प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाएका हुन् ।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए । सङ्घीय संसद्को चालु अधिवेशनमा नेकपा (एमाले)ले सभामुखको केही कार्यप्रति असन्तुष्टी जनाउँदै बैठक अवरुद्ध गर्दै आएको छ ।

बैठकमा कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी हुने-नहुने निश्चित छैन । यसअघि सभामुखले आयोजना गरेको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *