मोटरसाइकलको कर मिनाहा गरिदिन सांसदले यातायात कार्यालयलाई पत्र लेखेपछि…

जनकपुरधाम । स्वकीय सचिवसमेत रहेका पतिले प्रयोग गर्ने मोटरसाइकलको कर छुट गरिदिन प्रदेश २ का एक सांसदले यातायात कार्यालयलाई लेखेको पत्र सार्वजनिक भएको छ ।

प्रदेश २ की सांसद प्रमिला यादवले आफ्ना पति अशोक यादवले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाहा गरिदिन यातायात कार्यालय लहानलाई पत्राचार गरेको पाइएको हो ।

यादव नेकपा माओवादी केन्द्रबाट समानुपतिकतर्फ सांसद बनेकी हुन् । सप्तरी राजविराज नगरपालिका-२ की यादवले पति अशोक यादवलाई स्वकीय सचिवमा नियुक्त गरेकी थिइन् ।

पति अशोकले प्रयोग गर्ने स. ३ प. ८८४८ नम्बर मोटरसाइकलको २०७८ सालसम्मको कर मिनाहा गरिदिन यातायात कार्यालय लहानका प्रमुखलाई सम्बोधन गरेर चिठ्ठी लेखेको थिइन् ।

निवेदन लिएर सांसद यादवका स्वकीय सचिवसमेत रहेका पति अशोक स्वयं यातायात कार्यालय लहान पुगेका थिए । तर यातायात कार्यालय लहानका प्रमुख मीन भट्टराईले कर छुट गर्ने आफ्नो अधिकार नरहेको बताएपछि अशोकले करबापतको पैसा तिरेका थिए । प्रुमख भट्टराईले कर मिनाहाका लागि मन्त्रिपरिषद्‌बाटै निर्णय हुनुपर्ने भनेपछि सांसद यादवका पति अशोकले करबापतको रकम तिरेको बुझिएको छ ।

सांसद यादवले मोटरसाइकलको कर मिनाहाका लागि लेखेको चिठ्ठीबारे आफूलाई कुनै जानकारी नभएको बताइन् । ‘कर मिनाहाका लागि मैले कुनै प्रकारको चिठ्ठी लेखेको छैन‚’ सांसद यादवले भनिन्‚ ‘कसैले आफ्नो लेटरप्याड दुरुपयोग गरेको हुनसक्छ ।’ उनले आफ्नो पतिले आवश्यक दस्तुर तिरेर मोटरसाइकल नवीकरण गराएको दाबी गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *