दशैँमा काठमाडौँमा ३८ हजार खसीबोका चाहिने अनुमान
काठमाडौँ । दशैँका लागि यो वर्ष काठमाडौँ उपत्यकामा ३८ हजार खसी-बोका चाहिने अनुमान गरिएको छ । नेपालको पशुपालन क्षेत्रमा सघाउँदै आएको अन्तरराष्ट्रिय गैरसरकारी संस्था हेरफर इन्टरनेसनल, बाख्रा पालन व्यवसायी महासङ्घ र किसान समूहहरूसँगको समन्वयमा उक्त मागअनुसार आपूर्तिका लागि खसीबोका तयारी अवस्थामा रहेको पशु सेवा विभागका पशु विकास अधिकृत श्यामसुन्दर यादवले जानकारी दिए । ती संस्थाहरूसँग समन्वय गर्दा काठमाडौँ उपत्यकामा आवश्यक पर्दा ल्याउन मिल्ने अवस्थामा ५१ हजार खसीबोका तयार भइसकेको उनले जानकारी दिए ।
प्रदेश १ बाट ११ हजार, प्रदेश २ बाट ६ हजार, बागमतीबाट १७ हजार ५ सय, गण्डकीबाट २ हजार ५ सय, लुम्बिनीबाट ७ हजार ७ सय, कर्णालीबाट ७ हजार र सुदूरपश्चिम प्रदेशबाट ९ हजार खसी उत्पादन भएर काठमाडौँ ल्याउन मिल्ने गरी तयारी अवस्थामा रहेको अध्ययनले देखाएको उनले बताए ।
‘खसीबोकामा देश आत्मनिर्भर भइसकेको छ,’ उनले भने, ‘उपत्यकामा ल्याउन मिल्ने अवस्थामै ५१ हजार खसीबोका तयार छन् । अब दशैँका लागि पनि खसीबोका विदेशबाट आयात गर्नु पर्दैन ।’
नेपालमा दशैँमा खसीबोकाको माग ज्यादा हुने गर्छ । गत वर्ष काठमाडौँ उपत्यकामा ३० हजार खसीबोकाको माग रहेको थियो । यो वर्ष थप ८ हजार खसीबोका माग हुने विभागको अनुमान छ । यो माग धान्न पनि नेपालमै उत्पादन भएका खसीबोका पर्याप्त रहेको उनले बताए ।
उनका अनुसार आवश्यकताका आधारमा घटस्थापनापछि काठमाडौँ उपत्यकाकामा दशैँका लागि खसीबोका भित्रिन सुरु हुन्छ । इटहरी, पोखरा र नेपालगन्ज तीनवटा क्लस्टर बनाएर खसीबोका सङ्कलन गरी काठमाडौँमा भित्र्याइनेछ । यसका लागि केही दिनपछि मुख्य नाका तथा प्रवेश बिन्दुहरूमा खसीबोकाको स्वास्थ्य अवस्था र वैधता जाँच गर्दै क्वारेनटाइन बिन्दुहरूलाई पर्याप्त जनशक्तिसहित तयार अवस्थामा राख्न तयारी विभागको छ । स्वस्थ र वैध तरिकाले ल्याइएको खसीबोकामात्र काठमाडौँ भित्र्याउन दिइनेछ ।
व्यापारीले तराईका २२ जिल्लासहित सिन्धुली, रामेछाप, काभ्रे, नुवाकोट, धादिङ, सुर्खेत, सल्यान, बाँके, बर्दिया, रुकुम, दाङलगायतका जिल्लाबाट खसीबोका काठमाडौँ उपत्यकामा ल्याउने गरेका छन् । दशैँको फूलपातीदेखि नवमीसम्म खसीबोकाको खरिदबिक्री हुने गरेको छ । काठमाडौँ उपत्यकामा झण्डै ४० देखि ४५ लाख मानिस बस्ने अनुमान छ । यीमध्ये २० देखि २५ लाख जना दशैँ मनाउन उपत्यकाबाहिर जाने गरेका छन् ।
साढे ८ हजार राँगा भैँसी र ३५० बङ्गुर चाहिने
दशैँका लागि यो वर्ष साढे ८ हजार राँगा भैँसी आवश्यक हुने विभागको अनुमान छ । सरोकारवाला पक्षसँग छलफल गरेर विभागले यस्तो अनुमान तयार पारेको हो । यी सङ्ख्याका राँगा भैँसी पनि नेपालमै उत्पादन भई तयार रहेकाले विदेशबाट ल्याउनु नपर्ने उनले बताए । गत वर्ष उपत्यकामा साढे ७ हजार राँगा भैँसी खपत भएका थिए ।
त्यस्तै यो वर्ष उपत्यकाका लागि ३ सय ५० बङ्गुर भित्रिने विभागको अनुमान छ । बङ्गुर व्यवसायी सङ्घसँग समन्वय गरेर विभागले उक्त अनुमान तयारी गरेको जनाएको छ । गत वर्ष उपत्यकामा दशैँमा २ सय ५० बुङ्गुर भित्रिएको र खपत भएको विभागको तथ्याङ्क छ ।
कुखुरामा पहिल्यैबाट देश आत्मनिर्भर रहेकाले दशैँमा कुखुराको मासुको आपूर्ति देशभरि नै सहज हुने अनुमान विभागको छ । गाउँगाउँमा पोल्ट्री फार्महरू रहेकाले कुखुरा आपूर्तिका लागि विभागले ठोस योजना बनाएको छैन । ‘कुखुरा, माछा र अण्डाजस्ता मासुजन्य वस्तु सदाबहार उपलब्ध र खपत हुने भएकाले यी चीजको खपत दशैँमा केही बढे पनि खसीको जस्तो ह्वात्तै बढ्दैन,’ उनले भने, ‘यी वस्तु सहज उपलब्ध हुने भएकाले यसका लागि विभागले ठोस योजना बनाएको छैन ।’
खाद्य संस्थानले पाएन च्याङ्ग्रा
दशैँका लागि खास गरी च्याङ्ग्रा र भेडा भने चीन तथा तिब्बतबाट आयात हुने गरेको थियो । तर, विगत ३ वर्षयता चीनबाट आयात हुन छोडेको छ । कोभिडपछि तातोपानी तथा रसुवागढी नाकाको अवरोधले पनि भेडा च्याङ्ग्रा ल्याउन सकिएन । तर, यी पशुजन्य उत्पादनमा पनि नेपाल आत्मनिर्भर रहेको रहेको विभागका पशु विकास अधिकृत यादव बताउँछन् ।
यो वर्ष पनि नेपालकै मनाङ, मुस्ताङलगायत हिमाली जिल्लाबाट काठमाडौँ उपत्यकामा भेडा च्याङ्ग्रा ल्याउने गरिन्छ । नेपालमा निजी क्षेत्रका पशु चौपाया व्यवसायी तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भेडा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएका छन् ।
तर, यो वर्ष भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले च्याङ्ग्रा खरिद गर्नै नपाएको जनाएको छ । ‘दशैँमा खसीबोका तथा भेँडाच्याङ्ग्रा बिक्री गर्ने कार्य योजना हामीले बनाएका छौँ,’ कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले भनिन्, ‘तर, खसीबोका भेटे पनि च्याङ्ग्रा र भेडा खरिदका लागि पाएका छैनौँ ।’
उनका अनुसार किसानबाट कम्पनीले किन्ने गरेको भए पनि यो वर्ष स्थानीय स्तरमा उत्पादन भएका भेडा च्याङ्ग्रा व्यवसायीले नै खरिद गरिसकेकाले कम्पनीले पाउन सकेन । ‘यो वर्ष हामी २ हजार खसीबोका मात्रै खरिद गरेर बिक्री गर्ने भएका छौँ,’ उनले भनिन्, ‘फूलपातीको अघिल्लो दिनदेखि खसीबोकाको बिक्री सुरु हुने हुँदा त्यसको एक वा दुई दिनअघि मात्रै हामीले खसीबोका ल्याउने छौँ ।’ यी बाहेक दशैँमा हाँस, लौकाट, अस्ट्रिच, बँदेल, कालिजलगायत पक्षीको पनि उपभोग गर्ने गरिएको छ ।
अस्वस्थ पशुपन्छी, मापदण्ड विपरीत ढुवानी तथा बिक्री गरे कारबाही
पशु सेवा विभागले विदेशबाट पशुपन्छीको आयातमा प्रतिबन्ध लगाएको छैन । तर, केही वर्षअघिबाट पशुपन्छी उत्पादन भएको ठाउँबाटै स्वास्थ्य जाँचको प्रमाणपत्र ल्याउनुपर्ने र क्वारेनटाइन चेक पोस्टहरूमा समेत पनि स्वास्थ्य जाँच गर्नुपर्ने व्यवस्थामा कडाइ गरेको छ । यसले गर्दा अवैध रूपमा ठूलो परिमाणमा विदेशबाट पशुपन्छी भित्रिन नसक्ने विभागको दाबी छ ।
काठमाडौँ उपत्यकामा पशुपन्छी भित्र्याउन सिन्धुपाल्चोकको तातोपानी, रसुवाको टिमुरे, चितवनको रामनगर, काठमाडौँको अन्तरराष्ट्रिय विमानस्थल, नागढुंगा, साँखु, फर्पिङ, सामाखुसीमा क्वारेनटाइन चेकपोस्ट राखिएको छ । ती चेकपोस्टले पशुको स्वास्थ्य जाँच गरी स्वस्थ देखिएमात्रै उपत्यकामा भित्रिन अनुमति दिने गरेको छ । अस्वास्थ्य पशुपन्छी ढुवानी गरेको पाइए कारबाही गर्ने गरेको छ ।
पशुपन्छी ढुवानी गर्दा पनि पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ ले गरेको व्यवस्थाअनुसार ढुवानी भएको हुनुपर्नेछ । नत्र अवैध मानिन्छ । यातना हुने गरी ढुवानी गरिएको पशुको मासु स्वास्थ्यका लागि अस्वस्थकर हुने र पशु अधिकारका दृष्टिले पनि उपयुक्त नभएकाले ऐन विपरीत ढुवानी भएको पाइए कारबाही गर्ने व्यवस्था गरिएको छ ।
नाकमा डोरी लगाएर माथितिर फर्काउने, पुच्छर र खुट्टा बाँधेर, यात्रुबाहक बसको पछाडि हावा नछिर्ने ठाउँमा बन्द गरेर, साधनको क्षमताभन्दा बढी सङ्ख्यामा पशुपन्छी राखेर, लामो दूरी ढुवानी गर्दा बिचमा दाना पानीको व्यवस्था नगरी ढुवानी गरिनेजस्ता कार्यलाई उक्त ऐन विपरीत भएको मानिन्छ ।
त्यस्तै, ढुवानी मापदण्ड २०६४ ले पनि पशुलाई सवारी साधनको बस र डिक्कीमा राख्नुलाई अवैध मानेको छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ ले रोगी पशु ढुवानी गरेको प्रमाणित भए १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।