चुनाव हारेपछि सचेतकबाट लामिछानेको राजीनामा 

पोखरा । पोखरा महानगरपालिका-९ का अध्यक्ष रामराज लामिछाने नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पोखरा महानगर समितिको सभापतिमा उम्मेदवार थिए । उनीसहित वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला समेत उम्मेदवार हुन् ।

यो वर्ष पोखराको चुनावलाई गुटले खासै असर गरेन । कसैले पनि प्यानल बनाएनन् । सबै आफ्नै हिसाबले उम्मेदवार बने, आफै चुनावी प्रचारमा लागे । ६ जना उम्मेदवारबाट पोखरा महानगरका निवर्तमान उपसभापति समेत रहेका पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव सुरेन्द्रमान बिजुक्छेले बाजी मारे ।

उनको निकटतम प्रतिस्पर्धी थिए लामो समय पत्रकारिताबाट राजनीतिमा लागेका गंगाधर पराजुली । लामिछाने भोटका हिसाबले तेस्रो नम्बरमा आए । आफूभन्दा जुनियरले आफूलाई हराएपछि लामिछानेले राजीनामा दिएको बुझिएको छ ।

यद्यपि राजीनामा पत्रमा उनले केही उल्लेख गरेका छैनन् । हालसम्म काम गर्दा सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएका छन् । उनले दलका उपनेता शङ्कर बास्तोलालाई राजीनामा पत्र बुझाएका हुन् ।

यद्यपि वडाध्यक्षबाट भने राजीनामा दिएका छैनन् । ‘यो भूमिका निर्वाह गर्न अवसर प्रदान गर्न सहयोग गर्ने नेपाली काँग्रेस कास्की, नेपाली काँग्रेस पोखरा महानगर समिति, पोखरा महानगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष, वडा सदस्य लगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु, उनले लेखेको पत्रमा भनिएको छ, ‘आजका दिनदेखि म दलको नेता तथा सचेतकको हैसियतबाट अलग भएको छु ।’

अहिलेसम्म आफूले पार्टीको नीति र निर्देशन अनुसार काम गरेको दाबी गरेका छन् । यसपछि के गर्ने भन्ने कुनै कुरा खुलाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *