राजनीतिमा युवा पुस्ता : ठूला नेताकै नाममा मारमुङ्ग्री

काठमाडौँ । ०७४ मंसिर ८ गते रुकुममा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरुबीच कुटाकुट भयो, एक कार्यकर्ता घाइते भइन् । मंसिर २१ गते बालकोटमा कांग्रेस र एमाले समर्थकबीच भिडन्त भयो, तीन जना सख्त घाइते भए ।

०७७ असार १४ गते सर्लाहीमा कांग्रेस र माओवादीकै कार्यकर्ताबीच झडप भयो, धेरै कार्यकर्ता घाइते भए । पुस २६ गते सर्लाहीमै माओवादी केन्द्र र तत्कालीन नेपाल-खनालपक्षीय एमालेका कार्यकर्ताबीच कुटाकुट भयो, दुवै पक्षका नेता/कार्यकर्ता घाइते भए ।

माघ ६ गते रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भयो । फागुन ४ गते तत्कालीन नेकपा र कांग्रेसबीच झडप हुँदा ६ जना घाइते भए ।

000

दलका नाममा र दलभित्रै पनि नेताका नाममा युवाहरु यस्ता झडप तथा तोडफोडमा उत्रने गरिरहन्छन् । ‘म एमाले, कांग्रेस, माओवादी, जसपा…को समर्थक हुँ’ भन्नेहरुबीच तँ वीर कि मँ वीरको शैलीमा यस्ता झडपहरु हुने गरेका छन् ।

अहिले सिद्धान्त पनि छैन, संस्कार पनि छैन ।

०४७ सालपछिकै जस्तो राजनीतिक आस्थाकै भरमा वल्लो घर पल्लो घर बोलचाल नहुने, तल्लो घर माथ्लो घर अर्मपर्म नचल्नेलगायतका अवस्थाहरू नै नभएपनि अहिले पनि युवापुस्ताबीच सिद्धान्तको बहस नभएर ‘मनि’ र ‘मसल्स’ को प्रतिस्पर्धा भने धेरै नै हुने गरेको छ ।  आफूलाई नचिन्ने ठूला नेताहरुका नामका वर्षौँदेखिका सम्बन्ध र साइनो नै तोड्न पनि तयार हुने अवस्था छ ।

युवालाई देशको भविष्य भनिन्छ । भविष्य बनाउनुपर्ने युवा राजनीतिक रुपमा विभक्त हुनु वा कुनै सिद्धान्त वा वाद मन पराउनु नराम्रो होइन । बरु कुन वाद वा सिद्धान्त किन देशका लागि जरुरी छ र त्यसमा किन अरु पनि आबद्ध हुन जरुरी छ भन्ने कुरामा बहस गर्नुपर्नेमा त्यसो हुन सकेको छैन । जसले हाम्रो राजनीतिक भविष्यको संकेत गर्छ । केन्द्रमै पनि युवा वा तरुणका संगठनहरू सैद्धान्तिक बहस गर्न जान्दैनन्, रुचाउँदैनन् वा आवश्यक ठान्दैनन् । उनीहरु पनि ‘डन’ र ‘धनवाद’ मा निर्लिप्त देखिन्छन् । युवाहरु ठूला नेताका नाममा एकअर्काविरुद्ध मारमुङ्ग्रीमै उत्रनु कुनै पनि हालतले जायज हुँदैन । यो एक दुखान्त र दर्दनाक दृश्य हो ।

माओले भनेका छन्— ‘युवाहरू यो देश तिमीहरूको हो, यो देश हाम्रो पनि हो । तर, अन्तिममा यो देश तिमीहरूको नै हो ।’ तर हाम्रो राजनीतिमा युवाहरु को हुन् र उनीहरु के कति कारणले यो देशको भविष्य सम्हाल्न योग्य छन् भन्ने बुझ्नै सकिएको छैन । अझ राजनीतिको पछिल्लो पुस्तामा त युवा अध्ययन, चिन्तन, योजना निर्माण र कार्यान्वयनमा होइन, शीर्ष नेताका चरणकमल स्पर्श, उनीहरूकै दैलो र दरबार वरपर परिक्रमालाई नै आफ्नो योग्यताको मानक मान्दै आएका छन् । आफू योग्य छु भन्ने देखाउन उनीहरु आफूभन्दा फरक आस्था राख्नेहरुलाई ठोकठाक गरेर ठिक पार्ने रणनीतिमा व्यस्त र मस्त छन् । यो दुखद् हो । यसको असर सिङ्गो राजनीति र देशले व्यहोर्नु परिरहेको छ ।

युवाहरू किन झगडा गर्छन् ठूला नेताका नाममा ?

राजनीतिक विश्लेषक तथा राजनीतिशास्त्री लोकराज बराल नेताहरूको ‘स्कूलिङ्’ कै कारण युवाहरूबीच राजनीतिक झगडा बढी हुने गरेको ठान्छन्, भन्छन्— ‘पहिलो कुरा त नेताहरू नै झगडालु स्वभावका भए र युवाहरूले पनि यस्तै सिके ।’

सैद्धान्तिक राजनीतिको जमाना सकिएको बराल बताउँछन् । ‘पहिले संस्कार र सिद्धान्तको राजनीति थियो,’ बराल भन्छन्, ‘अहिले सिद्धान्त पनि छैन, संस्कार पनि छैन । यसैले बिगारेको हो । नेताहरू नै झगडा गरेपति तिनलाई मान्नेहरूबीच झगडा भइहाल्छ नि ।’

युवा पुस्ता आफैंमा निर्भर नभएकाले पनि यस्तो अवस्था आएको हो । राजनीतिक संस्कारकै कारण युवा पुस्ताले आफ्नो संयम्ता गुमाएको उल्लेख गर्दै बरालले थपे, ‘युवाहरू पनि नेताहरूको चाकडी गर्नमा सिपालु भए । त्यसो हुँदा आफ्नो सिर्जनशीलता गुम्यो, आफ्नो नेतृत्व क्षमता पनि गुम्यो, सबै कुरा गुम्यो । यस कुरामा चाहिँ युवाहरू संयमित हुनैपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *