चोभार सुख्खा बन्दरगाह सञ्चालन गर्न कार्यविधि बन्दै
काठमाडौँ । काठमाडौँको दक्षिणी नाकामा निर्माण गरिएको चोभार सुख्खा बन्दरगाह निर्माणको सम्पूर्ण काम पूरा भएको छ । चोभारस्थित हिमाल सिमेन्ट उद्योगको उत्पादन प्लान्ट रहेको स्थानमा नेपाल इन्टर मोडल यातायात विकास समितिले उक्त बन्दरगाह निर्माण गरेको हो । डेढ वर्ष (१८ महिना)मा निर्माण पूरा गर्ने लक्ष्यसहित २०७५ माघ ३ गतेबाट विधिवत् निर्माण सुरु गरिएको उक्त बन्दरगाह साढे २ वर्षभन्दा बढी २७ महिनामा निर्माण पूरा भएको हो ।
नेपाली कम्पनी आशिष कन्स्ट्रक्सन र चिनियाँ कम्पनी साक्षीको जोइन्टभेन्चर कम्पनीले १ अर्ब ६० करोड रुपैयाँमा उक्त बन्दरगाह निर्माणको ठेक्का लिएको थियो । २२० रोपनी क्षेत्रफलमा ३ ओटा गेटसहितको यार्ड, भन्सार कार्यालय भवन, क्वारेन्टाइन भवन, ३ वटा गोदाम भवन, ३ वटा ढुवानी साधनको मर्मत गर्न संरचना निर्माण गरिएको छ । बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय सवारी साधान अट्ने क्षमता रहेको छ ।
स्थानीय अवरोध, कोभिडलगायत कारणले बन्दरगाहका भौतिक पूर्वाधार निर्माणमा झण्डै ९ महिना बढी समय लागेको इन्टरमोडल यातायात कम्पनीले जनाएको छ । विभिन्न अवरोधका कारण १४ महिनासम्म भौतिक पूर्वाधार निर्माणको काम रोकिँदा समय बढी लागेको समितिले जनाएको छ ।
सुख्खा बन्दरगाह निर्माण पूरा भई सञ्चालनमा आएपछि काठमाडौँ ल्याइने सामान सिधै चोभारमा ल्याएर भन्सार जाँचपास गर्न सकिने अपेक्षा गरिएको भन्सार विभागका प्रवक्ता पुष्पबिक्रम खड्काले बताए ।
सञ्चालनका लागि कार्यविधि बन्दै
कानुन निर्माण, कार्यविधि निर्माण, जनशक्ति तयार, अन्य निकायहरुको व्यवस्थापन जस्ता कार्य भइरहेको उनले जानकारी दिए ।
‘आर्थिक ऐन पूरै पास भइसकेको छैन,’ प्रवक्ता खड्काले भने, ‘आर्थिक ऐन पारित भएपछि उक्त ऐनअन्तर्गत नै हुने गरी चोभार सुख्खा बन्दरगाह सञ्चालनका लागि कार्यविधि बन्ने छ ।’
उनका अनुसार आन्तरिक सुख्खा बन्दरगाहमार्फत् हुने पारवहन सञ्चालन गरेको अनुभव नेपालसँग छैन । त्यसो हुँदा अन्तर्राष्ट्रिय अभ्यासलाई अध्ययन गरेर कार्यविधि निर्माण गर्ने गरी काम भइरहेको छ ।
‘यो हाम्रा लागि विल्कुलै नयाँ छ,’ उनले भने, ‘विभिन्न सामुद्रिक बन्दरगाहबाट सिधै चोभारमा सामान ल्याएर भन्सार जाँचपास गरी काठमाडौंमा आपूर्ति गर्ने कि वीरगन्जलगायत सीमा क्षेत्रका हाम्रा भन्सारमा आएका सामानलाई चेकजाँच गरी चोभारमा ढुवानी गर्ने ? भन्सारमा धरौटी राखेर सामान ल्याउने कि वा पैसा तिरेपछि मात्रै यहाँ ल्याएर जाँचपास गरी पैसा तिराउने कि भन्ने जस्ता तमाम विषयलाई कार्यविधिले टुङ्गो लगाउने छ ।’
उनका अनुसार कुनकुन सामुद्रिक बन्दरगाहबाट कस्तो कस्तो समान ल्याउने, सामुद्रिक बन्दरगाहबाट सिधै काठमाडौँमा सामान ल्याउँदा आर्थिक लाभ कति हुन्छ, काठमाडौँमा मात्रै खपत हुने सामान ल्याउँदा चोभारको बन्दरगाहलाई घाटा नाफा के हुन्छ भन्ने जस्ता विषयमा अध्ययन गरेर कार्यविधि बनाउनु पर्ने उनले बताए ।
समुद्री बन्दरगाहबाट वीरगञ्जमा आएको सामान चोभारमा खुला रुपमा ढुवानी गर्दा सामान चोरिने, हराउने जस्ता समस्या पनि आउन सक्ने भएकाले बन्द कन्टेनरमै सामान ल्याउनुपर्ने हुन्छ । यी सबै कुराको स्पष्ट व्यवस्था गर्न भन्सार विभागको उपमहानिर्देशकको संयोजकत्वको एक समितिले कार्यविधिको प्रारम्भिक मस्यौदा तयार गरेको छ । कार्यविधिको मस्यौदामा छलफल गरेर टुङ्गो लगाउनु पर्ने प्रवक्ता खड्काले बताए ।
खास गरी चीनतर्फका नाकाबाट नेपाल भित्रिने सामान चोभार ल्याएर चेकजाँच गर्न सकिने व्यवस्था पनि गर्न सकिने अपेक्षा भन्सार विभागको छ ।
‘विकट भौगोलिकताका कारण उत्तरी नाकाका भन्सार बिन्दुमा सामान जाँचपास कठिन बनेको छ,’ उनले भने, ‘कर्मचारी बस्न नमान्ने जस्ता समस्या छन्, ती समस्या समाधानका लागि चीनबाट आउने सामान काठमाडौँमै ल्याएर चेक जाँच गर्न सकिने थियो । तर, दिनमा ५/७ ओटा कन्टेनर मात्रै आउने र कहिले ठप्प हुने जस्ता समस्या देखिएको छ । दिनमा ५ ओटा कन्टेनर मात्रै आएर सुख्खा बन्दरगाहलाई लाभ हुँदैन ।’
काठमाडौँ–निजगढ दू्रतमार्ग निर्माण चाँडो भए यो बन्दरगाहमा सामानको चाप बढ्ने अपेक्षा गरिएको छ । उक्त मार्गबाट निजगढ हुँदै सिधै सामान ल्याएर चेकजाँच गर्दा ढुवानी लागत र झण्झट कम हुने आम अपेक्षा छ । हाल विभिन्न भन्सार बिन्दुबाट कामाठमाडौँमा सामान ल्याउने मुख्य नाकाको रुपमा कलङ्की रहेको छ । तर उक्त नाकामा सवारी साधानको चापका कारण जाम हुँदा यसले समय र ढुवानी लागत दुबै बढाउने गरेको छ ।
३१ जना नयाँ दरबन्दी आवश्यक
सुख्खा बन्दरगाह सञ्चालनका लागि सरकारले ३१ जनाको छुट्टै दरबन्दी सिर्जना गर्नुपर्ने छ ।
‘सामान्य प्रशासन मन्त्रालयले भन्सार सञ्चालन गर्ने उक्त दरबन्दी स्वीकृत गर्नुपर्ने छ,’ उनले भने, ‘यसका लागि पनि मन्त्रालयमार्फत सामान्य प्रशासनमा प्रस्ताव लाने तयारी भएको छ ।’
क्वारेन्टाइन र सुरक्षा व्यवस्था मिलाउनु पर्ने
भन्सार नाकामा आएका वस्तुहरुको क्वारेन्टाइन जाँच गर्न क्वारेन्टाइन चेक पोष्ट, सुरक्षाका लागि प्रहरी र व्यवस्थापकीय सुरक्षा टोलीको समेत व्यवस्था गर्नुपर्ने छ । त्यसैले, बन्दरगाह सञ्चालनमा आउने मिति ठ्याक्कै तोक्न नसकिएको प्रवक्ता खड्काले बताए ।
‘कानुन, कार्यविधि, जनशक्तिलगायत अन्य व्यवस्थापनका काम समेत बाँकी भएकोले कहिलेबाट बन्दरगाह सञ्चालनमा आउँछ भनेर मिति तोक्न गाह्रो परेको छ ।’