शहरमै विद्यार्थीसम्म पुगेन अनलाइन शिक्षा
कोभिडका कारण पढ्न पाएनन्
विराटनगर । मनिता उराउ, सविता उराउ र सिर्जना उराउ १२ कक्षामा पढ्छन् । उनीहरू १० कक्षामै हुँदा शुरु भएको कोभिडको महामारी अझै कम भएको छैन । विद्यालय नियमित लाग्न नसक्दा विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको छ । उनीहरू अध्ययनरत सरस्वती माध्यमिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरे पनि धेरै विद्यार्थी छुट्ने भएकाले नचलाइएको जनाएको छ ।
‘सरहरूले कक्षा १२ मा जानेबित्तिकै अनलाइनबाट पढ्नुपर्छ भन्नुभएको थियो‚ आफूसँग मोबाइल नै नभएकाले पढ्न पाइनँ‚’ मनिताले भनिन् । मोबाइल नभएकाहरूले अनलाइनबाट पढ्न सक्ने अवस्था नभएको उनले सुनाइन् । मोबाइल नभएकै कारण अनलाइन पढ्न नपाएकी सिर्जना उराउ पनि २ वर्षको बिचमा करिब ४ महिनामात्र विद्यालय गएकी छन् । ‘हामी इन्टरनेट नभएका र मोबाइल नभएकाहरूले त पढ्नै नपाउने रहेछौँ,’ सिर्जनाले भनिन्, ‘अन्तका विद्यार्थी अनलाइनबाट पढेको भन्ने सुनेको हो हामीलाई एक पटक सरहरूले सोध्नुभएको थियो‚ त्यसपछि कुरै भएन ।’
धेरै जनाको मोबाइल र ल्यापटप नभएका कारण अनलाइन उनीहरूको लागि त्यति अर्थपूर्ण छैन । आर्थिक अवस्था कमजोर भएका, एकै परिवारमा धेरै जना विद्यार्थी भएका लगायतका विद्यार्थीलाई समस्या भएको हो ।
११ कक्षामा पढ्ने किरणकुमारी मलाहालाई पनि पढाइको निक्कै चिन्ता छ । अनलाइनबाट पढाउने भन्ने सुनेपनि आफूहरू त्यो भर्चुअल अनलाइनबाट पढ्न सक्ने अवस्था नभएको उनले बताइन् । सरहरू गाउँमा आएर यो यो विषय पढ्नू भनेर हप्तामा आएर सिकाउँदा अलिक सजिलो हुने गरेको उनी बताउँछिन् । किताबसमेत नभएकी किरणकुमारीले सरहरूले व्याकरण पढ्नू भन्ने गरेको सुनाइन् ।
नमुना विद्यालयको रूपमा अघि सारिएको सरस्वती माविले अनलाइनबाट पढाउन नसक्ने भएपछि समुदायमा समूह सिकाइको माध्यमबाट सहजीकरण गर्ने मात्र गरिएको विद्यालयले जनाएको छ । अनलाइन पढाउने बारेमा विद्यालयले गरेको एक सर्वेक्षणको क्रममा ७० जनामा गरिएको स्याम्पल सर्वे गरिएको थियो । जसअनुसार चारजना मात्र इन्टरनेटको पहुँचमा भएको पाइएको थियो । कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरेर गरिएको सर्वेक्षणमा एन्ड्रोइड मोबाइल बोक्ने विद्यार्थी १५ जनामात्र रहेको र अरू विद्यार्थीहरूले मोबाइलसमेत नबोकेको पाइएपछि समुदाय सिकाइ सहजीकरणलाई प्राथमिकता दिइएको विद्यालयका प्रधानाध्यापक तेजप्रसाद तिम्सिनाले बताए ।
सिकाइमा समस्या
सरस्वती माविले ६ वटा समूह बनाएर विभिन्न ६ ठाउँमा पढाएको थियो । यसरी समूहमा पढाइ गर्नका लागि दुहबीको मालहट्टीकै मन्दिर, कालीमन्दीर, प्रासटोकीको रामजानकी मन्दिर, दुहबी-२ तुताहाको रामजानकी मन्दिर, फुटानीचोकको शिव मन्दिर र विद्यालयमा नै समूह बनाएर पढाइएको थियो ।
करिब ८ सय विद्यार्थी रहेको यस विद्यालयमा सबै विद्यार्थीलाई सिकाइ सहजीकरणमा पनि समस्या भएको विद्यालयले जनाएको छ । अघिल्लो वर्षको भदौ र असोजमा समूह सहजीकरण गरिएको थियो । त्यो समूह सहजीकरणबाट केही बालबालिकाले लाभ लिए पनि दशैँपछि विद्यालय खुलेका थिए । दोस्रो चरणको कोभिडको सङ्क्रमण बढ्दै जाँदा धेरै बालबालिका फेरि पढाइबाट वञ्चित हुनुपर्यो । योबीचमा भने अघिल्लो लकडाउनको जस्तो कुनै पनि वैकल्पिक माध्यमको खोजी विद्यालयले गरेन । वैकल्पिक शिक्षण सिकाइअन्तर्गत समूह सिकाइमा नै विद्यालयले जोड दिएको विद्यालयका प्रधानाध्यापक तिम्सिनाले बताए । ‘हामीले यो शैक्षिक सत्र शुरु भएपछि भदौ महिनामा १५ दिनजति मात्र समुदायमा समूह सहजीकरणको काम गर्यौँ,’ उनले भने, ‘जसरी विद्यार्थीको उपस्थिति हुनुपर्ने हो‚ त्योअनुसार नभएपछि रोकियो ।’
समुदायमा सिकाइ सहजीकरणका लागि गएका शिक्षकहरू हप्तामा एक पटक तोकिएको ठाउँहरूमा पुग्ने गरेको भएपनि त्यहाँ जाँदा विद्यार्थीलाई भेट्नेमात्र काम हुने‚ तर प्रभावकारी शिक्षण नहुने शिक्षकको बुझाइ छ । समुदाय सिकाइ सहजीकरणका लागि जाँदा ८ सय विद्यार्थीमध्ये करिब ३ सयको हाराहारीमा मात्र विद्यार्थी सहभागी भएको विद्यालयले जनाएको छ ।
विद्यालयले विद्यार्थीको उपस्थिति कस्तो हुने भन्नेबारे फिल्डमा नै हाजिरी गर्ने व्यवस्थापन समेत गरेको थियो । २४ जना शिक्षकहरू खटाएर विद्यार्थीको सिकाइ सहजीकरण गर्दा खुल्ला ठाउँमा विद्यार्थीलाई राखेर पढाउन नै समस्या भएको विद्यालयकी शिक्षक कोपिला अधिकारीले बताइन् । समुदाय सिकाइ सहजीकरणमा आधारभूत र माध्यमिक तहका शिक्षकहरू संयुक्त समूहमा जाने गरेका थिए ।
भदौ महिनामा सिकाइ सहजीकरणका क्रममा विभिन्न मन्दिरहरूमा बोलाउँदा विद्यार्थी शुरुका दिनमा आए पनि पछि आउन छाडेपछि विद्यालयले समुदाय सिकाइ सहजीकरण पनि रोकेको उनले बताइन् । विद्यार्थी समुदायको सिकाइ सहजीकरणको क्रममा नआउनुलाई विद्यालयले बस्ने ठाउँ नहुनु, खुल्ला ठाउँमा विद्यार्थीले पढ्न नचाहनु, शिक्षकले बोर्डहरूको प्रयोग गरेर नपढाउँदा प्रभावकारी नहुनुको रूपमा लिएको छ । अहिले कोरोनाको महामारी कम हुँदै गएको निष्कर्ष निकाल्दै दुहबी नगरपालिकाले भौतिक दूरी कायम गरेर जोर-बिजोर प्रणालीका आधारमा विद्यार्थीलाई विद्यालयमा बोलाउन थालेको प्रअ तिम्सिनाले बताए ।
दुहबी नगरपालिकामा रहेको ३२ वटा सामुदायिक विद्यालयहरूले कुनै पनि अनलाइन कक्षा सञ्चालन नगरेको नगरपालिका शिक्षा शाखाले जनाएको छ । नगरशिक्षा अधिकारी निलमणी खनालले दुहवी नगरपालिकाका कुनै पनि सामुदायिक विद्यालयले अनलाइनबाट पठनपाठन नगरेको बताए । विद्यार्थीको सिकाइ सहजीकरणका लागि समूह सिकाइ सहजीकरण गरिएको भएपनि त्यो पनि प्रभावकारी नभएको उनले स्वीकार गरे ।
पोखरियामा विद्यालय बाहिर ८५६ जना
विराटनगर महानगरपालिका- ३ मा रहेको पोखरिया माध्यामिक विद्यालयमा २५४६ जना विद्यार्थी पढ्छन् । यस विद्यालयमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुन्छ । पढाइमा नमुनाको रूपमा हेरिएको यो विद्यालयमा ८५६ जना बालबालिका अनलाइन सेवाबाट बाहिर छन् ।
कोभिड महामारीका कारण २०७६ चैतसम्म नियमित विद्यालय आएका बालबालिकाहरू गत वर्षको केही महिना विद्यालय आएपनि त्यसयता विद्यालय आउन पाएका छैनन् । यसरी विद्यालय आउन नपाउने विद्यार्थीहरूका लागि सिकाइ सहज भने भएन । विद्यालयले साप्ताहिक रूपमा गृहकार्य दिएर उनीहरूको गृहकार्य हरेक हप्ता समुदायमा नै गएर सङ्कलन गर्ने गरिएको भए पनि त्यसबाट बालबालिकाको सिकाइ सहज नहुने विद्यालयको अनुभव छ । विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले समुदाय सिकाइ सहजीकरणका लागि समय तालिका निर्धारण गरिएको बताए ।
विद्यालयले बनाएको समय तालिकाको आधारमा विद्यार्थीलाई गृहकार्य दिने, सङ्कलन गर्ने र पृष्ठपोषण प्रदान गर्ने काम गरेको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार पोखरिया माध्यामिक विद्यालयमा जम्मा विद्यार्थी सङ्ख्याको ३३ दशमलव ६३ प्रतिशत बालबालिका अनलाइनको पहुँचमा छैनन् ।