गाउँलेसँग गरेका वाचाले निदाउन नदिएपछि काठमाडौँ छिरेकी अमृता

काठमाडौँ । आफ्नो कार्यकाल सकिनै लाग्दा अमृता सुनारलाई चुनावका बेला जनतासँग खाएको कसमले झस्कायो । उनी हुम्लाको अदानचुली गाउँपालिका- ४ की वडा सदस्य हुन् ।

एउटा वडा सदस्यले गर्न सक्ने ठुलो काम त के नै हुन्छ र‚ तर आफूले वडाबासीसमक्ष गरेका वाचा त पूरा गर्नुपर्छ भन्ने हुटहुटीले उनलाई निदाउन दिएन । काठमाडौँ गएर पार्टीका दाइ/दिदीहरूलाई भन्न पाए केही त कसो नगर्देलान् र ? भन्ने लाग्यो । उनको पार्टी भर्खरै सरकारमा गएको छ । उनी नेकपा माओवादी केन्द्रकी स्थानीय नेता हुन् । श्रीमान बिरामी भएको कुराले पनि उनलाई पिरोलिरहेको थियो । उनले श्रीमानलाई पनि सँगै जाऊँ भनिन् । अनि सुरु भयो अमृता सुनारको पहिलो काठमाडौँ यात्रा ।

काठमाडौँ यात्रामात्र पहिलो होइन‚ अमृता गाडीमा कहिल्यै चढेकी थिइनन् । केही समय पहिले मात्रै उनले पहिलो पटक हुम्ला पुग्दा गाडी देखेकी त थिइन्‚ तर चढ्न पाएकी थिइनन् ।

उनी घरबाट ३ दिन हिँडेर हुम्ला विमानस्थल पुगिन्‚ त्यहाँबाट हवाइजहाजमा नेपालगञ्ज झरिन्‚ अनि गाडीबाट काठमाडौँ । जहाज चढ्दा उडाएर अन्तै पो लैजान्छ कि भन्ने डर लागेको र गाडी चढ्दा पल्टाएर मार्ने हो कि भनेर त्राहिमाम् हुँदै काठमाडौँ आइपुगेको अनुभव छ उनीसँग ।

हुम्लामै जन्मी‚ हुर्की त्यहिँ बिहे गरी ५२ वर्ष बिताएकी उनी पहिलो पटक काठमाडौँ ओर्लिन् । जम्मा ५ दिन लाग्यो उनलाई काठमाडौँ आइपुग्न ।

काठमाडौँमा पहिलो पाइला टेक्दा आफू छक्कै परेको उनले सुनाइन् । ठुला ठुला घर, किराजत्तिकै गाडी अनि जताततै मान्छे नै मान्छे देखेर छक्क परेको उनको भनाइ छ ।

हुम्लाजस्तो डाँडापाखा नै होला भन्ने सोचेको‚ तर काठमाडौँ मैदान, राम्रो, अनि झिलिमिली बत्ति बलेको देखेर आफु दङ्ग परेको अमृताले सुनाइन् ।

उनले काठमाडौँमा सिहंदरबार, राजदरबार छन् भन्ने सुनेकी थिइन् । तर ती दरबार हेर्न/देख्न पाइएला भन्ने उनको कल्पना बाहिरको कुरा थियो । राजदरबार जान नपाए पनि उनी सिंहदरबार छिरिन् । छिरिनन् मात्र‚ मन्त्रीलाई भेटिन् र अङ्गालो मारेर फोटो खिचाइन् । तस्बिरमा उनले भेटेकी ऊर्जामन्त्री पम्फा भुसाल पनि दङ्ग परेर उनलाई हेरिरहेको देखिन्छ ।

हुम्लामा बिहान ३ बजेदेखि राति १० बजेसम्म आफू काममै हुने गरेको उनले सुनाइन् ।

कीर्तिपुरमा छोरासँगै बसिरहेकी उनले मकालुखबरसँगको कुराकानीमा भनिन्‚ ‘हुम्लामा राति ३ बजे उठेर मेलापात जान्या हुँ, काम सकेर फर्किँदा रात धेरै भइगयाको हुन्छ, अनि घर फर्किएर आइकन खाना बनाएर खान्या हुन् ।’

हुम्लामा टुसुक्क पनि बस्न नपाइने उनले सुनाइन् । रोटीमा नुनको ढिका राखेर मेलापात हिँड्ने गरेको र त्यति गर्दा पनि जम्मा २ महिनामात्र खान-लाउन पुग्ने र बाँकी सबै किनेर खानुपर्ने दुखेसो उनले सुनाइन् ।

यो दुःख र सडेगलेको चामल पुग्ने अवस्था फेर्न केही गर्न सकिन्थ्यो कि भन्ने आशाले आफूले मन्त्रीलाई भेटेको उनी बताउँछिन् ।

‘हुम्लामा यो त सब सपनाजस्तो हो, हामीलाई मात्र हल्का विकास हुन पाए भन्ने मात्र हो‚’ अमृताले भनिन् । आफ्नो गाउँमा डेस्क बेन्च नभएकाले विद्यार्थी भुईँमै बसेर पढ्ने अनि बोतलमा पानी राखेर विद्यालय जानुपरिरहेको अवस्था अन्त्य गर्न पाए हुन्थ्यो भन्ने लागेर पनि नेतालाई भेट्न आएको उनको भनाइ छ । उनलाई उनका पार्टीका अध्यक्ष प्रचण्डलाई भेटेर यी कुरा भन्ने धोको थियो‚ तर ‘प्रचण्ड दाइ’लाई भेट्न नपाएकोमा उनी दुःखी देखिइन् ।

‘आफ्नो कार्यकाल सकिन लाग्दा पनि जनतालाई गर्छु भनेका काम गर्न नपाएकोबारे पनि दाइ-दिदीलाई भन्छु भन्ने थियो‚ तर दिदीलाई मात्र भेट्न पाएँ’ उनले भनिन् ।

वडा सदस्य हुँदा यो ठाउँको विकासका लागि यो गर्छु, महिलाका लागि त्यो गर्छु‚ दलितका लागि पनि काम गर्छु भने पनि गर्न नपाएकोमा उनलाई दुःख लागेको छ ।

हुम्लामा दलितलाई अझै पनि विभेद उस्तै रहेको उनको अनुभव छ । आफू वडा सदस्य भएपनि बैठक वा सभाहरूमा सँगै बस्दा आफ्नो छेउमा बसेकाहरूले आफूले छोएको नखाने गरेको तीतो अनुभव उनीसँग छ ।

श्रीमानलाई उपचारका लागि लिएर आउनुपर्दा उनलाई लागेको छ- हुम्लामै हस्पिटल भएको भए अहिले यति धेरै पैसा खर्च गरेर यतिका दिन लगाएर राजधानी आउनुपर्दैन थियो । ‘पालिकामा एउटा मात्र हस्पिटल भइदिए पनि यति टाढा किन आउनु पड्न्या हो र ?’ अमृताले गुनासो पोखिन् ।

हुम्लाबाट काठमाडौँ आउन ४० हजारभन्दा बढी खर्च हुने उनले बताइन् । हुनेलाई त राम्रो भयो‚ तर हामीजस्तो ऋण काटेर ल्याउनेहरूलाई त निकै गाह्रो हुन्छ, त्यसैले हुम्लामा पनि धेरै-थोरै विकास भइदिए हुन्थ्यो भन्ने लाग्ने अमृताले सुनाइन् । ल्याएको पैसा सकिएकाले अब धेरै दिन बसेर सबै नेतालाई भेट्न नपाइकनै फर्किन लागेको पनि उनले बताइन् ।

मन्त्री भुसालले माग पूरा गर्ने आश्वासन त दिएकी छन्‚ तर अझै काम हुन्छ कि हुँदैन भन्ने अमृतालाई संशय नै छ । ‘पम्फा दिदीले अङ्गालो पनि हालिन्‚ फोटो पनि खिचिन्‚ काम गर्छु त भन्या छन्‚ काम गरेर देखाए पो एउटा कुरा हाई‚’ अमृताले भनिन् ।

उनका आफन्तहरू कीर्तिपुरको चारधारामा बसेका छन् । त्यसैले गर्दा काठमाडौँमा टिक्न सहज भएको उनले बताइन् । ‘हामी यतिका दिनसम्म काठमाडौँमा बस्ने क्षमताका मान्छे होइनौँ, यहाँ आफ्ना मान्छेका झुपडी भइकन अड्या हौँ‚’ अमृताले सुनाइन् ।

हामीलाई राजदरबार हेर्ने ठुलो धोको भएको पनि उनले सुनाइन् । काठमाडौँमा मन्त्रीलाई भेटेपछि आफूलाई धेरैले सम्पर्क गरेको‚ र कुराकानी गरेकोमा उनी खुसी र अलमलमा पनि देखिइन् ।

‘आउँछन्‚ बोल्न लगाउँछन्‚ फोटो खिच्छन्‚ जान्छन् । खै कता आउँछ‚ भाइरल भएँ भन्छन्‚ तर खै ! मैले देखेकी छैन‚’ अमृताले सुनाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *