दुवै सदनको बैठक आज

बजेट शून्यता अन्त्य गर्ने प्रयास, एमालेको नाराबाजी नरोकिने

काठमाडौँ । आजसम्ममा ‘बजेट शून्यता’को अन्त्य गर्ने प्रयास भएको छ । यसका लागि दुवै सदनबाट विनियोजन विधेयक पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्छ  ।

बजेट राष्ट्रिय सभाबाट गर्ने तयारी 
विनियोजन विधेयक (बजेट)माथि राष्ट्रियसभामा कुनै पनि संशोधन प्रस्ताव परेको छैन । ‘विनियोजन विधेयकमाथि कुनै संशोधन प्रस्ताव नआएकाले विनियोजन विधेयक आज पास हुने सम्भावना रहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।

प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि  संशोधन प्रस्ताव दर्ता गर्न सांसदलाई ४८ घण्टाको समय दिइएको थियो । तर, निर्धारित समयमा कुनै पनि सांसदले संशोधन नहालेको संसद् सचिवालयले जनाएको छ ।

विनियोजन विधेयकमाथि दफावार छलफलका लागि राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संशोधन प्रस्ताव नपरेको पृष्ठभूमिमा आजै दफावार छलफल सकेर विनियोजन विधेयक पारित गर्ने तयारी छ ।

भोलि राष्ट्रपति कहाँ
राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएपछि पुनः प्रतिनिधि सभामा जान्छ । त्यसलाई प्रतिनिधि सभाले स्वीकार सभामुख हुँदै राष्ट्रपति कहाँ पठाउने तयारी छ । राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएपछि कार्यान्वयनमा जान्छ । र बजेट होलिडेको अन्त्य हुन्छ । सरकारलाई प्रतिस्थापन विधेयकअनुसार बजेट खर्च गर्ने कानुनी बाटो खुल्नेछ ।

बजेट आश्रित विधेयक पछि पछि
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाबाट बजेट आश्रित दुई वटा विधेयक पास गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ । प्रतिनिधि सभा बैठक आज दिउँसो २ बजे बस्दैछ । संसद् सचिवालयले बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाबाट बजेट आश्रित ‘आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८’ पारित गर्ने कार्यसूची छ ।

तर, एमालेको नाराबाजी नरोकिने
प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने संसद्मा नाराबाजी नरोक्ने भएको छ । एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै सभामुखको निर्णय पनि बदर गर्न माग सर्वोच्चमा रिट दायर गरेको छ ।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश नदिएर नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय झिकाउन आदेश दिएको छ । सर्वोच्चको यस्तो आदेशका कारण संसद्मा एमालेले आफ्नो भूमिकामा कुनै फेरबदल गर्छ कि गर्दैन ? भन्ने प्रश्नमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘सर्वोच्चले दल दर्ताको फाइल मागेको छ । सभामुखको निर्णय मागेको छ । त्यसलाई हेरेर हाम्रो भूमिका संसद्मा फेरिँदैन । अवरोध जारी रहन्छ ।’

२३ भदौमा सुरु भएको संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । एमालेले सभामुखले दलहरूलाई समान व्यवहार नगरेको भनी आलोचना गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *