सिन्धु काँग्रेस सभापतिको लागी आकांक्षीहरु बढ्दै, आन्तरिक प्रतिस्पर्धा बढ्दै

काठमाडाैँ । नेपाली काँग्रेसको जारी १४ औँ महाधिवेशन प्रक्रियासँगै सिन्धुपाल्चोक जिल्ला-जिल्लामा सभापतिका आकांक्षीहरु बढेका छन् ।  सिन्धुपाल्चोक जिल्लामा पनि पार्टीको जिल्ला अधिवेशन नजिकिँदै गर्दा सभापतिको लागि झण्डै आधा दर्जन स्थानीय नेताले तयारी स्वरूप कार्यकर्ता भेटघाट तथा भेला र छलफल थालेका छन् ।

जिल्ला सभापतिका लागि इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले औपचारिक रूप मै काँग्रेसको आउँदो महाधिवेशनमा जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । कार्यकर्ताको माझमा लोकप्रियता रहेका तामाङलाई सभापतिको लागी योग्य उम्मेदवारको रूपमा पनि हेरिएको छ ।

यस्तै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि नेपाली काँग्रेसको जिल्ला सभापतिमा आफ्नो दाबी सार्वजनिक गरेका छन् । हालका क्षेत्रीय सभापतिद्वय आइतमान तामाङ र  बालकृष्ण बस्नेत, हालका जिल्ला सभापति विकास लामा, पूर्व सचिव कृष्णप्रसाद न्यौपाने, महासमिति सदस्य प्रेमध्वज लामा, हरिशरण श्रेष्ठ, भोला बोहाेरा समेत सभापतिको आकांक्षी देखिएका छन् । पार्टीलाई एक ढिक्का बनाउन सहमतीय नेतृत्वको लागि छलफल चलाउन काँग्रेस कार्यकर्ताले चौतर्फी दबाब दिइरहेको भएपनि जिल्लामा भने गुटगत विश्लेषण कै आधारमा नेताहरूले उम्मेदवारी घोषणा गरेका हुन् ।

तर पनि औपचारिक रूपमा जिल्ला सभापतिमा नेपाली काँग्रेसको संस्थापन धारले कसलाई अघि सार्छ भन्ने खुलिसकेको छैन । हालै सम्पन्न वडा स्तरीय अधिवेशन बाटै जिल्लामा नेपाली काँग्रेसको संस्थापन धार बलियो देखिएको छ । दुई नम्बर क्षेत्रमा भने संस्थापन र संस्थापन इतर दुवैको अवस्था लगभग समान देखिएको छ ।

नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत दोस्रो चरणमा मंगलबार सिन्धुपाल्चोकका १०३ वडामध्ये ३ वटा वडामा अधिवेशन सम्पन्न भएको छैन । १०३ वडा मध्ये जुगल गाउँपालिकाको गुम्बा, सुनकोशी गाउँपालिकाको कालिका र हेलम्बु गाउँपालिका ७ मा निर्वाचन प्रक्रिया नै अघि बढ्न सकेन ।

सिन्धुपाल्चोक जिल्लामा संस्थापन पक्ष र पौडेल पक्षका प्रतिनिधिको मिश्रित परिणाम आएको छ । अझ रोचक त के भएको छ भने, जिल्लाका पूर्व सभापतिदेखि नेविसंघका महामन्त्रीलगायत ठूला नेता गाउँमै पराजित भएका छन् । र, विद्यार्थी राजनीतिक गरिरहेका युवाहरू प्रतिनिधि चयन भएका छन् ।

नेपाली काँग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशनमा ठूला नेताहरू नै पराजित भएका छन् । काँग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति भूपेन्द्रबहादुर थापा वडामा नै पराजित हुनुभएको छ । त्यस्तै नेविसंघ महामन्त्री बलदेव तिमिल्सना पनि गाउँमा नै पराजित भएका छन् ।

त्यस्तै महिला सङ्घ सिन्धुपाल्चोककी अध्यक्ष गीता नेपाल र सुनकोशी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल पनि गाउँमा नै पराजित भएका हुन् । अन्य जिल्लास्तरका कतिपय नेताहरू पनि गाउँमा नै पराजित भएको काँग्रेसले जानकारी दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत गाउँबाट प्रतिनिधि छनोट हुनु नपर्ने भए पनि बस्नेत आफ्नो गृह वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भए । त्यस्तै थुम्पाखरका भिष्मप्रताप भण्डारी र ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी पनि गाउँमै पराजित भएका हुन् । ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले भने निर्वाचनमा धाँधली भएको भन्दै बहिस्कार गरे ।

काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले रामचन्द्र पक्षधर नेता कार्यकर्ताहरूलाई गाउँमै हराउने नीति अघि सारेका हुन् । अघिल्लो जिल्ला अधिवेशनमा पौडेल पक्षधर विकास लामा जिल्ला सभापतिमा निर्वाचित भएपछि यो पटक भने बस्नेतले अन्य पक्षधरलाई गाउँबाट ‘पत्तासाफ गराउने नीति’ लिएको काँग्रेस स्रोतको दाबी छ । बस्नेतले गाउँ गाउँमा अन्य पक्षका नेताहरूलाई हराउन निर्देशन दिएको स्रोतको दाबी छ । लामो समयदेखि काँग्रेसमा क्रियाशील पूर्व सभापति भूपेन्द्र थापाले अघिल्लो वर्ष जिल्ला सभापतिमा समेत उम्मेदवारी दिएका थिए  ।

बुधबार बिहानसम्म काँग्रेसको क्षेत्रीय प्रतिनिधिहरूको सबै विवरण सार्वजनिक नभए पनि क्षेत्र नम्बर १ मा संस्थापन पक्ष (देउवा समूह)मा प्रतिनिधिहरूको बहुमत देखिएको छ भने क्षेत्र नम्बर २ मा पौडेल पक्षको बहुमत देखिएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का प्राय गाउँ सभापतिहरू समेत बस्नेत पक्षधरका नै रहेका छन् । क्षेत्र नम्बर २ मा भने पौडेल पक्षधर प्रतिनिधि र वडा सभापतिहरूको बहुमत देखिएको छ ।

कतै मतदानबाट त कतै सर्वसम्मत रूपमा काँग्रेसका वडा सभापतिहरू निर्वाचित भएका छन् । अधिवेशन सम्पन्न भएका वडाहरूमा हेर्दा ८० प्रतिशत भन्दा बढी वडा सभापतिमा युवाहरू चयन भएका छन् । क्षेत्रीय प्रतिनिधिहरूमा पनि युवाकै वर्चस्व देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *