सिन्धुपाल्चोक काँग्रेस सभापतिमा वंशलाल तामाङको दाबी 

काठमाडौँ । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले काँग्रेस जिल्ला सभापति पदमा उम्मेदवारी दिने बताएका छन् । मंगलवार इन्द्रावती वडा ४ को वडा अधिवेशन उद्घाटन गर्दै तामाङले जिल्ला सभापतिमा उम्मेदवारी दिने बताएका हुन् ।

जिल्लाको काँग्रेस बलियो बनाउन वडा तहदेखि नै काँग्रेसमा सक्षम नेतृत्व आउनुपर्नेमा उनले जोड दिए । गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिवसमेत रहेका तामाङले आफूलाई जिल्लाका नेता तथा कार्यकर्ताको साथ रहेको दाबी गरे । ‘सभापति बन्नका लागि योग्य पनि छु, पार्टीका अन्य अग्रज नेताहरूको सल्लाह पनि छ, पार्टीभित्रकै साथीहरूको चाहना र इच्छा बमोजिम नेतृत्वका लागि तयार छु,’ तामाङले भने ।

सिन्धुपाल्चोक काँग्रेस नेतृत्व तहमा पूर्व सचिवसमेत रहेका तामाङ गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाललाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि जिल्ला तहमा रहेर काम गरेको अनुभव र पार्टीका नेता कार्यकर्ताको साथ रहेकाले जिल्लामा आफूले बलियो उम्मेदवार रहेको पनि उनको दाबी छ ।

काँग्रेसलाई एक ढिक्का बनाएर लैजानको लागि पनि कुशल नेतृत्व आवश्यक रहेको र त्यसको लागी आफ्नो नेतृत्व जिल्लाको लागी आवश्यक रहेको तामाङले बताए । ‘काँग्रेसलाई एक ढिक्का र एकीकृत पार्टीको रूपमा अगाडि बढाउनु जिल्लामा काङ्ग्रेसभित्र गुट र उपगुटको राजनीति अन्त्य गरी परिवर्तित स्वरूपमा काँग्रेसलाई अघि बढाउनको लागी सभापतिको उम्मेदवार हुन लागेको हुँ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *