै गएको उल्लेख गर्दै पार्टी चल्न मूख्यतः ४ कुरारहू अनिवार्य रहेको विश्लेषक रोक्काको विश्लेषण छ, भन्छन्— ‘विचारधारा, रणनीति, कार्यक्रम र संगठन यी चाहिँ पार्टी सञ्चालको आधारभूत आवयश्यक्ता नै हुन् । माओवादीमा यी सबै तहमा केही न केही विचलनहरू देखिन्छ । यसो हुँदा पनि प्रचण्डजीलाई त्यो लागेको हो ।’
प्रचण्डले अन्य दलहरूभन्दा फरक खालको पार्टी चाहेको र अन्य दलहरूको दाँजोसमेत नपुग्दा यस्तो नैरास्यता जाहेर गर्नु स्वाभाविक रहेको विश्लेषण विश्लेषक उनको भनाइ छ । ‘पार्टीभित्रको व्यापक समस्या छन् । ती समस्या सुल्झाउने दिशातिर दोस्रो तहका नेताहरू अघि बढ्दैनन् । यसो हुँदा प्रचण्डजी पार्टी विघटनको कुरा गर्नुहुन्छ ।’