बादललाई हराउन प्रचण्ड चाहिँदैन, म नै पर्याप्त छु: किराँती
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय नेता एवम् सांसद सुदन किराँतीले नेकपा (एमाले) नेता रामबहादुर थापा ‘बादल’ लाई हराउन आफू नै पर्याप्त रहेको बताएका छन् ।
जनयुद्धका सैन्य कमाण्डर बादलले शुक्रबार (आज) चितवन पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आफू चुनाव लड्न तयार रहेको बताएपछि किराँतीले यस्तो जवाफ दिएका हुन् । ‘फिस्टो मार्न किन मेसिनगन प्रयोग गर्ने, गुलेली मटेङग्रा नै काफी,’ किराँतीले फेसबूकमा लेखेका छन्, ‘सुदन किराँती भर्सेस रामबहादुर थापा ।’
पूर्वमाओवादी नेता बादल अहिले एमालेको स्थायी कमिटी सदस्य छन् । ०७७ फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपा पूर्ववत् अवस्थामै फर्काइदिएपछि एमालेको कित्तामै उभिएका बादलले पछिल्लो समय माओवादी र प्रचण्डमाथि कटाक्ष गर्दै आएका छन् ।
गत बिहीबार मात्रै वाईसीएलको पाँचखाल नगर भेलालाई सम्बोधन गर्दै प्रचण्डले एमालेतिर गएका बादलको नामै सम्झिँदा पनि आफूलाई एलर्जी हुने बताएका थिए ।
प्रचण्ड र बादल दुवैको गृहजिल्ला चितवन नै हो । उनीहरु दुवैजना सानैदेखि सँगै हुर्किएका साथी/सहयोद्धासमेत हुन् ।