कोभिड संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिने ‘स्क्रब टाइफस’ के हो ?
हरेक वर्ष यो मौसममा ज्वरो र रुघाखोकीसँगै कोभिडसँग मिल्ने लक्षण भएका अन्य सरुवा रोगहरू बढ्ने गरेको विज्ञहरू बताउँछन् । आज मानिस कोभिड, मौसमी रुघा र स्क्रब टाइफस छुट्टाउन नसक्दा आत्तिने गरेका छन् ।
कतिपय त कोभिडजस्तै लक्षण देखिएका कारण पीसीआर परीक्षणका लागि प्रयोगशाला पुग्ने गरेका छन् । यहाँ स्क्रब टाइफस के हो र कसरी लाग्छ ? र बच्ने उपायबारे चर्चा गरिएको छ ।
के हो स्क्रब टाइफस ?
एक प्रजातिको किर्नाले मानी सलाई टोकेपछि स्क्रब टाइफस हुन्छ । यो ओरिएन्टा, सुसुगामुसी भन्ने ब्याक्टेरियाका कारणले हुने गर्दछ । यो सङ्क्रमण भएको ५ देखि २० दिनभित्रमा लक्षणहरू देखिन शुरु हुन्छ ।
पछिल्लो समय यसका बिरामीको सङ्ख्या पनि बढेको छ । यसको मृत्युदर १२ प्रतिशत रहे पनि यसको खासै वास्ता गरिएको पाइँदैन । स्क्रब टाइफसका लक्षण अन्य रोगहरूसँग पनि मिल्ने हुन्छन् । लक्षण मिले पनि स्क्रब टाइफसको लक्षण पहिचान गर्न गाह्रो भने छैन ।
तर यो एकबाट अर्को व्यक्तिमा भने नसर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. पुनको भनाई छ । नेपालमा सामान्यतया साउन भदौ र असोज तीन महिनामा स्क्रब टाइफसका बिरामी बढी भेटिने गरेको छ ।
यस्ता छन् स्क्रब टाइफसका लक्षण
- १०४ डिग्री ज्वरो आउने
- टाउको दुख्ने
- गर्धन र घाटी वरिपरि ससाना बिबिराहरू देखिने
- आँखा हल्का रातो देखिने
- कानमा एक प्रकारको आवाज सुनिन सक्ने
- ग्रन्थिहरू सुनिने हुन सक्ने
- पसिना आउने
- किर्नाले टोकेको ठाउँमा चिलाए जस्तो हुने र चिलाउँदा चिलाउँदै कालो घाउको पाप्रो जस्तो देखिने
- श्वास फेर्न कठिनाइ हुने ।
डा. पुनका अनुसार ज्वरो आएको र कालो प्रापो (स्क्रार) देखिएको भए स्क्रब टाइफस हुने सम्भावना बढी हुन्छ । यसको पहिचानका लागि रगत नै जँचाउनुपर्छ । यो सहजै हामीले पत्ता लगाउन सकिन्छ । यो पत्ता लाग्यो भने यसको उपचार पनि प्रभावकारी हुन्छ ।
यसका लागि एन्टीबायोटिक प्रयोग गरिन्छ जुन, सहजै पाउन सकिन्छ । त्यो औषधि खायो भने स्क्रब टाइफस पूर्ण रूपमा निको हुन्छ । उपचारका लागि स्वास्थ्य संस्थामा भने जानुपर्ने हुन्छ ।
स्क्रब टाइफसबाट बच्ने उपाय
धेरै जसोले मुसाले टोकेर स्क्रब टाइफस हुन्छ भन्ने सोच्ने गरेको पाइन्छ । जुन गलत हो । मुसाले नभई मुसामा हुने फिगरमाइट (किर्ना)कुनै कारणवश मुसाबाट खसेपछि मानिसको शरीरमा आएर टोक्ने गर्दछ र जसबाट स्क्रब टाइफस हुन्छ ।
यो फिगर माइट भन्ने सानो किर्नाको टोकाइबाट हुन्छ । यस्ता किर्नाहरू मुसामा बढी हुने भएकाले यसबाट सावधान रहनुपर्दछ । यसबाट बच्न मुख्यतया: घर वरिपरि आफूले काम गर्ने ठाउँमा मुसा आउने वातावरण बनाउनु हुँदैन ।
-घर वरपर झाडी, अग्ला अग्ला घाँसहरू भए सफा गर्नुपर्दछ ।
-शरीर पूर्ण रूपले ढाक्ने खालको कपडा लगाउनुपर्दछ ।
-भुईँमा तथा खुला चौरमा किर्नाहरू खसेको हुन सक्ने भएकाले त्यस्तो ठाउँमा बस्दा कपडा ओछ्याएर बस्ने गर्नुपर्दछ ।
-यसरी हामीले किर्नाले टोक्नबाट बच्न सकिन्छ । यसका लागि हामीले नै प्रयास गर्नुपर्छ ।
यसको उपचार नभए निमोनिया हुने, मस्तिष्क असर पार्ने, पेटमा, मिर्गौलामा र कलेजोमा नै असर पर्ने सक्ने भएकाले हेलचेक्र्याइँ गर्नु हुँदैन ।
(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. पुनसँग मकालुखबरकर्मी समीक्षा गाहाले गरेको कुराकानीमा आधारित)