परराष्ट्रमन्त्री खड्काले भने- आतंकवाद मानव अस्तित्वको शत्रु

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अफगानिस्तानमा पछिल्लो समय विकसित घटनाक्रम सबैको चिन्ताको विषय भएको बताएका छन् । बिहान न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७६औं महासभालाई सम्बोधन गर्दै उनले अफगानिस्तानको पछिल्लो घटनाक्रम ‘साझा चिन्ताको विषय’ भएको बताएका हुन् ।

शान्ति, सुरक्षा र स्थायित्वका लागि अफगानिस्तानका सबै पक्षलाई सहमति जुटाउन परराष्ट्रमन्त्री खड्काले आग्रह गरे । ‘अफगानी नागरिकको आधारभूत अधिकारको सुनिश्चितता हुनुपर्छ, उनीहरूले इज्जतका साथ जीवन बाँच्न पाउनुपर्छ,’ खड्काले सम्बोधनका क्रममा भने । आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै मन्त्री खड्काले नेपालले आतंकवादको विरोध गरिरहेको बताए ।

आणविक हातहतियारको होडबाजीले विश्वको शान्ति र सहअस्तित्वमाथि प्रश्न खडा गर्ने भएकोले नेपाल त्यसको विपक्षमा रहेको मन्त्री खड्काले स्पष्ट पारे । अफ्गानिस्तान,लिविया लगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएकाले सोही अनुरुप आपसी समझदारीमा समाधान हुने विश्वास नेपालको रहेको खडकाले बताए ।

जनतालाई सुरक्षित बनाउनु पहिलो प्राथमिकता
उनले विश्वव्यापी मानव समुदायका लागि चुनौति बनेको कोभिड-१९ महामारीवाट जनतालाई सुरक्षित बनाउनु नेपालको पहिलो प्राथमिकता रहेको बताए । जनतालाई कोरोना संक्रमणवाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको महासभामा उनले जानकारी गराए ।

सबै नेपाली जनतालाई आगामी ६ महिनाभित्र खोप लगाईसक्ने लक्ष्यकासाथ नेपाल सरकारले कार्ययोजना अघि बढाएको पनि मन्त्री खडकाले बताए । कोभिड-१९ को संकट व्यवस्थापन र खोपको व्यापकताका लागि राष्ट्र संघले देखाएको चासो र प्राथमिकताको परराष्ट्रमन्त्री खड्काले प्रसंशा गरे । नेपालले विश्वशान्ति , सहअस्तित्व र समानतामा आधारित सम्बन्ध तथा भाईचाराको नीति अवलम्वन गरेको स्पष्ट गर्दै मन्त्री खड्काले विश्वका विभिन्न मुलुकको शान्ति स्थापना कार्यमा नेपालको योगदान रहेको पनि चर्चा गरे ।

नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ८ हजार मिटरभन्दा अग्ला धेरै हिमाल भएकाले पर्यटन गन्तव्यको एक अनुपम देश भएको पनि परराष्ट्रमन्त्री खड्काले सम्बोधनका क्रममा उल्लेख गरे । प्राकृतिक प्रकोप तथा जलवायु परिवर्तनको असर न्यूनिकरणमा नेपालले प्राथमिकता दिएको मन्त्री खड्काले जानकारी दिए । परराष्ट्रमन्त्री खड्का नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा हाल अमेरीकाको न्यूयोर्कमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *